स्वास्थ्य

जलजलामा गर्भवती महिलाका लागि भिडियो एक्सरे सेवा सुरू

पर्वतको जलजला गाउँपालिकाले गर्भवती महिलाहरूका लागि निःशुल्क ग्रामीण भिडियो एक्सरे सेवा सुरु गरेको छ।

पालिकाभित्रको स्वास्थ्य चौकी र स्वास्थ्य इकाईमा पुगेर गर्भवतीको गर्भ अवस्थाबारे भिडियो एक्सरे गरी गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाबारेमा जानकारी दिने उद्देश्यले जलजला–३, मल्लाजको स्वास्थ्य चौकीबाट अभियान सुरू गरिएको हो।

सेवाको शुभारम्भ गदैं गाउँपालिका अध्यक्ष राजु आचार्यले समुदायमा रहेका गर्भवती महिलाले भोग्नुपरेको समस्या समाधान गर्न ग्रामीण क्षेत्रमा उक्त अभियान सञ्चालन गरिएको बताए।

'अब भिडियो एक्सरेका लागि अस्पतालमा धाउनुपर्ने बाध्यताको अन्त्य गर्नेछौ,‘आगामी दिनमा पनि यो अभियानले निरन्तरता पाउने छ’ अध्यक्ष आचार्यले भने।

गर्भमा रहेको नवजात शिशुको अवस्था थाहा पाउन र समस्याको समयमा नै पहिचान गरी आमा तथा शिशुको स्वास्थ्य अवस्था जानकारी राख्ने पालिकाभित्रका स्वास्थ्य चौकी र इकाई गरी १६ स्थानमा यो सेवा सञ्चालन गरिने जनाइएको छ।

गर्भावस्थाभरिमा कम्तीमा चार पटक भिडियो एक्सरे परीक्षण गर्नुपर्ने भएपनि हेल्चेक्राई तथा जनचेतनाको अभाव, आर्थिक अवस्था कमजोरका साथै विभिन्न कारणले छुट्ने गरेको अवस्थामा ग्रामीण भिडियो एक्सरे सेवा सुरू गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

प्रोटेवल भिडियो एक्सरे मेसिनका साथ तालिम प्राप्त दक्ष जनशक्ति परिचालन गरिएकाले शल्यक्रिया, शिशुको स्वास्थ्य अवस्था ठिक नभएको लगायतका विभिन्न जटिल समस्या देखिएमा आमा र शिशुको सुरक्षाका लागि आवश्यक थप सहयोग गर्ने जनाइएको छ।

अभियानमा स्वास्थ्यकर्मी, सेवाग्राही सहित वडा नं २ का अध्यक्ष प्रकाश जिसी, वडा नं ३ का एकेन्द्र खत्री र वडा नं ४ का भरत जिसी लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: ९ माघ २०७९ १६:४० सोमबार