शिक्षा

गौरका नगर प्रमुख साहले गरे विद्यालय भवनको शिलान्यास

रौतहट सदरमुकाम गौर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख शम्भु साह कानुले विद्यालय भवनको शिलान्यास गरेका छन्। देशकै चौथो तथा जिल्लाको पहिलो विद्यालयको रुपमा रहेको सदरमुकाम गौरस्थित जुद्ध माध्यमिक विद्यालयमा भवनको अभाव भएको र पुराना भवनहरु जीर्ण भइसकेको अवस्थामा नयाँ भवनको शिलान्यास गरेका छन्।

देशको प्रधानमन्त्री समेत बनिसकेको माधवकुमार नेपालले पनि अध्ययन गरेको विद्यालय जुद्ध माविमा भवनको अभाव रहेको गुनासो बढेपछि नगर प्रमुख शम्भु साह कानुले पहिलो औपचारिक भौतिक पूर्वाधारको रुपमा विद्यालय भवनको शिलान्यास नै रोजेका हुन्। नगर प्रमुख साह पनि सोही विद्यालयका पूर्व विद्यार्थी हुन्। एक कार्यकाल विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका नगर प्रमुखको समयमा विद्यालयमा अपत्यारिलो सुधार भएको थियो। नगर प्रमुखमा निर्वाचित हुनासाथ पूरै अस्तव्यस्त भइसकेको जुमाविमा सुधारको अपेक्षा गरेका स्थानीयबासीले पहिलो कामको रुपमा विद्यालयमा भवन निर्माणको शुभारम्भ गर्नुलाई शैक्षिक सुधारको संकेतको रुपमा लिएका छन्।

आठ करोडको लागतमा पाँच वर्षमा निर्माण हुने बताइएको विद्यालय भवनको लागि चालू आर्थिक वर्षमा तत्काल करिब एक करोड रुपैयाको काम हुने बताइएको छ।

विद्यालय भवनको शिलान्यास गर्नुपूर्व नगर प्रमुखले विद्यालयमा पुगेर बालबालिकासित पढाइको विषयमा अन्तर्क्रिया गरेका थिए। बालबालिकासित अन्तर्क्रिया गरेपछि नगर प्रमुख साहले तत्काल शैक्षिक अवस्थामा सुधार गर्न प्रधानाध्यापक तथा शिक्षकहरुलाई निर्देशन दिएका छन्।

साना कक्षाका बालबालिकाले दिवा खाजाको माग गरेपछि नगर प्रमुख साहले बालबालिकाका लागि तत्काल खाजाको व्यवस्था गर्न र कुनै किसिमको लापरवाही नगर्न पनि निर्देशनसाथ चेतावनी दिएका छन्।

नगर प्रमुख साहसँगै उपप्रमुख शैलकुमारी देवी, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुबास ठाकुर लगायत विभिन्न वडाध्यक्ष तथा अन्य अभिभावक र समाजसेवीको सहभागिता रहेको थियो।

प्रकाशित: १३ जेष्ठ २०७९ १४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App