अर्थ

पुसमा पनि पुगेन भन्सारको लक्ष्यः गत वर्षभन्दा ४२ करोड कम राजस्व संकलन

विराटनगर भन्सार कार्यालय पुस महिनामा पनि लक्ष्य अनुसार राजस्व असुली गर्न असफल भएको छ। चालु आर्थिक वर्षको साउनदेखि नै लक्ष्य अनुसार राजस्व असुली गर्न असफल भइरहेको विराटनगर भन्सार कार्यालयले पुसमा अन्य महिनाको भन्दा निक्कै कम राजस्व असुली गरेको छ।  

विराटनगर भन्सार कार्यालयका अनुसार पुस महिनामा विराटनगर कार्यालयले लक्ष्यको ७६ प्रतिशत मात्रै राजस्व असुली गरेको छ। पुस महिनालाई ४ अर्ब ३० करोड ५ लाख ६८ हजार रुपैयाँ राजस्वको लक्ष्य पाएकोमा विराटनगर कार्यालयले ३ अर्ब २७ करोड ६१ लाख ७० हजार रुपैयाँ मात्रै राजस्व असुली गरेको छ। जुन गत वर्ष पुस महिनाको तुलतनामासमेत ४२ करोड ६८ लाख ७० हजार रुपैयाँ कम हो। गत वर्ष पुस महिनामा विराटनगर भन्सार कार्यालयले ३ अर्ब ७० करोड ३० लाख ४० हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। जोगवनी नजिकैको मिरगञ्ज पुल भासिएपछि विराटनगर नाकाको आयात निर्यात नै प्रभावित बनेको विराटनगर भन्सार कार्यालयका प्रवक्ता रामचन्द्र ढुंगानाले बताए।

उनका अनुसार मीरगञ्ज पुल भासिएपछि विराटनगर नाकाबाट हुने आयात निर्यात डाइभर्ट गरेर भीमनगर/भाण्टावारी नाकाबाट सुचारु गराइए पनि आयात –निर्यात घटेको छ। विराटनगर नाकाबाट आयात–निर्यात गर्दै आएका व्यवसायीहरू अन्य नाकाबाट मालसामान आयात–निर्यात गर्न थालेपछि विराटनगर भन्सार कार्यालयको राजस्वसमेत प्रभावित भएको प्रबक्ता ढुंगानाले बताए। उनले भने, ‘पुल भासिएपछि विराटनगर नाकाको आयात/निर्यात निक्कै प्रभावित भएको छ।’ पुस महिनामा मात्रै हैन माघ महिनामा पनि विराटनगर भन्सार कार्यालयको राजस्व प्रभावित हुने उनले जानकारी दिए।

दैनिक १४/१५ करोड रुपैयाँ राजस्व संकलन हुँदै आएको विराटनगर भन्सार कार्यालयमा हाल दैनिक २ देखि ७ करोड रुपैयाँसम्म मात्रै राजस्व संकलन भइरहेको छ।  त्यसो त नियमित अवस्थामा पनि विराटनगर भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकिरहेको थिएन। मंसिरमा विराटनगर भन्सार कार्यालयलाई ४ अर्ब १७ करोड ५६ लाख ३६ हजार रुपैयाँ लक्ष्य तोकिएकोमा ३ अर्ब ९४ करोड ४० लाख ७४ हजार रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो। त्यसो त विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि नै लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन। विराटनगर भन्सार कार्यालयका अनुसार साउन महिनामा ३ अर्ब ४३ करोड ९१ लाख ६१ हजार राजस्व लक्ष्य तोकिए पनि विराटनगर भन्सार कार्यालयले ३ अर्ब ३४ करोड ९६ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।  

यस्तै भदौ महिनामा ४ अर्ब १६ करोड ८ लाख ८१ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य तोकिएकोमा विराटनगर भन्सार कार्यालयले ३ अर्ब ८६ करोड ९७ लाख १३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। असोज महिनामा ४ अर्ब ९ करोड ४७ लाख २८ हजार लक्ष्य तोकिएकोमा ३ अर्ब ७९ करोड २४ लाख १९ हजार  रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ। यस्तै कात्तिक महिनामा ४ अर्ब २३ करोड २३ लाख २५ हजार रुपैयाँ लक्ष्य तोकिएकोमा ३ अर्ब ५६ करोड ५ लाख १२ हजार रुपैयाँ मात्रै राजस्व असुली गरेको छ।

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउन देखि नै लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन। साउन महिनामा लक्ष्यको ९६.५६ प्रतिशत, भदौमा ९३,असोजमा ९२.६२कात्तिकमा ८४.१३, मंसिरमा ९४.४६ प्रतिशत र पुसमा ७६.१८ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ।

विराटनगर नाकाबाट मोटरसाईकल, पेट्रोलियम पदार्थ, तयारी कपडा, पोलिथिन दाना, एलपी ग्याँस, स्ट्रिल वायर रड, एसएम विलेट, सुर्यमुखिको कच्चा तेल, भटमासको कच्चा तेल, पामको कच्चातेल लगायतका बस्तुहरू धेरै मात्रामा आयात हुने गरेका छन्। यस्तै भटमासको प्रशोधित तेल, प्रशोधित पाम तेल, जुटबाट वुनिएका कपडा, सेन्थेटिक यार्न, कपडा, जुटको बोरालगायतका बस्तुहरू निर्यात हुने गरेका छन्।

प्रकाशित: १० माघ २०७८ १३:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App