गत जनवरीदेखि छिटपुट रूपमा सुरु भएको डेंगी संक्रमण साउन अर्थात् (जुलाई) महिनामा अरू महिनाको तुलनामा बढी देखिएको छ। गत महिनामा डेंगी संक्रमित संख्या एक हजार चार सय ३२ थियो भने यो महिना अर्थात् जुलाई २९ भित्रमा दुई हजार ६१ जना पुगेका छन्। गत महिनाको तुलनामा यो संख्या बढेर ६ सय २९ पुगेको हो। गत वर्ष यो अवधिमा डेंगी संक्रमितको संख्या ६ हजार चार सय ९९ थियो।
पछिल्लो महिना काठमाडौं या बागमती प्रदेशमा सबैभन्दा बढी संक्रमित भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ। तथ्यांकअनुसार काठमाडौंमा ९३ जना, कास्कीमा ४३, काभे्रमा ३३, तनहुँमा ३८ जना, भोजपुरमा २२, चितवनमा २७ जना संक्रमित छन्।
प्रदेशअनुसार सबैभन्दा बढी बागमतीमा ६ सय २६ जना, कोशीमा चार सय ८९, गण्डकीमा तीन सय ४३, लुम्बिनीमा दुई सय १७, सुदूरपश्चिममा दुई सय १३ जना संक्रमित भएका छन्।
हालसम्म ७३ वटा जिल्लामा डेंगी संक्रमण देखिए पनि १० वटा जिल्लामा मात्र उल्लेखनीय संख्यामा संक्रमण देखिएको तथ्यांक छ। यो वर्ष गत वर्षको तुलनामा कम संक्रमित देखिए पनि कात्तिकसम्म कुनै न कुनै महिनामा प्रकोपको रूप लिन सक्ने जोखिम कायमै रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालले बताए। ‘कात्तिकसम्म डेंगीका लामखुट्टे वृद्धि हुने समय होे, अझ तीन महिना उच्च जोखिमममा छौं’, उनले भने।
डा. दाहालका अनुसार बिचमा पानी पर्ने र रोकिने अवस्था कायम रह्यो भने डेंगीका लामखुट्टेले जीवनचक्र पूरा गर्न पाउँछन् र स्वतः वृद्धि भई फैलिन्छ। निरन्तर पानी परेमा लामखुट्टेले जीवनचक्र पूरा गर्न पाउँदैन या पानी पर्न रोकिएमा पनि चक्र पूरा गर्नै पाउँदैन। अहिलेकै अवस्थामा लामखुट्टेको वृद्धि रोक्न सकिएमा प्रकोपको रूप नलिने उनको भनाइ छ। लामखुट्टेको वृद्धि रोक्नका लागि अहिलेको अवस्थामा दुई स्थानको सफाइले सम्भव हुने डा. दाहालले सुझाए।
डेंगी लामखुट्टेको जीवनचक्र रोेक्न सकिएमा मात्र डेंगी संक्रमण रोेकिने भएकाले बागमती प्रदेश सरकार र स्थानीय सरकारले सचेत भएर काम गर्नुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरले बताए। ‘लामखुट्टेको जीवनचक्र रोेक्नका लागि लामखुट्ट बस्ने हुर्कने ठाउँमा जमेको सफा पानी हरेक हप्ता सफा गर्नुपर्छ’, उनले भने।
यसका लागि स्थानीय सरकारले यो कामलाई परिचालन र अनुगमन गर्नुपर्छ। जनचेतनामार्फत परिवार र कार्यालय दुवैलाई जगाउन सकेमा मात्र नियन्त्रण सम्भव छ। ‘यसका लागि मुख्य जिम्मेवारी स्थानीय सरकारलाई भनिसकेका छौं’, महाशाखाका निर्देशक डा. घिमिरेले भने। यसका साथै उपचारका लागि तयारी अवस्थामा रहेको उनले जानकारी दिए। ‘डेंगी परीक्षण गर्ने कीटहरू खरिद गरिसकेका छौं’, उनले भने।
चिकित्सकका अनुसार एडिस एजिप्टाई नामक डेंगी संक्रमित लामखुट्टेले टोकेमा मानिसमा डेंगी संक्रमित हुन्छ। डेंगी संक्रमण भएमा शरीर दुख्ने, कडा ज्वरो आउने, शरीरमा राता बिमिरा देखिने, आन्तरिक रक्तस्राव हुने र पछि गएर शरीरबाट सेतो रगतको कमी भई बिरामीमा गम्भीर समस्या देखिन्छ। अत्यधिक मात्रामा रक्तस्राव भएमा बिरामीको ज्यानसमेत जान सक्छ। यसका लागि संक्रमितले रगत जाँच गरिरहनुपर्छ।
घर र घरवरपरको सफाइ गर्ने, घरका छत, कौसी, फुलदानी जस्ता ठाउँमा जम्मा भएका पानी फ्याँकेर बिचबिचमा सफा गर्ने, घरबाहिर या खाली भागमा सफा गरिरहने र सफा पानी जम्मा हुने खाडल पुर्ने, पानी जम्मा हुने भाँडा घोप्टो पारेर राख्नुपर्छ। यो प्रक्रिया नियमित जारी राखेमा डेंगी नियन्त्रणमा आउने डा. दाहाल बताउँछन्। यस्तो कार्य हरेक घर र कार्यालयले गरेमा पूरै नियन्त्रण सम्भव रहेको दाहाल बताउँछन्।
यसका साथै लामखुट्टेको टोकाइबाट बच्नाले पनि संक्रमणबाट बच्न सकिन्छ। कुनै पनि लामखुट्टेको टोकाइबाट बच्नका लागि झुल प्रयोग गर्ने, शरीरमा लामखुट्टेविरुद्धको मलम लगाउने, झ्यालढोकामा जाली राख्ने, पूरै शरीर छोप्ने गरी लुगा लगाउन सकिने चिकित्सकको सुझाव छ।
प्रकाशित: १७ श्रावण २०८१ ०५:५७ बिहीबार