अर्थ

विराटनगरमा ट्रेड एक्स्पो हुने

मोरङ व्यापार संघले विराटनगरमा चैतको दोस्रो सातादेखि ट्रेड एक्स्पो आयोजना गर्ने भएको छ।  

मंगलबार मोरङ व्यापार संघले पत्रकार सम्मेलन गर्दै एक्स्पो गर्न लागेको जानकारी गराएको हो। चैत १८ गतेदेखि २६ गतेसम्म अन्तर्राष्ट्रिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो’ को आयोजना गर्ने संघको उपाध्यक्ष तथा एक्स्पोका संयोजक विकासकुमार बेगवानीले बताए।

कोरोना महामारीको लामो प्रभावपछि प्रदेश १ मा सबैभन्दा ठूलो प्रदर्शनी र सम्मेलनको रुपमा मेला सञ्चालन हुन लागेको संघका अध्यक्ष नवीन रिजालले बताउँदै, ‘मेला नयाँ र विद्यमान उत्पादन सेवाहरु प्रदर्शन गर्न, स्वदेशी उत्पादनहरु प्रदर्शन गर्न, बिक्री गर्न र व्यापार तथा लगानीको सम्भावनाबारे छलफल गर्ने उत्कृष्ट थलो हुनेछ।’ मेलामा दर्शकलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारबाट सांस्कृतिक कार्यक्रमका साथै विभिन्न मनोरञ्जनात्मक सामग्री रहेको छ।  

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सम्पदाका नमूनाहरू लण्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट वेसिल आदि एक्स्पोका  मुख्य आकर्षण रहने छन्। अर्को एक्स्पोको आकर्षण जिप लाइन, रिभर्स बन्जी, जिप साइकलिङलगायतका खेलकुदको अनुभव गराइने संयोजक बेगवानीले बताए।  

मेलामा एसीसहितको ८० वटा स्टल, कुलरसहितका ६० स्टल, साधारण  १ सय ६ वटा, अटो स्टल २५ वटा तथा खाद्यान्न स्टल १० वटा हुनेछ। मेलामा ३ लाख बढीले अवलोकन गर्ने र ४५ करोडको कारोबार हुने आयोजकको अपेक्षा गरेको बताइएको छ। एक्स्पो आयोजना गर्न करिब ३ करोड खर्च हुनेछ।

हप्ता दिनसम्म सञ्चालन हुने मेलामा प्रदेश १ सहित छिमेकी मुलक भारतका साथै आन्तरिक पर्यटकहरु मेलामा आउने अपेक्षा गरिएको र यस पटक विगत वर्षहरुमा भन्दा फरक र आकर्षक हुने भएकोले मेला आउने दर्शक बढ्ने अनुमान गरिएको संयोजक बेगवानीले जानकारी दिए।

प्रकाशित: २४ फाल्गुन २०७८ १४:२८ मंगलबार