शिक्षा

डोल्पामा किताबबिनै भर्ना अभियान

सृष्टि एन्ड स्मृति स्टेसनरीका प्रोपराइटर तथा वितरक पूर्णकेशर न्यौपाने विद्यालयहरूले नलगेर पसलमा थुप्रिएका किताब मिलाउँदै। तस्बिर: नागरिक

डोल्पा – कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा शैक्षिक सत्र सुरु भइसक्दासमेत पाठ्यपुस्तक पुगेका छैनन्। पुस्तकबिना नै शैक्षिक सत्र सुरु भयो। तर पढाइले गति लिन सकेको छैन। समयमै पूर्ण पाठ्पुस्तक नपुगे पनि यहाँका विद्यालयहरूले विद्यार्थी भर्ना अभियान भने तीव्र बनाएका छन्। यतिखेर डोल्पाका विभिन्न सामुदायिक तथा निजी विद्यालयहरू विभिन्न आकर्षक प्याकेज कार्यक्रमसहित आफ्नो विद्यालयमा भर्ना हुन आग्रहका साथ विद्यार्थीको घरदैलो अभियानमा जुटेका छन्। यसै क्रममा त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित त्रिपुरा माध्यमिक विद्यालय काटिँयाचौरले भर्ना हुन आउने नयाँ विद्यार्थीलाई ड्रेस, कापी र झोला निःशुल्क उपलब्ध गराउने नाराका साथ घरदैलो कार्यक्रम सञ्चालन गरेको छ।

शिक्षाको ज्योति जोगाऔं, सक्षम नागरिक तयार पारौं, आफ्ना नानीहरूलाई विद्यालयमा पठाऔं, स्तरीय शिक्षा घरघरमा पु¥याऔं, निःशुल्क तथा अनिवार्य शिक्षा लागू गरौं, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता भन्ने नाराका प्लेकार्डसहित विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, नागरिक समाजका प्रतिनिधि, शिक्षक, विद्यार्थीहरू घरदैलो पुगेर विद्यार्थी भर्ना गर्न अभिभावकलाई सचेत गराएका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवीकृष्ण उपाध्यायले गरिब तथा विपन्न परिवारका बालबालिका र जेहेनदार बालबालिकासहित सबैलाई विशेष प्याकेज शैक्षिक सहयोग कार्यक्रम लागू गरेर विद्यार्थी भर्ना दर बढाउन थालिएको बताए। हिमाली जिल्ला डोल्पा, जुम्ला, मुगु र हुम्लामा फागुन पहिलो साताबाटै नयाँ शैक्षिक सत्र सुरु हुने गर्छ।

नगरपालिका र किताब एजेन्टहरूबीच तालमेल नमिल्दा विद्यालयले किताब लिन अस्वीकार गरेपछि जिल्लामा किताब पुगेर पनि बालबालिकाको हातमा किताब नपुगेको हो।

शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक नपुग्ने विगतका वर्षहरूको नियति यस वर्ष पनि दोहोरिएको छ। पाठ्यक्रम विकास केन्द्रले समयमै पाठ्यपुस्तकका लागि छपाइ गर्नुपर्ने विषयबस्तु समयमै नदिएकाले कक्षा एकको पाठ्यपुस्तक छपाइमा ढिलो भएको कक्षा एकदेखि चारसम्मको पाठ्यपुस्तक छपाइको जिम्मा पाएको निजी कम्पनी सुदिपा ट्रेडिङ लिमिटेड काठमाडांैका प्रमुख रामहिरा पाठकले बताए। ‘पाठ्यपुस्तक छपाइमा केही ढिला भए पनि भर्खरै मात्र छपाइ सम्पन्न गरेर हिमाली जिल्लाका लागि काठमाडौंबाट मंगलबार पाठ्यपुस्तक नेपालगन्ज पठाइएको छ,’ पाठकले भने, ‘अब केही दिनभित्र सम्बन्धित जिल्लामा पुग्छ।’ नेपालगन्जदेखि डोल्पाका विभिन्न विद्यालयहरूमा पाठ्यपुस्तक ढुवानीको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रका प्रतिनिधिको रूपमा रहेका वितरकहरूले कक्षा दुईदेखि १० सम्मका पाठ्यपुस्तक जिल्लामा पु-याए पनि कक्षा एकको पाठ्यपुस्तक जिल्लामा नपुगेकाले साना बालबालिकाको हातमा पुस्तक पुग्न सकेको छैन।

सरकारले कर्णालीका बालबालिकाका लागि कक्षा एकदेखि १० सम्म निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने भने पनि पर्याप्त बजेट उपलब्ध नगराउँदा सरकारको घोषणा कागजमा मात्र सीमित हुन पुगेको छ। जनक शिक्षा सामग्री केन्द्र नेपालगन्ज प्रमुख रविन्द्र शर्माले विगतको तुलनामा यो वर्ष कक्षा एकको पाठ्यपुस्तकबाहेक सबै पाठ्यपुस्तक जिल्लामा पुगेको बताए। डोल्पाका लागि धेरै एजेन्टले जिल्लामा पाठ्यपुस्तक पु¥याएर वितरणसमेत गरेको तर केही वितरकहरूले भने भर्खरमात्र पाठ्यपुस्तक उठाएको शर्माले बताए।

फागुन पहिलो साता किताब जिल्लामा पुगे पनि त्रिपुरासुन्दरी नगरपालिकाभित्रका विद्यालयले किताब नलगेकाले बालबालिकाले पाठ्यपुस्तक पाएका छैनन्। नगरपालिका र किताब एजेन्टहरूबीच तालमेल नमिल्दा विद्यालयले किताब लिन अस्वीकार गरेपछि जिल्लामा किताब पुगेर पनि बालबालिकाको हातमा किताब नपुगेको हो। त्रिपुरासुन्दरी नगरपालिकाले सबै किताब एजेन्टहरूले आफूले ल्याएको पाठ्यपुस्तक सम्बन्धित विद्यालयमा पुगेरै वितरण गर्नुपर्ने निर्णय गरेको भए पनि एजेन्टहरूले विद्यालयमा नपुगेर आफ्नै स्टेसनरी पसलबाट वितरण सुरु गरेपछि विद्यालयले पाठ्यपुस्तक लिन अस्वीकार गरेका हुन्।

सृष्टि एन्ड स्मृति स्टेसनरी त्रिपुरासुन्दरी–१ त्रिपुराकोटका प्रोप्रराइटर तथा किताब वितरक पूर्णकेशर न्यौपानेले आफूसहितका किताब एजेन्टहरूको उपस्थिति र सहमतिबिना एकल रूपमा नगरपालिकाले गरेको निर्णय नमान्ने उल्लेख गर्दै विद्यालयबाट शिक्षकहरू आए पसलबाटै वितरण गरिने, नआए आफरुहरूले किताब कुनै पनि हालतमा विद्यालय नपु¥याउने नागरिकलाई बताए। त्रिपुरासुन्दरी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख भीमबहादुर धरलाले नगरले किताब ढुवानी जिम्मा पाएका एजेन्टहरूले सम्बन्धित विद्यालयमै किताब पु-याउनुपर्ने निर्णय भएकाले वितरकले विद्यालयमै किताब पु-याउनुपर्ने बताए।

वितरकहरूले बालबालिकाबाट परल मूल्यभन्दा बढी मूल्य लिएर किताब वितरण गरिरहेको जनगुनासो आइरहेका बेला सृष्टि एन्ड स्मृति स्टेसनरीका प्रोपराइटर न्यौपानेले कक्षा ६ का पाठ्यपुस्तक रंगिनका साथै विषय पनि थप भएकाले विगतको मूल्यमा केही बढेको भए पनि अन्य कक्षाका किताबहरूको मूल्य किताबमा उल्लेखितभन्दा एक पैसा पनि बढी लिन नमिल्ने बताए। उनका अनुसार कक्षा दुईको किताबको मूल्य दुई सय ५०, कक्षा तीनको तीन सय, कक्षा चारको तीन सय ४८, कक्षा पाँचको तीन सय ७२, कक्षा ६ को ६ सय २०, कक्षा सातको सात सय २०, कक्षा आठको ६ सय ६० कक्षा, कक्षा नौको ऐच्छिकसहित ६ सय ६० र कक्षा १० को ६ सय ६० मूल्य निर्धारण गरिएको छ। त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गतका त्रिपुरा माध्यमिक विद्यालय काँटियाचौर र महाकवि आधारभूत विद्यालय रल्लीबाहेक अन्य विद्यालयले अहिलेसम्म किताब लगेका छैनन्।

प्रकाशित: १९ फाल्गुन २०७६ ०२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App