शिक्षा

विद्यार्थीभन्दा वैदेशिक रोजगारी र लोकसेवा अध्ययन गर्नेहरू बढी

अन्तर्राष्ट्रिय पुस्तकालयसँग जोडिँदै त्रिवि पुस्तकालय

त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय पुस्तकालयले आफ्नो दायरा फराकिलो पारेको छ। पुस्तकालयका सदस्यहरूले अब त्रिवि पुस्तकालयमै बसेर अन्तर्राष्ट्रिय स्तरका अध्ययन सामग्रीसमेत अध्ययन गर्न सकिने वातावरण पुस्तकालयले बनाएको हो।

अब अध्ययन–अनुसन्धानकर्ताले त्रिवि केन्द्रीय पुस्तकालयको सदस्य भएकै हैसियतले भारत, चीन र बेलायतका आधिकारिक पुस्तकालयका अध्ययन सामग्री अध्ययन गर्न सकिने वातावरण बनेको पुस्तकालय प्रमुख सागरराज सुवेदीले बताए।

पुस्तकालय प्रमुख सुवेदीका अनुसार ई–पुस्तकालय सञ्चालन भएयता अन्तर्राष्ट्रिय स्तरमा पहुँच बढ्दै आएको छ। पुस्तकालयका लागि केही सामग्री खरिद गरिएको छ भने केही त्रिवि आफैंले बनाएको छ र केही विभिन्न संस्थाबाट प्राप्त भएका छन्।

‘ती सबै सामग्रीलाई एउटा पोर्टल बनाएर त्रिवि ई–पुस्तकालय भनेर राखेका छौं। शिक्षक, विद्यार्थी, अनुसन्धानकर्ता र शैक्षिक संस्थाहरूमा त्रिविले ती सामग्री उपलब्ध गराउँदै आएको छ’, सुवेदीले भने, ‘निश्चय पनि दूरशिक्षा, खुला विश्वविद्यालय भइसकेको अवस्थामा त्रिवि पुस्कालयका यी सामग्री धेरै प्रयोग भएका छन्, जो विभिन्न पुस्तकालय र शैक्षिक संस्थामा जान सक्दैनन् र तिनले हाम्रा पुस्तकालय पोर्टल हेर्ने, डाउलोड गरी अध्ययन गर्न सक्ने वातावरण बनाइएको छ।’

इ–लाइब्रेरी युजर्सहरू २८ हजार छन्। यिनीहरूले करोडौं सामग्री त्रिवि पुस्तकालयको ई–सेवाबाट हेर्न सक्ने व्यवस्था छ। उनले थपे, ‘भारतको नेसनल डिजिटल लाइब्रेरी अफ इन्डिया र चीनको डेटाबेस सिएनकेआई जोडिएको छ भने क्याम्ब्रिज युनिभर्सिटी प्रेसको पुस्तक तथा जर्नलहरू पनि उपलब्ध गराउने स्वीकृति प्राप्त भएको छ।’

विगतमा विश्वविद्यालयका विभिन्न संकाय र अध्ययन संस्थानका विद्यार्थी र अनुसन्धानकर्ताले भरिभराउ हुने थलो हाल वैदेशिक रोजगारीका लागि विदेश जानेहरूको अध्ययन थलो बन्दै गएको छ।

यति मात्र होइन, विगतमा विश्वविद्यालयमा अध्ययन गर्ने सम्बन्धित विषयको अध्ययन–अनुसन्धानकर्ता तथा विद्यार्थी पुस्तकालमा अध्ययन गर्न आउने गरेकोमा अहिले लोकसेवा तयारी गर्नेहरू आउने गरेको पुस्तकालय प्रमुख सागर सुवेदीले बताए। उनका अनुसार ७०–८० प्रतिशत लोकसेवा तयारी र बिदेसिन तयारी गर्नेहरूले पुस्तकालय भरिएको छ।

सय वर्षअगाडिका चार सय पुस्तकहरू दुर्लभ पुस्तक शाखामा संकलन गरी राखिएको छ। हिन्दु, बौद्ध धर्मसँग सम्बन्धित पाण्डुलिपि छन् त्रिवि केन्द्रीय पुस्तकालयमा। विश्वविद्यालयका विद्यार्थी र अध्ययनकर्ता शिक्षकहरूले यो केन्द्रीय पुस्तकालयको भरपूर प्रयोग गर्नुपर्नेमा हालको परिवेश बदलिएको छ। शिक्षक विद्यार्थीभन्दा पनि कामको खोजीमा लागेको, लोकसेवा अयोग तयारीमा लागेका व्यक्तिहरू, बिदेसिने व्यक्तिहरू र अन्य व्यक्तिले बढी प्रयोग गरिरहेको तथ्यांक छ।

‘७०–८० प्रतिशत लोकसेवा अयोग तयारी गर्नेले पुस्तकालय भरिएको छ। सबै क्षेत्रका व्यक्तिहरू अध्ययन गर्ने थलो हो पुस्तकालय। साहित्यक मात्र नभएर विभिन्न विषयगत पुस्तक लेख्ने विद्वान्हरू आउने स्थल बन्नुपर्छ पुस्तकालय। जे–जस्तो भए पनि नागरिकले पढ्ने स्थान र कल्चर बनेको छ।’

पुस्तकालयमा तथ्यांक राख्नकै लागि केही सदस्यता शुल्क लिएर अध्ययन गर्ने वातावरण बनाइएको छ। नाम, ठेगाना र फोटोसहित विवरण पनि राखिएको छ। हाल त्रिवि पुस्तकालयमा १६ सय सदस्य छन्।

अध्ययन–अनुसन्धानकर्ताको कमी

‘त्रिविमा अध्ययन–अध्यापन हुने सबै विषयवस्तुसँग सम्बन्धित चार लाख ३१ हजार पुस्तक पुस्तकालयमा छन्। नेपालका लागि इन्टरनेसनल स्ट्यान्डर बुक नम्बर आइएसबिएन नम्बर प्रदान गर्ने एक मात्र आधिकारिक संस्था त्रिवि केन्द्रीय पुस्तकालय हो’, प्रमुख सुवेदीले नागरिकसँग भने, ‘मनोविज्ञान, कम्प्युटर विज्ञान, पत्रकारिता, धर्मशास्त्र, सामाजिक विज्ञानसँग सम्बन्धित, राजनीतिशास्त्र, मिलिटरी विज्ञान, बोटनी, भौतिक विज्ञान, रसायनशास्त्र, साहित्यिक विधा, इतिहास, भूगोल, पुस्तकालय तथा सूचना विज्ञानले दिएका आधारमा सबै पुस्तक संकलन गरिएको छ।’

उनले भने ,‘तर पछिल्लो समय पुस्तकालयमा कोरियन भाषा पढ्ने र लोक सेवा तयारी गर्नेहरूको केन्द्रका रूपमा परिचित हुँदै आएको छ।’

नेपालबाट प्रकाशित कुनै पनि पुस्तक पुस्तकालयमा संकलित रहेको उनले बताए।

डिजिटाइजेसन व्यवस्थापनमै चुनौती

२० हजार शोधपत्र अनलाइनमा उपलब्ध छ भने त्यसअगाडिका २० हजार शोधपत्र नेपाल कलेक्सन शाखामा रहेका छन्। तिनलाई डिजिटाइजेसन गर्नु ठूलो चुनौती रहेको प्रमुख सुवेदीले खुलस्त पारे। प्रमुख सुवेदीका अनुसार एकातिर डिजिटाइजेसन व्यवस्थापनमा चुनौती छ भने अर्कातिर आर्थिक र जनशक्ति व्यवस्थापन अर्को ठूलो चुनौती हो।

अध्ययनका लागि टेबलमा बसेका विद्यार्थीलाई खानेपानी व्यवस्थासमेत गर्न सकिएको छैन। ‘पुस्तकालयमा दैनिक हजारजना आउने–जाने गर्छन्, तर ती सबैलाई पानी पुर्‍याउनुपर्ने चुनौती हाम्रोसामु छ भने शौचालयमा पानी छैन।’

९३ जना दरबन्दी भएको पुस्तकालयमा हाल ३२ जना मात्र कार्यरत छन्ं। दुई ठूला संरचनामा सम्पूर्ण सेक्सनमा जनशक्ति पुर्‍याउन थप समस्या छ। बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म चल्नुपर्ने पुस्तकालयमा ५० जनशक्ति अभावमा पुस्तकालय सञ्चालन गर्न समस्या रहेको उनले बताए।

दैनिक कामबाहेक अतिरिक्त काम गर्न नसकेको बताउँदै उनले पुराना पुस्तक थुप्रिएका छन्, तिनलाई टेक्निकल वाक्स गर्न नसकिएको उनले जनाए। २५ हजार शोधपत्रहरू डिजिटाइजेसन गर्न र सिडी कपी गरेर ई–पुस्तकालयका रूपमा राख्न नसक्दा भोलिका दिनमा समस्या निम्तिने उनले बताए।

प्रकाशित: २५ पुस २०८१ ०७:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App