सम्पादकीय

सहिदप्रति सच्चा श्रद्धाञ्जलि

आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति सहिद हुन्। मुलुक र मुलुकबासीका निम्ति ज्यानै सुम्पन सक्ने सहिदको उत्सर्ग अनुपम छ। सहिदको योगदानका अगाडि अरू सबै काम फिक्का सावित हुन्छन्। सहिद यत्रतत्त पुजनीय हुन्छन्। यिनी युगौयुग मरेर पनि बाँचिरहेका हुन्छन्। देशका निम्ति केही गर्न नसक्ने बाँचेर पनि मरिरहेका हुन्छन्।

यिनै महान् सहिदको उत्सर्ग प्रेमलाई अहिले सम्झिने अवसर आएको छ। विशेषगरी २००७ सालको जनक्रान्तिको आगो सल्काउने सहिदहरू धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्द र गंगालाल श्रेष्ठको नाम अग्रपंक्तिमा आउँछ। उनीहरूले राणा शासन विरुद्ध चालेका वैचारिक अभियान, सचेतना गतिविधि र संगठित अभियानले त्यो व्यवस्थालाई धरासायी बनाएको हो। मुलुक आधुनिककरणको दिशामा प्रवेश गरेको त्यहींबाट हो। माफी मागेमा जीवन दान पाइने आश्वासनसमेत अस्वीकार गरेर उनीहरूले आफैंलाई बलिवेदीमा होमे। त्यसैले यी सहिदका कारण देशमा प्रजातान्त्रिक, लोकतान्त्रिक, गणतान्त्रिक परिवर्तनको गतिलो जग उभियो। ती सहिदको योगदान नहुँदो हो त नेपाल अहिलेको उज्यालो समयमा आइपुग्ने नै थिएन।

त्यसो त नेपालमा लोकतन्त्र बहालीका लागि यी चारजनाको मात्र योगदान छ भन्न खोजिएको होइन। तर योगदान, दृढपना, अठोट र आत्मविश्वासमा यी सधैँ उचो स्थानमा रहनेछन्। १९३३ सालमा गोरखाको मनोकामना मन्दिरअगाडि रुखमा झुण्ड्याएर मारिएका लखन थापालाई पहिलो सहिद मानिन्छ नेपालको। त्यसयता मुलुकमा तोकतन्त्र बहालीका लागि थुप्रैले बलिदानी दिएका छन्। त्यसैले सहिद दिवसको अवसरमा यी सबैको योगदान स्मरण गर्नु उनीहरूप्रति कृतज्ञता जाहेर गर्नु पनि हो। हिजोको इतिहासप्रति कृतघ्न हुने समाजको भविश्य हुँदैन।

पछिल्लो समय सहिद शब्दको अर्थ संकुचन गरिएको छ। दाजुभाइको अंशबन्डाका क्रममा झगडा भएर मारिएकादेखि कुखुरा चोरेको आरोपमा कुटेर मारिएको व्यक्तिसमेतलाई सहिदको सूचीमा राख्न आन्दोलन नै हुँदै आएका छन्। सहिदको सूचीमा परेपछि राज्यबाट केही आर्थिक सहयोग र मृतकका आफन्तलाई रोजगारीलगायतका सुविधा पाइने लोभले जसलाई पनि सहिद घोषणा गराउने लोभ चुलिएको हो। यस्तो बेथितिले वास्तविक सहिदको अपहेलना हुनु स्वाभाविक हो।

जो देशका निम्ति सहिद बन्न तयार भए, उनीहरूले जनताका सार्वभौम अधिकार प्रयोग गर्न पाउने सुनिश्चितता खोजेका थिए। शासकको निरंकुशतामाथि अंकुश चाहेका थिए। शासन व्यवस्था सञ्चालनमा पारदर्शिता, जिम्मेवारीपन र जवाफदेहिता अपेक्षा गरेका थिए। आफ्ना नभई राम्रा र योग्यलाई उपयुक्त ठाउँमा अवसर दिलाउन खोजेका थिए। सरकारी अड्डाहरूबाट प्रदान गरिने सेवामा चुस्त/दुरुस्तताको कल्पना गरेका थिए। राष्ट्र विखण्डनविरुद्ध थियो उनीहरूको बलिदानी। परिवारवादको चंगुलबाट मुलुकलाई मुक्त गर्ने अभियानप्रतिको उच्चस्तरीय सम्मान थियो ज्यानकै अर्पण।

तर, यतिबेला हामी सहिदका ती सपना सपनामै सीमित रहेको महसुस गर्न बाध्य छौँ। उनीहरूले जे जे कर्तुतहरूलाई निषेध गर्ने परिकल्पना गरेका थिए, ती निर्मूल हुनु त परै जाओस्, उल्टै झन्झन् फस्टाउँदै आएका छन्। शासन शैलीले राणा शासन, पञ्चायती व्यवस्था, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र जस्ता विभिन्न चरण पार गरे पनि सहिदका परिकल्पना भने यथावतै छन्। बलिदानी दिनेहरू त कामना गरेर गए, तर बाँच्नेहरूलाई शासकका यी हर्कत देख्न र पचाउन हम्मेहम्मे भएको छ।

विडम्बना मान्नुपर्छ, सहिद दिवसमा ठूला ठूला भाषण यिनै नेता गर्छन्। ताली पनि यिनकै लागि बज्छन्। सहिदका सपना पूरा गर्ने भन्न पनि छाड्दैनन्। तर त्यो व्यवहारमा भए/नभएकोबारे यिनले कहिल्यै मापन गर्दैनन्। मापन गर्ने शक्ति पनि यिनीहरूसँग छैन किनकि भूपी शेरचनको कविता ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ शायद यिनैका लागि लेखिएको थियो।

दिवस मनाउनु, नाम पटक–पटक जपिरहनु, तिनकै मार्गमा हिँडेको दोहोर्‍याइरहनु, विकृति छिमल्ने भनिरहनुको कुनै अर्थ छैन। सहिद भएकाहरूले देश र देशबासीका निम्ति छाडेका विश्वासमाथि अविश्वास भएको छ। सहिदका सपना यतिबेला छरपस्ट भएका छन्। जो सहिद भए ती हारेका र जो बाँचेका छन् तिनैले जितेजस्तो भएको छ। सहिदका उत्सर्गमाथि अहिलेजति खेलबाड कहिल्यै भएको थिएन। सहिदका सालिकमा वर्षेनि माला लगाइदिएर मात्र हुँदैन, तिनका भावनालाई आत्मसात गरेर अगाडि बढ्ने प्रतिवद्धता यथार्थमै उनीहरूप्रतिको श्रद्धाञ्जली हो।

प्रकाशित: १६ माघ २०८१ ०५:५० बुधबार

Download Nagarik App
Download Nagarik App