चितवन डेंगी सङ्क्रमणको उद्गम स्थलको रुपमा चिनिन्छ। नेपालमै पहिलो पटक सन् २००४ मा यहाँ डेंगी संक्रमित देखा परेका थिए। पुरानो मेडिकल कलेजमा उपचाररत एक विदेशी चिनिया नागरिकमा देखिएको डेंगी अहिले डरलाग्दो अवस्थामा पुगेको छ। पछिल्लो तथ्याङ्क अनुसार देशभर ८० हजार ७३२ जनामा डेंगी संक्रमण भएको छ।
जसमध्ये ४ सय ७९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको भरतपुर महानगरपालिकाका जनस्वास्थ्य अधिकृत केशव भट्टले जानकारी दिए। चितवन जिल्लामा मात्रै हालसम्म ७ हजार ७७१ जनामा डेंगी पुष्टि भएको छ। हाल विशेष गरी तराईका सहरबाट फैलिएको डेंगी हिमाली जिल्लामा समेत पुगिसकेको छ। यो अवधिमा सन् २०२२–२३मा महामारीकै रूप लिएको थियो। सो समयमा ५४ हजार ७८४ जना डेंगी पुष्टि भएको थियो। सन् २०२२ देखि यता ९७ जनाले ज्यान गुमाएका छन्।
नेपालमा विशेष गरी तीन वर्षको अन्तरालमा डेंगीले महामारीको रूप लिएको देखिन्छ। सन् २००४ मा देखा परेको डेंगी सन् २००६ मा ३२ जनामा देखा परेका थियो। चितवन लगायत तराईका जिल्लामा यो रोग देखिएको थियो। सन् २००७ देखि सन् २००९ सम्मको तीन वर्षका अवधिमा ५७ जनामा मात्र डेंगी देखा प¥यो। सन् २०१०मा आउँदा ह्वात्तै बढेर ९ सय १७ जनामा देखियो। सो वर्ष चितवनमा मात्रै ७ सय जनामा डेंगी देखिएको थियो। सो अवधिमा ६ जनाले ज्यान गुमाएका थिए। सन् २०११ र २०१२मा डेंगी संक्रमण घट्यो। यो अवधिमा २६२ जनामा संक्रमित हुँदा २५ जनाले ज्यान गुमाए। फेरी सन् २०१३मा ६ सय ८६ जनामा डेंगी संक्रमण पुष्टि हुँदा एकै वर्ष २५ जनाको ज्यान गयो। फेरी सन् २०१४ र सन् २०१५मा डेंगीको संक्रमणदर कम छ। यो अवधिमा ४ सय ९१ जना संक्रमित भए। मृत्युदर भने यी वर्ष उच्च छ। दुई वर्षमा मात्रै डेंगी संक्रमण भएर ४६ जनाले ज्यान गुमाए।
सन् २०१६ मा नेपालमा १ हजार ५ सय २७ जनामा डेंगी संक्रमण पुष्टि भएको थियो। चितवनमा ६८७ जनामा डेंगी पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कमा उल्लेख छ। सो वर्ष देशभर ३० जनाको मृत्यु भएको थियो। सन् २०१७मा पनि डेंगीको संक्रमण उच्च विन्दुमा पुग्यो। सो वर्ष २ हजार १ सय ११ जनामा डेंगी पुष्टि हुँदा २८ जनाले ज्यान गुमाए। सन् २०१८मा ८ सय १८ जनामा डेंगी संक्रमित भएका थिए। जसमा ४३ जनाले ज्यान गुमाए । सन् २०१९मा डेंगीले फेरी महामारीकै रूप लियो। एकै वर्ष देशभर १७ हजार ९९२ जनामा डेंगी पुष्टि भएको थियो। चितवनमा ४ हजार ८०३ जनामा डेंगी भएको थियो। देशभर ६८ जनाको ज्यान गएको थियो। सन् २०२०, २०२१मा संक्रमण दर कम भएपनि मृत्युको संख्या भने उच्च छ। दुई वर्षमा १ हजार ७० जनामा संक्रमण हुँदा ११० जनाले ज्यान गुमाए।
एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगी संक्रमण हुन्छ। डेंगी संक्रमणका सुरुवाती दिनमा शरीरभरि रातो डाबर आउने, एक सय डिग्रीभन्दा बढी ज्वरो आउने, मांसपेसी दुख्ने, गिजा र पिसाबमा रगत देखिनेजस्ता लक्षण देखा पर्ने भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीले जानकारी दिए।
बर्खासँगै डेंगी सङ्क्रमणको जोखिम रहेको चिकित्सकहरू बताउँछन्। विशेष गरी जेठ, असार, साउन, भदौ र असोजमा डेंगी संक्रमण बढी हुने भएकाले उच्च सतर्कता अपनाउनुपर्ने उनले बताए। उनका अनुसार चितवनबाट फैलिएको डेंगी हालसम्म ७७ वटै जिल्लामा फैलिएको छ। सरकारले एउटा जिल्लामा ५ सय भन्दा बढीमा डेंगी संक्रमण भएमा आउट ब्रेकका रुपमा लिँदै आएको छ। हालसम्म १६ जिल्लामा डेंगीको आउट ब्रेक भएको छ। त्यसमध्ये चितवन प्रमुख जिल्लामा पर्दछ। गत वर्ष नेपालमा सबैभन्दा बढी कोशी प्रदेशको धरानमा डेंगीले महामारीको रूप लिएको थियो।
विशेष गरी तीन वर्षको अन्तरालमा नेपालमा डेंगीले महामारीको रूप लिँदै आएको स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीले जानकारी दिए। डेंगी सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी पाइन्छ। यसले सफा पानी जमेको स्थानमा फुल पार्छ। खास गरी वर्षाको पानी जम्ने टिनका डब्बा, रङका खाली डब्बा, थोत्रा टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, फूलदानी, गमला, पानीट्यांकी आदिमा एडिस जातको लामखुट्टेले फुल पार्छ। विशेष गरी डेंगी सार्ने लामखुट्टे थोत्रा टायर र ड्रममा फुल पार्ने गरेको एक अध्ययनले देखाएको छ। डेंगी सार्ने लामखुट्टे मार्नका लागि विषादी छर्न नहुने विज्ञहरूले बताउने गर्दछन्।
प्रकाशित: १६ असार २०८१ १८:२१ आइतबार