अर्थ

बिउ उत्पादन गरेर वार्षिक साढे ६ करोड भन्दा बढी आम्दानी

फाइल तस्बिर

चितवनमा बिउ उत्पादन गरेर किसानले राम्रो आम्दानी गर्दै आएका छन्। भरतपुर महानगरपालिका १४ पटिहानीका किसानले मूल बिउ उत्पादन गरेर वार्षिक साढे ६ करोड भन्दा बढी आम्दानी गर्ने गरेका छन्। उन्नत बीज वृद्धि कृषक समूह मार्फत यहाँका किसानले धान, गहुँ, तोरी, मुसुरो र राजमाको बिउ उत्पादन गरेर मात्रै वार्षिक ६ करोड ५३ लाख ६३ हजार ३६३ रूपैयाँ बराबरको आम्दानी गरेको संस्थाका अध्यक्ष उमानाथ पौडेलले बताए। 

उनका अनुसार सबैभन्दा बढी धानको बिउ ८ सय मेक्ट्रिक टन उत्पादन गर्दै आएका छन्। त्यसपछि गहुँको बिउ, ४२५, मकै ५१, जौ घाँसको बिउ ५, तोरी ३ र मुसुरो १ मेक्ट्रिक टन उत्पादन गर्दै आएको उनले जानकारी दिए। किसानले धानको बिउको प्रतिकेजी ३७, गहुँ ४०, मकै ८० र तोरी १५० देखि २०० रूपैयाँमा बिक्री गर्दै आएका छन्।  

२०५९ सालमा स्थापना भएको उन्नत बीज वृद्धि कृषक समूहमा साढे ५ सय किसान आवद्ध छन्। शेयर सदस्य भने ९९ जना मात्र छन्। यो संस्था नेपाल सरकारबाट मूल बिउ उत्पादनका लागि मान्यता प्राप्त पहिलो संस्था समेत हो। यहाँबाट उत्पादन भएको बिउ लोगोसहित पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरसम्म जाने गर्दछ। उनीहरूलाई संस्थाले बजार मूल्यभन्दा बढी पैसा दिएर बिउ खरिद गर्ने गरेको संस्थाका सहसचिव शान्तराज आचार्यले बताए। ‘किसानलाई हामीले नै बिउ दिन्छौं।  

गुणस्तरीय बिउ उत्पादनमा ध्यानमा राखेर बिउ बीजन प्रयोगशाला हेटौडाबाट बाली निरीक्षण गर्न आउनुहुन्छ,’ उनले भने– ‘बजार मूल्यभन्दा धानमा ३ र गहुँमा ६ रूपैयाँ बढी दिँदै आएका छौं।’ संस्थाले प्रतिवर्ष किसानलाई ५ लाख रूपैयाँ बराबरको अनुदान दिने गरेको आचार्यले जानकारी दिए। संस्थाले चार बिघा क्षेत्रफलमा बिउ उत्पादन समेत गर्दै आएको छ। 

यसअघि १० विघामा बिउ उत्पादन गर्दै आएको थियो। जमिन पाइन छाडेपछि घटाइएको संस्थाका सल्लाहाकार डा. कर्णबहादुर भण्डारीले जानकारी दिए। उनका अनुसार एउटै व्यक्तिले १५ लाख रूपैयाँ सम्मको बिउ बिक्री गर्दै आएका छन्। अहिले मूल बिउ उत्पादन गर्दै आएको संस्थाको हाइब्रिड बिउ उत्पादन गर्ने योजना समेत रहेको उनले बताए।  

राम्रो मूल्यमा बिउ खरिद गर्ने भएपछि फुलवारी, पार्वतीपूरसम्मका किसान यस संस्थामा समावेश भएका छन्। भरतपुर महानगरपालिका वडा नम्बर १४ पटिहानीका दिपक अदै संस्थामा आवद्ध भएपछि काम गर्न सहज भएको बताउँछन्। ‘१० वर्षदेखि धान र गहुँको बिउ उत्पादन गर्दै आएको छु। सुरुआती तीन वर्ष व्यापारीसँग बार्गेनिङ गरेर बेच्नुपर्दथ्यो,’ उनले भने– ‘यहाँ आएपछि अन्य ठाउँभन्दा एक दुई पैसा भए पनि फाइदा छ। ट्र्याक्टर, थ्रेसर पनि भन्ने बित्तिकै लगिदिनुहुन्छ सहज भएको छ।’ उनले यस वर्ष गहुँको बिउ मात्रै १ सय ६० क्वीन्टल बिक्री गरेका छन्। साढे तीन बिघामा धानको बिउ लगाउँदै आएका छन्।  

पटीहानीकै मथुरा महत्तो धान, गहुँ, तोरीको बिउ उत्पादन गर्दछन्। उनले यस वर्ष धानको बिउ ३७ र गहुँको बिउ २७ क्वीटल बिक्री गरे तर मल, औषधी समयमै उपलब्ध गराउने हो भने उत्पादन अझै बढाउन सकिने धारणा राखे। 

प्रकाशित: ३० असार २०७९ ०३:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App