सडक खनिएको तीन दशकपछि पश्चिम सुर्खेतको बावियाचौर–बेनीघाट सडकको १३ किलोमिटर सडक कर्णाली प्रदेश सरकारको लगानीमा कालोपत्रे हुने भएको छ।
२०५१ सालदेखि सञ्चालनमा आएको यो सडकले कर्णालीलाई सुदूरपश्चिमको डडेल्धुरासँग जोड्छ। मदन भण्डारी राजमार्ग अन्र्तगतको बड्डीचौर–खम्वागाडे सडक (१३ किलोमिटर) कालोपत्रेका लागि बिहीबार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले डोजर चलाएर शुभारम्भ गरे।
मदन भण्डारी राजमार्ग अन्र्तगत सुर्खेत खण्ड २३२ किलोमिटर छ। सल्यानको काल्चेदेखि भेडाबारीसम्म सडक कालोपत्रे भइसकेको छ। भेडाबारीदेखि धुलियाविटसम्म मदन भण्डारी राजमार्ग आयोजनाले कालोपत्रेको काम गरिरहेको छ। धुलियाविटदेखि बड्डीचौरसम्म कर्णाली राजमार्ग पर्छ। ‘मदन भण्डारी राजमार्ग अन्तर्गतको बराहताल गाउँपालिका–५ बड्डीचौरदेखि पञ्चपुरी नगरपालिकाको खम्वागाडेसम्मको १३ किलोमिटर सडक प्रदेश सरकारले कालोपत्रे गर्ने निर्णय बमोजिम शिलान्यास भएको हो,’ सामाजिक विकास मन्त्री बुढाक्षेत्रीले भने, ‘तोकीएकै समयमा काम सम्पन्न हुनेमा सरकार आशावादी छ।’
बड्डीचौरलाई शून्य विन्दू मानेर संघीय सरकारले दुई वर्षअघिनै सडकको विस्तृत परियोजना प्रतिवेदन तयार पारेको थियो। संघीय सरकारबाट तत्काल सडक विस्तार र कालोपत्रे हुने नदेखिएपछि प्रदेश सरकार आफैले सडकको कालोपत्रे गर्ने काम सुरु गरेको हो। १३ किलोमिटर सडक कालोपत्रेका लागि अनक जयदेवी जेभीले ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँमा ठेक्का लिएको छ। निर्माण कम्पनी र पूर्वाधार विकास निर्देशनालय सुर्खेतबीच गत असार १४ गते २०८१ असार २४ गतेभित्र सडक कालोपत्रे सम्पन्न गर्ने गरेर संझौता भएको छ।
निर्माण कम्पनीका अनुसार पहिलो चरणमा नाला निर्माण, सडक विस्तारलगायतका कामहरु हुनेछन् भने दोस्रो चरणमा आगामी आर्थिक वर्ष कालोपत्रेको काम गरिनेछ।
मन्त्री बुढाक्षेत्रीले संघीय सरकारले सुर्खेतको पश्चिम क्षेत्रको सडक निर्माण, स्तरोन्नति र कालोपत्रेमा चासो नदेखाएपछि प्रदेश सरकारमार्फत काम सुरु गरिएको बताए। ‘तीन वर्षअघि तत्कालीन सरकारले बाजागाजासहित डीपीआरको काम सुरु गरेको थियो, तर सडक कालोपत्रेको त कुरै छोडौं, सडकको सामान्य स्तरोन्नतिसम्म गर्न सकेन्,’ उनले भने, ‘त्यसैले नजिकको प्रदेश सरकारमार्फत काम अघि बढाएका हौं।’
बराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले सडक विस्तार र कालोपत्रेमा कुनशै अवरोध आउन नदिने बताए। ‘पश्चिम सुर्खेतका जनताका लागि यो सडक समृद्धिको आधार हो,’ उनले भने, ‘सडकको स्तरोन्नति र कालोपत्रेका लागि स्थानीय सरकारबाट पूर्ण सहयोग हुन्छ, कुनै अवरोध हुन दिँदैनौं।’
तीन दशकअघि पश्चिम सुर्खेतको सडक सञ्चालनमा आएपनि स्तरोन्नति नहुँदा यहाँका नागरिकहरुले सास्ती भोग्दै आएका छन्। साँघुरो सडक, खाल्डाखुल्डी र खोलाहरुका कारण पश्चिम सुर्खेतका नागरिकहरुलाई सदरमुकाम वीरेन्द्रनगर आउन ठूलो समस्या हुने गरेको छ।
प्रकाशित: ५ श्रावण २०७९ १३:१४ बिहीबार