अर्थ

पोखरा–मुग्लिनः बैकल्पिक सडकलाई पुरै वेवास्ता

दमौली–मुग्लिनको वैकल्पिक बुद्धसिंह मार्ग सुधार्न चाँसो नै भएन

तनहुँको दमौलीदेखि मुग्लिन–नारायणगढ जोड्ने बैकल्पिक बुद्धसिंह मार्ग। फाइल तस्बिरः नागरिक

पृथ्वी राजमार्गको पोखरा–मुग्लिन (९० किमि) सडक बिस्तार हुँदैछ। तनहुँ खण्डमा त बिस्तारको काम सुरु भईसकेको छ। सडक बिस्तार सुरु भएसँगै पोखरा–मुग्लिन आउजाउ झन्झटयुक्त हुनेमा कुनै द्विविधा छैन। सामान्य अवस्थामा पोखरा–मुग्लिन तीनघण्टामा पार गर्न सकिने भएपनि बिस्तार सुरु भएपछि यो खण्डको यात्रामा ढिलाई हुन थालिसकेको छ।  

पृथ्वी राजमार्गको दमौली–मुग्लिन खण्डको विकल्पमा सहीद बुद्धसिंह मार्ग छ। तर, यो मार्ग बिस्तार र सुधार्नमा कहिल्यै चाँसो दिइएन। त्यसको परिणाम सडक बिस्तारको क्रममा दमौली–मुग्लिन खण्डमा यात्रा गर्दा यात्रुले झन्झट खेप्नुपर्नेछ। राजमार्ग बिस्तारको क्रममा निम्तिने झन्झट सुरु भईसकेको छ।

सहीद बुद्धसिंह मार्गको झडै डेढदशक अघि नै ट्रयाक खुलेको हो । यो सडकले तनहुँ सदरमुकाम दमौलीलाई घुमाउनेमा जोड्छ। दमौलीदेखि घुमाउनेसम्म ३२ किलोमिटर दूरी पर्छ। घुमाउनेमा त्रिशुलीमाथिकोे झोलुंगे पुल तरेपछि मुग्लिन–नारायणगढ सडक भेटिन्छ। घुमाउने मुग्लिनबाट १३ किलोमिटर अगाडि (नारायणगढतर्फ) पर्छ। अहिले काठमाडौंबाट आएका गाडी पृथ्वी राजमार्ग हुँदै दमौली आउँदा मुुग्लिनदेखि ४० किलोमिटर दूरी पार गर्नुपर्छ। गण्डकी प्रदेश भित्रिने मुख्य सडक पनि यही नै हो। तर, सहीद बुद्धसिंह मार्ग सहज हुँदाको अवस्थामा नारायणगढतिरबाट आउँदा भने निकै नै छोटो पर्छ।  

सहीद बुद्धसिंह मार्ग उपभोक्ता समितिका पूर्व अध्यक्ष विश्वराज बाँस्तोला भन्छन, ‘काठमाडौंबाट आउँदा मुुग्लिनदेखि घुमाउनेसम्म (१३ किमि) बढी दूरी पर्ने हो। नत्र नारायणगढतिरबाट आएका गाडीलाई भने बुद्धसिंह मार्ग छोटो पर्छ। दमौलीसम्म पुुग्दा करिब २१ किलोमिटर छोटो पर्छ। मुख्य सडकमा लामो समय अवरोध खेप्नुभन्दा केही बढी दुरी पार गरेर यात्रा सहज बनाउनु उपयुक्त हुने उनी बताउँछन्।

‘मुग्लिन–दमौली झन्झटयुक्त र अवरोध हुँदाको अवस्थामा सहीद बुद्धसिंह मार्ग निकै नै गजबको विकल्प हो। तर, बुद्धसिंह मार्ग सुधार्नमा कहिल्यै चाँसो दिइएन,’ उनले भने, ‘बुद्धसिंह मार्ग सुधारेर मात्र मुग्लिन–दमौली बिस्तार गरेको भए आउजाउमा सहज हुन्थ्यो। सडक बिस्तारको काम पनि छिटो हुन्थ्यो। तर, विकल्प बिना काम थालिएको छ । त्यसको मार यात्रुले भोग्नुपर्ने निश्चित छ।’

बाँस्तोलाका अनुसार बुद्धसिंह मार्गको ट्रयाक खुलेसँगै नाली, कल्भर्ट बनाउने र ग्राभेल समेत गरिएको थियो। तर, पोहोर र परारको बाढीले धेरैतिर बिगारेको छ। त्यस्तै सराङघाटका क्रसरको कारण पनि सडक क्षतविक्षत छ। ‘सडक सहज हुँदा हामी दमौलीबाट ४५ मिनेटमा घुमाउने पुुग्थ्यौ । तर, अहिले बढी समय लाग्छ। तर, यो सडक दमौली–मुग्लिनको एकमात्र विकल्प हो,’ उनले भने। अहिले घुमाउनेमा त्रिशुलीमाथि बेलिब्रिज हालेर यो बाटोलाई सुधारेर चलाउने बारे पनि छलफल भईरहेको उनले बताए।  

‘२०७४ को निर्वाचन अघि यो सडकले निकै नै प्राथमिकता पाएको हो। करिब ५० करोड रुपैयाँ खर्च पनि भएको छ। तर, त्यसपछि कसैले वास्ता गरेनन, बाढीपहिरोको चपेटामा प¥यो,’ उनले भने, ‘अहिले मुख्य राजमार्ग बिस्तार गर्ने बेला यसलाई विकल्प दिएको भए यात्रा झन्झटिलो हुँदैनथ्यो, तर, त्यतातर्फ सोचिएन।’  

पूर्व अध्यक्ष बाँस्तोलाका अनुसार ट्रयाक खोल्दा करिब ३ करोड रुपैयाँ खर्च भएको हो। ट्रयाक खुलेपछि  टेण्डर गरेर सबै ठाउँमा आठ मिटर चौडाको नाली बाहेक सडक बनाउँदा करिब ५० करोड रुपैयाँ खर्च भएको थियो। ठाउँठाउँमा कल्भर्ट पनि बनाइएको हो। तर, पछिल्लो पाँचवर्षदेखि पुरै वेवास्ता गरिएको उनले बताए। वैकल्पिक सडक भनिएपनि बुद्धसिंहमा पाँचवटा ठाडा खोला पर्छन।  भूतखोला, बखरखोला र ढाँडखोला ठुला र फराकिला खहरे हुन्। ती खोलामा पुल छैन। छिम्केश्वरीको शिरदेखि ती खोलामा भेलबाढी आउँदा वर्षामा सहज हुँदैन। बखरखोला करिब एकसय मिटर फराकिलो छ। अरु दुुईवटा पनि ठुलै र फराकिला खहरे हुन। तर, बेलिब्रिज हालेर चलाउने हो भने सहज हुने उनले बता ।  

‘तनहुँका लागि मात्र नभई गण्डकी प्रदेशलाई नै तराई जोड्ने छोटो सडक हो, तर, कसैले महत्व बुुझेनन,’ उनले भने। यो सडकलाई सहज बनाउँदा कम्तिमा पाँचठाउँमा बेलिब्रिज हाल्नुपर्छ। त्यसबाहेक घुमाउनेमा पक्कि पुल निर्माणाधिन छ। तर, त्यसको विकल्पमा पनि त्रिशुलीमाथि बेलिब्रिज हालेर सिधै मुग्लिन–नारायणगढ खण्डमा जोडिन सकिने उनले बताए। ‘विकल्प नै नसोचेर हो। नत्र बेलिब्रिज हाल्नु ठुलो कुरा होईन। सरकारले चाहना राख्ने हो भने यो बाटोलाई छिटो गरि संचालन गर्न सकिन्छ,’ उनले भने।  

सहीद बुद्धसिंह मार्गले तीनवटा स्थानीय तहलाई छुन्छ। दमौलीमा ब्यास नगरपालिकाभित्र १४ किलोमिटर पर्छ। बन्दीपुर गाउँपालिकाभित्र ११ र आँबुखैरेनी गाउँपालिकाभित्र ७ किलोमिटर खण्ड पर्छ। आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गीरबहादुर थापा भन्छन, ‘मुग्लिन–पोखरा दुुईवर्षमा बिस्तार सक्ने भनिएपनि यो काम तोकिएको समयमा सकिँदैन। किनकी यहाँ बिस्तार सहज छैन। त्यसैले मुख्य राजमार्ग बिस्तारमा लामो समय लाग्ने हुँदा विकल्पमा बुद्धसिंह मार्गको सुधार आवश्यक छ।’ अहिले त्रिशुलीमाथि घुमाउनेमा पक्कि पुल बनिरहेको र त्यो तत्काल सकिने अवस्था नभएको यहाँ बेलिब्रिज हालेर पनि अस्थायी रुपमा सडक संचालनको आवश्यकता रहेको उनले बताए।

‘बुद्धसिंह बाहेक विकल्प छैन। स्थानीय तहसँग त्यो सडक सुधारको क्षमता छैन। राष्ट्रिय मार्र्ग भएकोले संघीय सरकारले लगानी गर्नुपर्छ,’ उनले भने, ‘मुख्य राजमार्गमा अझै झन्झट नभएकोले कसैले आवाज नउठाएका हुन्। तर, मुख्य राजमार्गको यात्रामा अब सास्ती खेप्नुपर्ने पक्का छ। त्यही भएर विकल्पमा बुद्धसिंह मार्ग संचालन गर्दा उपयुक्त हुन्छ।’ ६ महिनाभित्र आवश्यक बेलिब्रिज बनाएर सडक संचालन गर्न सकिने उनले बताए। ‘अहिलेका लाग दमौलीसम्म पुुगिने उत्तम विकल्प हो। त्यसपछि पनि पृथ्वी राजमार्गलाई छाडेर दमौलीबाट शिशाघाट हुँदै पोखरा पुुग्न सकिन्छ,’ उनले भने, ‘मुख्य सडकको यात्राको झन्झट नहोस भन्ने मात्र हो।’  

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा पनि बुद्धसिंह मार्गले महत्व नपाएको बताउँछन्। ‘यो सडकले कहिल्यै पनि प्राथमिकता पाएन। त्यसको प्रतिफल अब यात्रामा झन्झट आइपर्नेछ,’ उनले भने, ‘बुद्धसिंह मार्गलाई सुधारेर केही ठाउँमा बेलिब्रिज हालेर पृथ्वी राजमार्ग बिस्तार थालेको भए सबैभन्दा उत्तम हुन्थ्यो। तर, त्यो विकल्पमा कसैले सोचेनन।’ अहिले त्रिशुलीमाथि पक्कि पुल बनिरहेपनि त्यसको निर्माण सकिन समय लाग्ने हुँदा त्यसलाई विकल्पमा बेलिब्रिज बनाएर सडक संचालन गर्ने हो भने ठुला गाडी बुद्धसिंहमार्गबाट चलाउँदा मुख्य राजमार्गलाई सहज हुने उनले बताए।  

गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले पनि बुद्धसिंह मार्गलाई गण्डकी प्रदेशको विकल्पको राजमार्ग बनाउने तयारी भएको बताए। उनका अनुसार यही आर्थिक वर्ष बुद्धसिंह मार्ग सुधारका लागि करिब ३० करोड रुपैयाँको टेण्डर आव्हान गरिँदैछ। अर्काेवर्षदेखि बहुवर्षे आयोजना अन्तर्गत निर्माण थालिने उनले बताए। उनका अनुसार बुद्धसिंह मार्ग सुधार गर्न करिब एकअर्ब रुपैयाँको बराबरको लगानी पर्छ।

‘दमौली–मुग्लिनको विकल्पमा बुद्धसिंह मार्ग छ। दमौलीदेखि पोखरासम्म पनि बैकल्पिक सडक प्रयोग गर्दा मुख्य राजमार्ग सुधारमा सहज हुन्छ,’ उनले भने, ‘त्यसका लागि योजना बनिसकेको छ।’ दमौलीदेखि पोखरासम्म आउँदा भने शिशाघाट हुँदै कास्कीको शिशुवा निस्कन सकिन्छ । यो सडक पनि छोटो पर्छ।’ पोखरा–मुुग्लिन बिस्तारलाई सहज र छिटो हुनेगरि विकल्प सोच्नुपरेको उनले बताए।  

पोखरालाई तराई जोड्ने वैकल्पिक मार्ग भन्दै २०४७ सालदेखि बुद्धसिंह मार्गमा ट्रयाक खोल्न थालिएको थियो। झन्डै दशक अघि पुरै ट्रयाक खुलेर सवारी चल्न थालेका थिए। अहिले दमौलीबाट घुमाउनेसम्म दोहोरो सवारी चल्छन। दैनिक करिब एकदर्जन यात्रु बस अहिले घुमाउने र दमौली चल्छन्। दमौली आएका सवारी ५० किलोमिटर गुडेपछि पोखरा पुग्छन्।   

प्रकाशित: ७ फाल्गुन २०७८ १०:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App