स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विद्यालय पाठ्यक्रममा स्वास्थ्य जनचेतनाका विषय परिमार्जन गर्नुपर्ने बताएका छन्।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसँग भेटवार्ता गर्दै उनले विद्यालय पाठ्यक्रममा स्वास्थ्य जनचेतनासम्बन्धी विषय परिमार्जनका लागि विज्ञ समिति बनाएर काम गर्न सहकार्यको प्रस्ताव गरे।
उनले भने,'नसर्ने रोग बढ्दै गएकाले यसलाई रोकथाम गर्न विद्यालय तहबाटै सचेतनामूलक सामग्री प्रभावकारी बनाउनुपर्छ । पाठ्यक्रम विकास केन्द्रलाई स्तरीय सामग्री तयार पार्नका लागि मन्त्रालय सहकार्य गर्न तयार छ ।'
उनले पाठ्यक्रममा स्वस्थ खानपिन तथा मादकपदार्थविरुद्ध सचेतनाका विषय पनि समावेश गर्न सुझाव दिए।
यसका लागि दुवै मन्त्रालयको संयुक्त समूह बनाउन मन्त्री पौडेलले गरेको प्रस्तावमा मन्त्री भट्टराईले सकारात्मक प्रतिक्रिया जनाए। उनले दुवै मन्त्रालयबीच सहकार्यको प्रस्ताव सराहनीय रहेकाले थप गृहकार्य आवश्यक रहेको बताए।
प्रकाशित: २४ पुस २०८१ १८:३५ बुधबार