शिक्षा

भौतिक रुपमा कक्षा सञ्चालन गर्न अभिभावकको दबाब!

भक्तपुरका विद्यालयका शिक्षकहरुले भौतिक रुपमा कक्षा सञ्चालन गर्न अभिभावकको ठूलो दबाब भएको बताएका छन्। त्यसो हुँदा शैक्षिक गुणस्तर कायम गर्न भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्नुपर्ने सुझाब उनीहरुले राखेका छन्।  

कोभिड १९ का कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरू सञ्चालन गर्ने विषयमा शिक्षाविद् तथा स्वास्थ्यविद्हरूबीच मंगलबार भक्तपुर नगरपालिकाले गरेको छलफल तथा परामर्शमा उनीहरुले यस्तो बताएका हुन्।

शिक्षासेवीहरू विनोदचरण राय, लक्ष्मीभक्त बासुकला, योगेन्द्रमान बिजुक्छेँ, ज्ञानसागर प्रजापति, सुशिला कर्माचार्य, गीता केसी, बालमुकुन्द बासुकला, अम्बिकामान मानन्धर, सिद्धिरत्न शाक्य, उद्धव सुजखु र गौतमप्रसाद लासिवालगायतले तल्लो कक्षाका विद्यार्थीहरूको लागि अनलाइन कक्षा प्रभावकारी नभएको बताएका थिए। साथै विद्यालय अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने, विद्यालयले विद्यार्थी र परिवारका सदस्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुपर्ने, एक विद्यालय एक नर्सअन्तर्गतका स्वास्थ्यकर्मीहरूलाई विद्यालयमा नियमित रुपमा अनुगमन र परिचालन गराउनुपर्ने, विद्यालय व्यवस्थापन समितिलाई क्रियाशील बनाउनुपर्नेलगायतका धारणाहरू राखेका थिए।  

कार्यक्रममा भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले सुरक्षित र व्यवस्थित ढंगले विद्यालय सञ्चालन गर्ने विषयमा सरोकारवालाहरुसँग नियमित छलफल तथा परामर्श गरिरहेको जानकारी गराइन्। छलफलमा उपप्रमुख जोशीले विद्यालय सञ्चालन गर्न विभिन्न सरोकारवालाहरूसँग चरणबद्ध रुपमा छलफल गरी रचनात्मक सुझावहरू प्राप्त भएको र प्राप्त सुझावअनुरुप सुरक्षित ढंगले स्वास्थ्य मापदण्ड अपनाई विद्यालय सञ्चालन गर्ने तयारीमा रहेको बताइन्। कोभिड १९ बाट विद्यार्थीहरूलाई कसरी सुरक्षित गर्ने विषयमा आफूहरू संवेदनशील भएको बताउँदै विद्यालय, अभिभावक र विद्यार्थीहरूले विद्यालय सञ्चालन गर्नुपर्ने मागहरू राख्दै आएको उनले बताइन्।

भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले छलफलबाट सकारात्मक सुझावहरू प्राप्त भएको बताउँदै कोभिड संक्रमण घट्दो क्रममा रहेको अवस्थामा विद्यालय सञ्चालन गर्ने विषयमा नगरपालिका सकारात्मक रहेको बताए।

जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले भक्तपुरमा कोभिड १९ संक्रमण घट्दो क्रममा रहेको जानकारी दिँदै विद्यालय सञ्चालन कार्यविधिअनुरुप कक्षाहरू सञ्चालन गर्नुपर्ने, विद्यार्थीहरूमा कुनै स्वास्थ्य समस्या देखिए स्थानीय तहका स्वास्थ्य संस्थासँग सहजीकरण गर्न सकिने विचार राखे। ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवाले विद्यालयहरूले स्वास्थ्यसम्बन्धी सम्पर्क व्यक्ति तोकेर भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सकिने बताए। 

कार्यक्रममा नगर शिक्षा शाखाका कृष्णप्रसाद कर्माचार्यले स्मार्ट लकडाउन कार्यविधि, विद्यालय सञ्चालन कार्यविधिबारे प्रष्ट पार्दै विद्यालय सञ्चालन गर्नुपूर्व विद्यालयहरूले शिक्षक–कर्मचारीहरूको खोपको सुनिश्चितता गर्नुपर्ने बताए।

प्रकाशित: ५ आश्विन २०७८ १४:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App