सम्पादकीय

चीन भ्रमणअघिको चर्चा

प्रधानमन्त्री केपी शर्मा ओलीले यही मंसिर १७ गतेभित्र जनगणतन्त्र चीनको औपचारिक भ्रमण तयपछि विभिन्न कोणबाट चर्चा–परिचर्चा भइरहेका छन्। कसैले चीनमा गएर ऋण लिनु हुँदैन, अनुदान भने लिए हुन्छ भनिरहेका छन्। कसैले प्रधानमन्त्रीले भारतको भ्रमण पहिले गरेर मात्र चीनको भ्रमण गर्नुपर्थ्याे भनिरहेका छन्। प्रधानमन्त्री ओलीको चीन भ्रमणको उद्देश्यबाट बहकिएर यस्ता चर्चा भइरहेका छन्। हाम्रा निम्ति भारत र चीन दुवै महत्त्वपूर्ण छिमेकी मुलुक हुन्। यी दुई मुलुकमध्ये आवश्यकताअनुसार जता गए पनि फरक पर्दैन।

प्रधानमन्त्रीले गर्ने यस्ता भ्रमणमा मुलुकलाई सर्वोपरि महत्त्व दिइएकोप्रति विश्वस्त हुने हो भने अनावश्यक बहस हुने छैनन्। तर, मुलुकको प्रधानमन्त्री कुनै देश जाने बेलामा शंकाउपशंका उठाउन पर्नु आफैंमा दुःखद हो। यसपटक भ्रमण तय हुनेबित्तिकै प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीबाट ‘चाइना कार्ड’ खेल्ने काम भएको आरोप लगाए। भलै, उनले पछिल्लो पटक सोमबार प्रधानमन्त्री ओलीसँगको छलफलका क्रममा भनेका छन्– ‘मैले पनि चलन तोडेरै चीन भ्रमण गरेको हुँ।’

वास्तवमा दाहालको ओलीमाथि ‘चाइना कार्ड’ खेलेको आरोपलाई स्वाभाविक मान्न सकिन्न। सरकारमा जुनसुकै दल भए पनि मुलुकको परराष्ट्रनीति समान हुन्छ। यसमा कसैले पनि राजनीतिक लाभका निम्ति अभिव्यक्ति दिनु उचित हुँदैन। वास्तवमा दाहालले आफू प्रधानमन्त्री रहेका बेला चीनको भ्रमण भारतभन्दा पहिले गरेर स्वाभाविक रूपमा परम्परा तोड्न कोसिस गरेका पनि हुन्। तर, आफैंले विगतमा गरिसकेको काम अर्को प्रधानमन्त्रीले गर्दा अन्यथा रूपमा चित्रण गर्नु उचित हुँदैन। यसले अनावश्यक रूपमा शंकाको वातावरण मात्र बनाउँछ। त्यसमा पनि सबैजसो दलले आफ्नो स्वार्थअनुरूप परराष्ट्र मामिलालाई दोहन गर्छन् भन्ने अर्थ लगाउन सजिलो भएको छ। प्रधानमन्त्री ओलीले भने स्वतन्त्र मुलुकको प्रधानमन्त्रीले आफ्नो अनुकूलताका आधारमा भ्रमण गर्न सक्ने बताइसकेका छन्।

स्वाभाविक रूपमा नेपालको अवस्था महँगो ऋण लिएर विकास गर्न सक्ने किसिमको छैन। सहुलियत ऋणमा विकास निर्माणका काम गर्न नसकिने होइन। अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मार्फत् ५० अर्ब रूपैयाँ अनुदान सहयोग प्रदान गरी पूर्वाधार निर्माणमा सघाएको छ। नेपालले चीन, भारत, युरोपेली र अरब मुलुकहरूसँग पनि सहयोग लिँदै आएको छ। मुलुकका आवश्यकतालाई ध्यानमा राखी नेपालले सहयोग लिन र त्यसलाई विकास निर्माणमा लगाउन सक्नुपर्छ। भौगोलिक संवेदनशीलताका हिसाबमा रहेको मुलुकले अनाहकमा कूटनीतिक कार्ड खेल्ने भन्दा पनि देशको हितमा लाग्ने हो।

चीन भ्रमणमा जानुअघि प्रधानमन्त्री ओलीले विभिन्न पक्षसँग छलफल गरिरहेका छन्। उनले सोमबार मात्रै पनि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरूसँग छलफल गरेका छन्। उनले छलफलका क्रममा चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) ऋणको परियोजना नभएको प्रस्ट रूपमा उल्लेख गर्दै चीनसँग ऋण लिने वा नलिने विवादको विषय नभएको बताएका छन्। केही समययता नेकपा (एमाले)को सत्ता साझेदार दल नेपाली कांग्रेसले पनि ऋण लिन हुँदैन भन्दै आएको छ। अहिले ओलीको भ्रमणमा सत्ताका यी दुई प्रमुख घटक कांग्रेस र एमालेबीच बिआरआईका निम्ति ऋण लिने र नलिनेमा विवाद भयो भने परिणाम नकारात्मक हुन जान्छ। बिआरआई परियोजना कसरी सञ्चालित हुन्छन् भन्ने विषय अहिलेसम्म राष्ट्रिय छलफलमा आएको छैन। प्रधानमन्त्री ओलीले नै बिआरआई ऋणका परियोजना होइनन् भनिसकेपछि यो विवादको विषय नै रहेन। यो स्थितिमा सबैजसो दल एउटै अवधारणामा उभिएको महसुस गर्न सकिन्छ।

लोकतान्त्रिक मुलुकमा परराष्ट्र नीति जनताको हितमा प्रयोग हुनुपर्छ। हाम्रोजस्तो अवस्थामा कुनै दल विशेषले यसलाई आफ्नो लाभका निम्ति उपयोग गर्ने भन्ने सोच्न सकिँदैन। समग्र मुलुक र जनताको हितका निम्ति सबैले सोच्नु र समान धारणा राख्नु आवश्यक छ। वामपन्थी धारणा राख्नेले चीन र प्रजातान्त्रिक धारणा राख्नेले भारत रोज्ने भन्ने कुरा हुँदैन। हाम्रोजस्तो मुलुकले ती मुलुकमा जस्तोसुकै व्यवस्था चलेको भए पनि सम्बन्ध देशकै हिसाबले राख्ने हो। यसै पनि हाम्रो मुलुकले विगतमा पनि बुद्धिमत्तापूर्वक चीन र भारतसँग सम्बन्ध राख्दै आएको छ। प्रधानमन्त्रीलाई कुनै छिमेकीले बोलाउन केही दिन ढिला हुनेबित्तिकै सत्ता नै समस्यामा पर्न लागेको ठान्नु पनि आवश्यक छैन। मुलुकको आवश्यकतानुसार प्रधानमन्त्रीले विदेश भ्रमण गर्ने र देशका लागि काम गर्ने हो। त्यसैले अहिले चीन भ्रमणका निम्ति देशभित्रै धेरै विवाद गरिराख्नुपर्ने अवस्था छैन। बिआरआईलाई ऋणका परियोजनामा स्वीकार नगर्नेबित्तिकै यहाँ विवाद हुने भन्ने नै देखिँदैन। तर, प्रत्येक पटक देशसँगको सम्बन्धमा अनावश्यक विवाद सिर्जना गर्दा भने सम्बन्धमा गत्यावरोध हुन सक्छ। यस्ता चर्चा–परिचर्चामा पनि विशेष ध्यान पुर्‍याउनु र संवेदनशील हुनु उचित हुन्छ।  

प्रकाशित: ११ मंसिर २०८१ ०५:०६ मंगलबार

Download Nagarik App
Download Nagarik App