हरेक दश वर्षमा नेपाली फिल्म उद्योगमा एउटा नयाँ लहर आउने गर्छ। २०४५ सालअघि निकै थोरै फिल्म बन्थे तर त्यसपछि फिल्मको एउटा लहर सुरु भयो। त्यसको सुरुवात तुलसी घिमिरेको ‘लाहुरे’ले गर्यो। यस्तो सुरुवातको लामो कथा छ, छोटकरीमा भन्दा ठुलो पर्दाका लागि खिचिएका फिल्म हाइभिजन (भिडियो) हलमा देखाउन थालियो। ठुलो पर्दाबाट सानो हलमा दर्शक तान्नु एउटा बाध्यता थियो किनभने त्यो बेला सीमित सिनेमा हल थिए। ठुला हल बनाउन ठुलै लगानी चाहिन्थ्यो। त्यसैले कसैले आँट गरेका थिएनन्। ठुला हल हिन्दी फिल्मले ओगट्थे। नेपाली फिल्मले ती हल पाउँदैनथे। ठुला हलविरुद्ध क्रान्ति भयो र हाइभिजन हलमा नेपाली फिल्म देखाइन थालियो। हाइभिजनमा नेपाली फिल्म चल्न थालेपछि काठमाडौंका चार कुनामा साना हाइभिजन हल खुल्न थाले। यसले नेपाली फिल्मको बजार बढाउन भूमिका खेल्यो।
त्यसपछि नेपाली सिनेमा बन्ने क्रम तीव्र हुन थाल्यो। नेपाली फिल्म निर्माण तीव्र हुने क्रमलाई केहीले ‘हमाल–सिन्ड्रोम’ पनि भनेका छन्। जुन फिल्ममा राजेश हमालको अनुहार देखिन्छ, त्यो फिल्मले लगानी सुरक्षित गर्छ भन्ने विश्वासले हरेक फिल्ममा राजेश हमाल देखिन थाले। हमालको करिस्मा सिनेमा हलमा देखिन पनि थाल्यो। उनले करिब डेढ दशक नेपाली फिल्म उद्योगमा रजगज गरे। उनको यो रजगजविरुद्ध एउटा नयाँ आन्दोलन सुरु भयो। त्यो आन्दोलनमा गाउँको एउटा सामान्य परिश्रमकर्मी फिल्मी कथाको मूल पात्र हुन थाल्यो। ‘कागबेनी’ले सुरु गरेको त्यो गोरेटोमा ‘लुट’ले फराकिलो मूलबाटो बनाइदियो। यही फिल्ममार्फत नेपाली फिल्म उद्योगले नयाँ अभिनेता दयाहाङ राई फेला पार्यो।
‘लुट’ले बनाइदिएको मूल बाटोमा अहिले पृथक् कथा पृथक् शैली अभिव्यक्त हुने बाटो खुलेको छ। ‘कबड्डी’, ‘जात्रा’, हुँदै ‘जारी’सम्म आइपुग्दा नेपाली माटोको कथालाई कसरी फराकिला दर्शकसम्म पुर्याउने भन्ने बाटो फिल्म उद्योगले तय गरिसकेको छ। ‘पूर्णबहादुरको सारंगी’ले नेपाली फिल्मको त्यो मानक भत्काइदिएको छ, जुन यसअघि ‘चिनो’, ‘दर्पणछाया’ र ‘लुट’ले स्थापित गरिदिएका थिए। नेपाली सिनेमा बजारले मुस्किलले केही लाखबाट बढेर करोड र करोडबाट बढेर आधा अर्बको बाटो तय गरिसकेको छ। अहिले ‘पूर्णबहादुरको सारंगी’ले संसारभरबाट ३० करोड र नेपाल भित्रबाट २० करोडको व्यापार गरिसकेको तथ्यांक सार्वजनिक भएका छन्। यो सत्य हो भने अब नेपाली फिल्मले अर्बको व्यापारको बाटो खोल्न सजिलो पारिदिएको छ। एउटा गह्राैं लक्ष्य अन्य सिनेनिर्मातासामु राखिदिएको छ। अबका निर्माताले त्यही लक्ष्य बोकेर हिँड्नुपर्ने देखिन्छ।
फिल्म सिर्जनशील पक्ष हो। व्यापारको भारले यो थिचिनु हुँदैन भन्ने मान्यता राख्नेहरू पनि छन्। तर यो यति महँगो र बहुविधायुक्त हो कि व्यापार नगर्ने हो भने यसलाई फेरि फेरि सिर्जनाकै नाउँमा बनाइरहन गाह्रो हुन्छ। सन्तुलित व्यापार र सन्तुलित कला पस्कन सके मात्र यो विधा जिउँदो रहन सक्छ। अहिले संसारका कयौं देशमा फिल्म बन्न छाडेका छन्। प्रतिस्पर्धामा कयौं देशका फिल्म पछि परिरहेका छन्। हलिउडको छायाका कारण क्यानेडेली फिल्महरू दुब्लाउँदै जाँदा अहिले वर्षमा निकै कम फिल्म बन्न थालेका छन्। त्यही कुरा युरोपेली बजारमा देख्न सकिन्छ। ठिक यही कुरा नेपालमा पनि लागु हुन्छ। यहाँ बलिउडको प्रभाव यति गहिरो छ कि तिनको ‘रिलिज डेट’ हेरी नेपाली फिल्मले आफ्नो समय मिलाउनुपर्ने अवस्था छ।
पछिल्ला केही वर्षमा भने केही राम्रा फिल्मले गरेको व्यवसायले हिन्दी फिल्मसँग पनि नेपाली फिल्म प्रतिस्पर्धा गर्न सक्छन् भन्ने आत्मविश्वास पलाउन थालेको छ। छक्कापञ्जा शृंखला यसको उदाहरण बन्न पुगेको छ। दसैंछेक पारेर रिलिज भएको छक्कापञ्जाले दर्शकलाई मनोरञ्जन त दिएको छँदैछ, यसको रिलिजका बेला जस्तासुकै ठुला हिन्दी फिल्म आए पनि उसले आफ्नो व्यापार जोगाएको छँदैछ। यसले देखाउँछ– राम्रा र मनोरञ्जक फिल्म बने भने विदेशी फिल्महरूसँग पनि नेपाली फिल्मले प्रतिस्पर्धा गर्न सक्छ। यसका लागि नेपाली फिल्मले आफूलाई ब्रान्डका रूपमा चम्काउन भने पर्छ। अहिलेसम्म ती फिल्म चलेका छन्, जसले आफूलाई ब्रान्डका रूपमा चम्काएका छन्। अथवा, ती निर्माता वा कलाकारले आफूलाई प्रमाणित गरेका छन्।
‘हमाल–सिन्ड्रोम’को भार यतिबेला दयाहाङ राईमाथि छ। समयक्रममा अर्का सुपरस्टार जन्मन सक्छन् तर ‘पूर्णबहादुरको सारंगी’ले भने भुइँमान्छेका संघर्षको कथालाई प्रभावशाली तरिकाले पस्कन सके दर्शकले काँधकाँधै बोक्छन् भन्ने उदाहरण देखिएको छ। अहिलेका सहरवासीले ज्यादै ‘मिस’ गरिरहेको कुरा ‘गाउँको स्मृति’ हो। सारंगीले त्यही स्मृतिलाई ताजा पारिदिएको छ। यति मात्र होइन, सधैं धीर–गम्भीर रहने बाबुको संघर्षकथालाई भावनात्मक रूपमा पस्कन सफल भएको छ। त्यसैले पनि यो फिल्मलाई दर्शकले ज्यादै माया गरेका छन्।
अहिले नेपालमा महँगो फिल्मको बजेट पाँचदेखि सात करोडसम्म पुग्ने गरेको छ। सामान्य फिल्मको बजेट एक करोड पुगेको छ। सारंगीको बजेट बढीमा सवा करोड देखिन्छ। तर राम्रो नेपाली फिल्मले अब कम्तीमा पनि ५० करोड व्यापार गर्न सक्ने देखाएको छ। त्यसका लागि मन छुने कथा र त्यसको प्रस्तुतिमा ध्यान दिन जरुरी छ। त्यसै पनि अहिले ‘कन्टेन्ट इज किङ’को जमाना हो। संसार कन्टेन्ट अर्थात् अन्तर्वस्तुका पछाडि दौडिरहेको बेला नेपालजस्तो विविधतायुक्त मुलुकमा त्यसको कुनै कमी छैन भन्ने पनि यही फिल्मले प्रमाणित गरेको छ। मात्र यसलाई सही तरिकाले प्रस्तुत गर्ने र ठुलो समुदायमाझ पुर्याउने व्यवस्था मिलाउनुपर्छ।
यसका लागि बजार खोज्ने काम सिनेनिर्माताकै हो। चाहे त्यो ‘लाहुरे’ले खोलेको हाइभिजनको बाटो होस्, चाहे ‘कागबेनी’ले गुणस्तरका लागि खोलेको फोरके डिजिटल फिल्ममेकिङ होस्, चाहे प्रवासी नेपालीमाझ फिल्म पुर्याउने नयाँ पुस्ता हुन्, ती सबैको प्रयासले यो बाटो फराकिलो बनेको हो। यसका लागि ती फिल्मकर्मी साधुवादका पात्र छन्। उनीहरूले सरकारको कुनै मुख ताकेनन्। जसरी इरानी फिल्म अहिले संसारकै उम्दा फिल्म मानिन्छन्, त्यसमा इरानी सरकारको खासै सहयोग देखिँदैन, उसैगरी सरकारको खासै सहयोगबिना नै नेपाली फिल्म उद्योगले नेपालबाहिर बनाएको बजारका लागि फिल्मकर्मीहरूको प्रयासलाई उच्च मूल्याङ्कन गर्नुपर्छ।
स्मरण गर्नैपर्ने पक्ष के छ भने, जब नेपालमा सन् २००० यता विभिन्न फिल्म फेस्टिभलको बाटो खुल्यो, तिनले फिल्म रसिकको जुन माहोल तयार भयो, त्यसले पारम्परिक भन्दा फरक फिल्म हेर्ने, बनाउने अवस्था पनि सिर्जना भयो। जति यस्ता फेस्टिभल फैलिन्छन्, तिनले फरक विषय बुझ्न सर्वसाधारण र फिल्मकर्मीलाई सहयोग पु¥याउँछ। नेपाली फिल्म उद्योगले दसैंयता मात्र ६० करोडभन्दा बढीको व्यापार गरिरहेको सन्दर्भमा फिल्मको विविधता, तिनको सुन्दर प्रस्तुति र उचित समय छनोटमा ध्यान दिन सके व्यापारको आकार अझ फराकिलो हुने देखिन्छ। आउँदा दिनमा उद्योगले यो फराकिलो राजमार्गमा एकसेएक उम्दा फिल्म दौडिरहेको देख्न पाइयोस्।
प्रकाशित: ३ मंसिर २०८१ ०५:०७ सोमबार