अर्थ

तार टाँगेको वर्षौं बित्दा पनि छैन बिजुली

जिल्लाको नरहरिनाथ गाउँपालिकाको लालुमा नौ वर्षअघि बिजुलीको पोल पुग्दा स्थानीय कम्ती खुसी भएका थिएनन्।

तार पनि विस्तार भएपछि गाउँमा बिजुली बत्ती बल्ने विश्वासले उनीहरूमा झनै खुसी छाएको थियो। वर्षौंदेखिको अन्धकारबाट मुक्ति पाइने भन्दै उनीहरूमा खुसी छाउनु अस्वाभाविक पनि थिएन। तर अहिलेसम्म बत्ती नबल्दा उनीहरूको आशा निराशामा बदलिएको छ।

नरहरिनाथका धेरैजसो नागरिक अहिले पनि बिजुलीको व्यग्र पर्खाइमा छन्। गाउँपालिकाका लालु, माल्कोट, कोटबाडा, रुप्सा र कुमालगाउँमा बिजुली पोल र तार विस्तार गरेको नौ वर्ष भयो। घरआँगनमा बिजुलीका पोल र तार पुगेको वर्षौं बितिसक्दा पनि घरभित्र भने अझै अँध्यारो रहेको स्थानीय प्रदीप बोहोराले बताए। ‘पहिला गाविसले पूर्वतयारी र योजनाबिना नै हचुवाका भरमा पोल गाडिएका कारण अहिले समस्या भएको हो,’ उनले भने ।

यसैगरी शुभकालिका गाउँपालिका–२ र ३ मा पनि बिजुलीका पोल र तार पुगेको ६ वर्ष भयो बिजुलीका पोल र तार पुगेको वर्षौं हुँदा पनि बिजुली नबलेपछि त्यहाँका स्थानीय पनि नरहरिनाथका झैं निरास छन्। शुभकालिकाका विक्रम रोकायाले गाउँमा बिजुली बत्ती नहुँदा समस्या हुने गरेको बताए। ‘गाउँमा बिजुली पुग्ने अझै टुंगो छैन,’ उनले भने। अहिले साबिकका गाविसहरूमा राष्ट्रिय प्रसारण लाइनका लागि बिजुलीको तार टाँग्ने काम भइरहेको र चारवटा वडामा अहिले पनि विद्युत् नपुगेको गाउँपालिका अध्यक्ष खडान्द्र चौलागाईंले बताए।

विद्युत् वितरण केन्द्र कालिकोटका कार्यालय प्रमुख नारायण पौडेलले कार्यालयमा मिटरको समस्या भएको बताए। प्राधिकरणमा नै मिटर अभाव भएपछि अहिले समस्या भएकोे उनको भनाइ छ। कर्णाली राजमार्ग आसपासको बस्ती सबै गाउँपालिका र नगरपालिकाको सेन्टरसम्म असार मसान्तसम्म बत्ती बाल्नेगरी काम भइरहेको विद्युत् वितरण केन्द्र कालिकोटले जनाएको छ।

प्रकाशित: २८ फाल्गुन २०७८ ०३:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App