स्वास्थ्य

१५ दिन भित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन गर्न अस्पतालहरूलाई महानगरको निर्देशन

काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित अस्पतालहरूलाई आफ्नै फार्मेसी सञ्चालन गर्न आग्रह गरेको छ।

महानगरले बुधवार सूचना जारी गर्दै महानगरभित्र सञ्चालित अधिकांश भित्रका अस्पतालहरूले आफू मातहतमा फार्मेसी सञ्चालन नगरेको पाइएकाले १५ दिन भित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन गर्न भनेको हो।

महानगरका अनुसार अस्पतालहरूले आफ्नो स्वामित्वमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने कानूनी व्यवस्था भएकाले सोही अनुसार आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन गरी सेवाग्राहीलाई सहजता प्रदान गर्न सूचना प्रकाशन गरिएको हो।

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र हाल सञ्चालित अधिकांश अस्पतालहरूको आफ्नो स्वामित्वमा फार्मेसी सञ्चालन नभएको र अन्य व्यक्तिहरूलाई फार्मेसी सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरू गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको तथा चर्को मूल्यमा औषधि तथा औषधिजन्य सामग्रीहरू बिक्री भिइरहेको गुनासो आएको सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित: २४ जेष्ठ २०८१ १०:२२ बिहीबार

#Kathmandu Metropolitan City #pharmacy