शिक्षा

अत्यधिक गर्मीले विद्यालय बिदा

अत्यधिक गर्मी बढेपछि सदरमुकाम त्रियुगा नगरसहित २ स्थानीय तहले पठनपाठन रोक्ने निर्णय गरेका छन्। गर्मी ज्यादा भएकाले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने बताउँदै  त्रियुगा र कटारी नगरपालिकाले दुई दिन पठनपाठन रोक्ने निर्णय लिएका हुन्।

त्रियुगाले बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेको छ। नगर शिक्षा शाखा अधिकृत शिवकुमारी राउतले बुधबार दिउँसो जारी गरेको सूचनाअनुसार अत्यधिक गर्मी बढेकाले नगर क्षेत्रमा सञ्चालित सामुदायिक तथा संस्थागत सबै विद्यालयको पठनपाठन शुक्रबारसम्म स्थगित गर्ने निर्णय गरिएको उल्लेख छ।

राउतका अनुसार त्रियुगामा ७१ सामुदायिक (मदरसासहित) र ४६ वटा संस्थागत (बोर्डिङ) गरी एक सय १७ विद्यालय सञ्चालित छन्।

त्यसैगरी कटारी नगरपालिकाले पनि तराई र भित्री–मधेस भेगका विद्यालयहरु शुक्रबारसम्म विबदा दिने निर्णय गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले बुधबार जारी गरेको सूचनामा वडा १ देखि ७ सम्मका सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन शुक्रबासम्म स्थगित गर्न भनिएको छ।

पहाड र भित्री मधेसको भूगोल समेटिएको कटारी नगरका वडा ८ देखि १४ सम्म पहाडी भेगमा पर्ने र गर्मीले पठनपाठनमा कुनै समस्या नल्याउने भएकाले बिदा नदिइएको जनाइएको छ। गर्मीबाट बालबालिकालाई बचाउन दिइएको बिदालाई बर्खे बिदामा मिलान गरिने पनि सूचनामा उल्लेख छ।

तराई भेगसमेत जोडिएकै स्थानीय तह भए पनि बेलका र चौदण्डीगढी नगरपालिकाहरुले भने बिदा दिएका छैनन्। रौतामाई, उदयपुरगढी, ताप्ली र लिमचुङबुङ गाउँपालिका भने पहाडी भेगमा पर्ने भएकाले गर्मीको असर नपर्ने स्थानीय तहहरु हुन्।

प्रकाशित: १७ जेष्ठ २०८१ ११:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App