सम्पादकीय

बाढी वितण्डा

प्रत्येक वर्ष हामी ‘टु मच वाटर’ (धेरै पानी) र ‘टु लिटल वाटर’ (कम पानी) को अवस्थामा हुन्छौं। वर्षा हुन्छ जताततै पानी नै पानी हुन्छ। जब बाढी पस्छ तब ‘द राइम अफ एन्सिएन्ट मरिनर’ मा कवि स्यामुअल टेलर कलरिजका पंक्ति जस्तै बन्छ यहाँ जीवन। ऊबेला समुद्रमा यात्रा गर्नेहरूले जताततै नूनिलो पानीमात्र हुँदा पिउन पानी पाउँदैनन्। कलरिजका पंक्तिमा लेखिएको छ– पानी पानी जताततै पानी तर छैन पिउनलाई एक थोपा पानी। हामीकहाँ जब बस्तीमा बाढी पस्छ हाम्रो जीविका खोसिन्छ। डुवानमा परेपछि जीवन झन् कष्टकर हुन्छ।  

प्रत्येकपटक वर्षात् मौसममा यस्तै हुन्छ। दुई चार दिन सबैको ध्यान पुग्छ। फेरि यी प्रसंग हराउँदै जान्छन्। पीडित एक्लै पीडामा हुन्छन्। क्षति तिनकै हुन्छ। सरकार आफ्नै हिसाबले अगाडि बढ्छ। हरेक दिनजस्तो हाम्रो ध्यान भंग गर्ने अनेकन विषयवस्तु तयार हुन्छन्। यतिबेला कोरोना विषाणुदेखि सत्तारुढ दलभित्रको किचलोसम्म हाम्रा दैनिक कार्यसूचीमा छन्। वास्तवमा यो वर्ष बाढीपीडिततर्फ पर्याप्त ध्यान केन्द्रित नहुने खतरा देखिँदैछ। मनसुन सुरु भइसकेको छ। अझ धेरै पानी पर्ने र खोलानालामा बाढी आउने पूर्वानुमानसमेत सार्वजनिक भइसकेको छ। सँगै केही ठाउँमा क्षति हुन थालिसकेको पनि छ।  

हामी प्राकृतिकरूपमा बाढी÷पहिरोको उच्च जोखिम क्षेत्रमा छौँं। प्रत्येक वर्ष यो आपत् हाम्रो जीवनमा आउने गर्छ। बाढीपीडितलाई सहयोग गर्ने सरकारी आश्वासन पनि प्रत्येक वर्ष सार्वजनिक हुन्छ। तर विगत वर्षमा सरकारले सहयोग गर्ने भनिएकै ठाउँमा समेत अपेक्षित राहत र अन्य सुविधा पुगेको हुँदैन। फेरि तिनै मानिसले यो समस्या भोग्न बाध्य हुनुपर्छ। यसकारण सकेसम्म दीर्घकालीन रणनीति बनाएरै बाढी÷पहिरो सामना गर्नुपर्ने हुन्छ। खुसीको कुरा कम्तीमा बाढी÷पहिरोबारे पूर्वजानकारी दिने वा सावधानी अपनाउने सूचना प्रवाह हुन थालेको छ। सूचनामात्र होइन, कतिपय खतरनाक स्थितिलाई महसुस गरेर पहिल्यै उद्धार गर्न सक्ने गरी क्षमता विकास गर्नु पनि उत्तिकै आवश्यक भइसकेको छ।  

पानी परेका बेला जताततै पानी पानी हुने गरेको छ। पानी नभएको बेला जताततै सुक्खा खडेरी हुन्छ। हामीले आकासबाट परेको पानीलाई प्राकृतिकरूपमा सञ्चय गर्ने परम्परागत ज्ञान र सिपलाई बेवास्ता गरेका छौँ। राजधानी काठमाडौँंमा जमिनमुनिको पानी निकालेर प्रयोग गरिएको छ। कतिपयले यसलाई व्यापारको वस्तुसमेत बनाएका छन्। तर आकासबाट परेको पानी प्रयोग गर्नेतर्फ ध्यान दिइएको छैन। पानीलाई जमिनमुनि संरक्षण गर्ने पद्धति नभएको होइन। विगतमा हामीले आहाल, पोखरी वा अन्य यस्तै प्राकृतिक भण्डारणको व्यवस्था गर्ने गरेका थियौँं। त्यो पानी बिस्तारै जमिनले सोस्न सक्ने परम्परागत प्रविधि यतिबेला प्रयोगमा छैन।

काठमाडौँं र अन्य सहरी क्षेत्र कंक्रिटको जंगलमा अनुदित भएका छन्। खोला÷खहरे आदि अतिक्रमणमा परेका छन्। एक झर पानी पर्नासाथ मानिसका घरमा खहरे पस्ने अवस्था सिर्जना भएको छ। सहरी क्षेत्रको यो दुर्दशा छ। गाउँमा स्थानीय सरकार पुगे पनि बाढी÷पहिरो धान्न सक्ने गरी स्थानीय सरकारले क्षमता बनाइसकेका छैनन्। त्यसमा पनि हाम्रा कमला पहाडमा जथाभावी डोजर लगाएर पहिरो जोखिम बढाइएको छ। यथार्थमा हामीले विकासको उपयुक्त रणनीति बनाउनै सकेका छैनौँं। कस्तो ठाउँमा डोजर लगाउने ? कस्तो ठाउँमा सडक नपु¥याए पनि हुन्छ ? भन्ने पक्षलाई ध्यान दिन नसक्दा आज विकासका नाममा विनाश भइरहेको छ। त्यसैको परिणामस्वरूप बर्सेनि प्राकृतिक विपत्ति झन्झन् कष्टकर हुँदै गएको छ।  

यो वर्षको मनसुन सुरु हुँदा÷नहुँदै ठुल्ठूला क्षति भइसकेका छन्। पश्चिम पहाड पाल्पा, गुल्मी, अर्घाखाँची र बझाङमा पहिरोले क्षति गरिसकेको छ। बझाङमा मात्र नौ जनाको मृत्यु भइसकेको छ। त्यसै गरी सिन्धुपाल्चोक बाह्रबिसेमा बाढीले दुई दर्जनभन्दा बढी घर बगाएको छ। दुई जनाको शव फेला परिसकेको छ भने १८ जना बेपत्ता छन्। अबका केही साता यस्तै क्षतिका समाचार सुन्नुपर्ने अवस्थामा हामी हुन्छौंँ। बर्सेनि हुने यस्तो क्षति कसरी कम गर्न सकिन्छ भन्ने दीर्घकालीन रणनीति सरकारले बनाउनुपर्ने हुन्छ। प्राकृतिक विपत्ति नियमित आकस्मिकताका रूपमा हाम्रो जीवनमा रहिरहेको छ भने त्यसबाट हुने क्षति सकेसम्म कम गर्न प्रयत्नरत हुनुको विकल्प छैन। यी कठिनाइसँग जुध्न मानव जातिले गरेका विकास र उपलब्धिलाई उपयोग गर्न सकिन्छ। हामी जस्तै निरन्तर बाढी÷पहिरोमा परेका मुलुकको अनुभव लिन नसकिने होइन।  

हाम्रो पुख्र्यौली ज्ञान र सिप फेरि उपयोग गर्न सकिन्छ। त्यसतर्फ हाम्रो ध्यान पुग्न सकेको छैन। पानी पर्दा जताततै पानी हुने अवस्थाको व्यवस्थापन हुन सकेको छैन। वर्षाको पानी संरक्षण गर्ने हो भने पानी कम हुने बेलामा त्यसको उपयोग हुन सक्छ। पिउने पानी र सिँंचाइका निम्ति हामीलाई हिउँदमा सधैँं अभाव छ। बाढी वितण्डाबाट उम्कन हाम्रा सरकारी संयन्त्र सक्रिय हुनैपर्छ। यससँगै नागरिक समाजका निकायको सक्रियता पनि उत्तिकै आवश्यक छ। अध्ययन/अनुसन्धान गरेर बाटो देखाउन सकिन्छ। यसपटक कोरोनासँग जुध्नसमेत हाम्रो पर्याप्त ध्यान केन्द्रित भएको छैन। कोरोनासँग जुध्ने बेला सत्तारुढ दलमा कलह उत्पन्न भएको छ। त्यसले कोरोनाविरुद्धको क्रियाशीलता कमजोर बनेको छ। अझ यसमा बाढी÷पहिरोसमेत थपिँदा हाम्रो हालत के हुने हो ? हाम्रो राज्य संयन्त्रको ध्यान यसमा कति जाला ? चिन्ताको विषय छ।

प्रकाशित: २६ असार २०७७ ०५:२७ शुक्रबार

Download Nagarik App
Download Nagarik App