सम्पादकीय

पालो ‘युद्ध पर्यटन’को

२०६२ साउन २३ गते तत्कालीन विद्रोही नेकपा माओवादीले शाही नेपाली सेनाको सडक निर्माण कार्यदलमाथि आक्रमण गरेपछि ७२ नेपाली सैनिक जवानको ज्यान गएको थियो। सो आक्रमण भएको ठाउँ पिलीले यतिबेला त्यो कालो इतिहासलाई स्मृतिमा राख्ने र यसलाई शिक्षा र पर्यटनको केन्द्र बनाउनेतर्फ कार्य गरिरहेको छ। अहिले यो ठाउँ ‘युद्ध पर्यटन’ अध्ययन गर्ने एउटा गतिलो केन्द्रका रूपमा विकास हुने क्रममा छ।

युद्ध पर्यटनको इतिहास आधा शताब्दीभन्दा बढी छैन। २० औँ शताब्दीको मध्यबाट सुरु भएको युद्ध पर्यटन मानिसहरू विभिन्न भागमा युद्ध र संघर्षका घटनाहरूको साक्षी बन्ने लोभले सुरु भएको थियो। खासगरी दोस्रो विश्वयुद्धमा मारिएका सैनिक, युद्धबाट ध्वस्त भएका स्थल विचरण गर्ने उद्देश्यका साथ यस्तो पर्यटन थालिएको थियो। मूलतः जापानमा जब परमाणु बम प्रहार गरियो, त्यसले ध्वस्त पारेको ठाउँ हेर्नेको लहर नै चल्यो। त्यसपछि यस्ता ध्वस्त भएका स्थलहरूको भ्रमण गर्ने क्रमले तीव्रता पाउन थाल्यो। त्यसो त अनौठा रुचि भएका पर्यटनप्रेमीहरूले संसारका अनौठा अनौठा ठाउँमा पुग्ने र त्यसको प्याकेजसमेत बनाउने गरेका छन्। ती अनौठा प्याकेजमध्ये युद्ध पर्यटन वा विभीषिका पर्यटन भने सर्वसाधारणका लागि आँखा खोल्ने पर्यटन बन्न सक्छ।

संसारभर यस्ता अनेक विभीषिका पर्यटनका कार्यहरू भएका छन्। दक्षिण अफ्रिकामा विभेदविरुद्ध भएको आन्दोलन, त्यस अवधिका द्वन्द्व र व्यक्तिहरूले दक्षिण अफ्रिकी जीवनमा पारेका प्रभावबारे यस्ता विभिन्न ठाउँमा निर्माण भएका संग्रहालय बढीभन्दा बढी भ्रमण गरिने स्थानमध्येमा पर्छ। खासगरी नेल्सन मण्डेलाको घरदेखि उनी बसेको जेलसम्म हेर्न मानिसहरू वर्षेनि त्यहाँ पुग्छन्। कम्बोडियामा भएको नरसंहारको त एउटा विशेष संग्रहालय नै बनाइएको छ, जहाँ हजारौँ कंकालहरू प्रदर्शनमा राखिएको छ। त्यहाँका यातनागृहलाई नै संग्रहालयमा परिणत गर्दा हरेक वर्ष उक्त यातनागृह भ्रमण गर्नेहरूको संख्या लाखौँमा पुग्ने गरेका छन्। यति मात्र होइन, जर्मनीको नाजी अवधिमा यहूदीहरूका लागि तयार पारिएका कन्सन्ट्रेसन क्याम्प सबैभन्दा बढी  पर्यटक पुग्ने स्मारकमध्येमा पर्छन्। अधिकांश अवस्थामा यस्ता संग्रहालयले युद्धका अवधिको नृशंसतालाई उजागर गर्ने हुनाले सर्वसाधारणमा सचेतना भने पर्याप्त बढाउँछ। नेदरल्यान्ड्सस्थित बालिका एन फ्र्यांक लुकेको घरले युद्धका बेला बालबालिकाले कस्तो मनोदशा भोग्दा रहेछन् भन्ने प्रस्ट्याउँछ।

द्वन्द्व पर्यटन निकै जटिल र संवेदनशील विषय हो। यसले सो क्षेत्रको इतिहास, संस्कृति र मानव जीवनका अनेक पाटाबारे जानकारी दिन्छ। यसले पर्यटकलाई आफ्नै आँखाले त्यस अवधिमा पुर्‍याइदिन्छ, जुन विभीषिका स्थानीयले भोग्नुपरेको थियो। त्यहाँ पुग्ने हरेक पर्यटकले द्वन्द्व अवधिको वास्तविकता बुझ्ने अवसर पाउँछन्। तर यस्ता पर्यटनको अर्को पाटो पनि हुन्छ। यस्तो पर्यटन वास्तवमा पीडा पर्यटन पनि हो। कसैको पीडालाई पर्यटनको विषय बनाइनुहुन्छ कि हुँदैन, यो नैतिक प्रश्न पनि हाम्रासामु उत्तिकै उभिन्छ। स्थानीय निकाय, प्रदेश र केन्द्र सरकारहरूले द्वन्द्व पर्यटनका बाटाहरू खोज्दै गर्दा यसले तत्कालीन द्वन्द्वरत पक्षहरूको संवेदनालाई ख्याल राख्नुपर्ने हुन्छ।

महत्त्वपूर्ण कुरा चाहिँ पिली र स्थानीय निकायले त्यो द्वन्द्व र युद्धको एउटा अवधिलाई जीवित राख्ने प्रयास गरेको छ। प्रदेश सरकार र स्थानीय तहले यसलाई विगत चिहाउने एउटा आकर्षक संग्रहालय निर्माण गर्नेतर्फ कदम चाल्नु स्वागतयोग्य कार्य हो। यसो गर्नु अघिल्ला आफ्ना गलत वा सहीजस्ता गतिविधि भए पनि तिनलाई आत्मसात गर्नु हो। पिलीको द्वन्द्व संग्रहालय ती गतिविधि र कार्यलाई स्थानीय निकायले आत्मसात गरेको छ।

हरेक समाजमा असन्तोष हुन्छ। त्यस्ता असन्तोषले कहिलेकाहीं क्रान्तिको रूप ग्रहण गर्छन् त कहिलेकाहीँ यत्तिकै सेलाउँछ पनि। सबैभन्दा ठुलो काम असन्तोषलाई बेलैमा स्थानीय प्रयास, पहलले समाधान गर्नु हो । ग्रहण गर्नु हो। पिली, स्थानीय तह र प्रदेश सरकारले पिली आक्रमणलाई अपनत्व ग्रहण गरेको छ र सो ठाउँलाई संग्रहालयका रूपमा विकसित गर्ने, द्वन्द्व बुझ्न सघाउ पुर्‍याउने परियोजनाका रूपमा यसलाई लिएको छ।

सजग समाजले आफ्ना गल्तीबाट सिक्छ। आउँदा पुस्तालाई ती सही वा गलत पहलबारे शिक्षित बनाउँछ। अब आइन्दा गल्ती नदोहोरिऊन् र भए गरेका असल कार्यलाई स्मरणमा राखियोस् भन्ने आशयका साथ यस्ता संग्रहालय संसारभर बनाइएका हुन्छन्। यही क्रममा नेपालमा पनि द्वन्द्व संग्रहालय निर्माण हुनु एउटा स्वागतयोग्य कार्य हो। अझ नेपालको कर्णाली प्रदेशले यसलाई संस्थागत स्वरूप दिएर अर्को उदाहरण पेश गरेको छ। हुन पनि नेपालको कर्णाली प्रदेशले नेपालको द्वन्द्व अवधिमा ठूलो क्षति बेहोरेको छ। त्यसैले क्षतिबारे ऊ बढी सचेत हुनु र त्यसलाई स्मरणमा राख्न चाहनु स्वाभाविक पक्ष पनि हो। लामो समयदेखि कर्णाली एक्लैले आफूलाई थेगिरह्यो र द्वन्द्व अवधिले त झन् उसलाई अझ पछि धकेलिदियो। यस्तोमा उसले द्वन्द्व अवधिलाई संग्रहालयमार्फत स्मरण गर्नु राम्रो कुरा हो।

प्रकाशित: १३ मंसिर २०८१ ०६:०६ बिहीबार

Download Nagarik App
Download Nagarik App