अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले सोमबार राष्ट्रपतिका रूपमा शपथ लिए। अमेरिकाका ४७औँ राष्ट्रपति ट्रम्पको यो दोस्रो कार्यकाल हो। शपथ लिनुअघि आफ्ना समर्थकले निकालेका विजय र्यालीको झल्को दिने कार्यक्रममा सरिक भएका उनले समर्थकसमक्ष आशा जगाउने थुप्रै आश्वासनसमेत बाँडेका थिए।
कुनै पनि देशको सरकार फेरिनु सामान्य घटना मानिनुपर्ने हो तर अमेरिका आजका मितिमा एउटा देश मात्र नभएर विश्व महाशक्ति हो। उसले लिने प्रत्येक निर्णयको असर विश्वव्यापीरूपमा पर्छ। एउटा सानो निर्णयले विश्वमा उथलपुथल ल्याउन सक्छ। अर्थदेखि राजनीतिसम्ममा यसको प्रभाव कुनै न कुनै रूपमा पर्छ। यसकारण पनि अमेरिकाले लिने प्रत्येक नीतिको पक्ष र विपक्षमा विश्व बाँडिन्छ।
विश्वका दिग्गजहरूलाई आफ्नो देशमा आकर्षित गरेर विश्वकै सबैभन्दा बुद्धिमानहरू, प्राविधिकहरू, वैज्ञानिकहरू र एकसेएक नवप्रवर्तकहरू बसोबास गर्ने देशका रूपमा आफूलाई चिनाउने उसको प्रयास जारी छ। शिक्षा, स्वास्थ्य, प्रविधिदेखि विभिन्न क्षेत्रमा उसले गरेका चमत्कार पनि यसका प्रमाण हुन्। यस्तो देशको नेतृत्वले कस्तो निर्णय लिन्छ भन्ने कुरा शासनसत्तामा को पुग्छ भन्ने कुराले निर्धारण गर्छ। त्यसैले पनि अमेरिकी नेतृत्व विश्व नेतृत्वकै पर्याय हुने गर्छभन्दा अत्युक्ति हुने छैन।
यस्तै यस्तै कारण हुन् जसले अमेरिकालाई विश्वभरका मानिसको ‘सपनाको देश’ मा परिणत गरेको छ। मानिस यो देश पुग्न लाखौँ रुपैयाँ खर्चन तयार हुन्छन्। घर/खेत बेचेर सुकुमबासी बन्न लालायित हुन्छन्। शिक्षाका नाममा होस् या पर्यटकका, शरणार्थीको बहानामा होस् या व्यवसायीको, यहाँ पुगेर घरजम गर्ने र विश्वमा उपलब्ध अधिक सुविधा उपयोग गर्ने चाहनामा सबै रमेका हुन्छन्। त्यसैले पनि अमेरिकाको शासनसत्ता र यहाँ बस्नेप्रति धेरैको चाख हुनु स्वाभाविक बनेको छ।
ट्रम्पले आफ्नो कार्यकाल सुरु गरेपछि विश्वमा धेरै परिवर्तन आउने अपेक्षा गरिएको छ। एकातिर रुस र युक्रेनको युद्ध अन्त्य गर्नु आफ्नो प्राथमिकता भएको उनले चुनावी भाषणकै क्रममा प्रतिबद्धता व्यक्त गरेकाले यो सम्भावना टड्कारो देखिन्छ। यसो भयो भने यो युद्धका कारण भइरहेको जन÷धनको क्षति त रोकिन्छ नै, साथै यही कारण असन्तुलित विश्व खाद्य सुरक्षामा समेत सुधार आउने अपेक्षा गरिएको छ। यसको ठीक विपरित अर्कोतिर भने इजरायलले ट्रम्पको साथ पाउने भएकाले प्यालेस्टाइन, सिरिया, लेबनान आदि मुलुकका युद्ध थप चर्किने र यसको असरले पूरै विश्वलाई सताउने सम्भावना पनि उत्तिकै छ। तैपनि अहिले युद्धविरामले केही राहत दिएको छ। यो पनि अमेरिकामा ट्रम्पको आगमनसँगै भएको हो।
यसरी नै ट्रम्पले चीनको बढी नै विरोध गर्दै आएका कारण उनले विशेषगरी चिनियाँ सामानमा कर वृद्धि गर्ने र त्यसले गर्दा चीन–अमेरिका व्यापार सन्तुलन खल्बलिने अवस्था आउन सक्छ। वर्तमानमा चीन–अमेरिका द्वन्द्व, चाहे त्यो व्यापारिक क्षेत्रमा होस् या राजनीतिक, हतियारको होडबाजीमा होस् या अन्य तेस्रो मुलुकको प्रतिष्ठाको विषयलाई लिएर होस्, कसैका लागि पनि हितकर हुँदैन। यस्तो द्वन्द्वले निम्त्याउने असरले पूरै विश्वलाई पिर्नेछ। तर पनि यस्तो द्वन्द्वले ठाउँ नपाउने एउटा आशा भने जीवितै छ। ट्रम्पलाई राष्ट्रपति बनाउन मुख्य हात भएका विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कको चीनसँग ठूलो व्यापारिक कारोबार भएका कारण त्यसो नहुन पनि सक्छ।
अमेरिका खासमा आप्रबासीहरूको मुलुक हो। अमेरिका अमेरिका बन्न सक्नुमा यिनै आप्रबासीको मुख्य भूमिका भएकामा शंका छैन। त्यसैले यहाँ विभिन्न देशका लाखौँ आप्रवासी गैरकानुनीरूपमा बसेका छन् भन्ने जानकारी अमेरिका सरकारलाई राम्रैसँग छ। सस्तो श्रम तथा हुनेखाने अमेरिकीहरूले नगर्ने कामका लागि यस्ता आप्रवासी आवश्यक पर्ने वास्तविकता पनि उसले बुझेको छ। अहिलेसम्म अमेरिकाका कुनै पनि सरकार यस्ता आप्रवासीप्रति कडा नहुनुको मुख्य कारण पनि यही हो। तर ट्रम्पले आफू भने यो मामलामा कडारूपमा प्रस्तुत हुने प्रष्टै पारिसकेका छन्। यो अवस्थामा अमेरिकामा गैरकानुनीरूपमा बसिरहेका नेपाललगायत विश्वका दर्जनौँ राष्ट्रका मानिसको अवस्था भने सोचनीय हुन सक्नेछ।
यसरी हेर्दा विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प कतिपयका लागि आशाका कारण हुनसक्छन् भने कतिपयले उदारवादी विश्व व्यवस्था खल्बलिने आशंका पनि गरेका छन्। तैपनि उनको यो कार्यकाल विगत कार्यकालभन्दा केही भिन्न हुन सक्छ। उनी आफैंले पनि त्यस कार्यकालबाट अवश्य सिकेका छन्। एउटा महाशक्ति राष्ट्रका प्रमुखले हतासमा निर्णय नगर्ने, आफ्नो देशका नागरिक मात्र हैन, सबै मुलुकप्रति द्वेष र रिसरागको भावना नराख्ने, युद्धलाई कुनै हालतमा प्राथकिमता नदिने र विश्व भाइचाराका आधारमा अघि बढ्ने नीति लिनु उपयुक्त हुन्छ। आखिर अरूलाई सिध्याउन खोज्दा र आफ्नो मात्र स्वार्थ पूरा गर्न खोज्दा आफू पनि सबैतिरबाट तारो भइने तीतो यथार्थलाई विश्व महाशक्तिका पनि शीर्ष नेताले आत्मसात गरेर अघि बढे भने पक्कै पनि विश्व शान्तिमा योगदान पुग्नेछ।
प्रकाशित: ८ माघ २०८१ ०५:५५ मंगलबार