अर्थ

पर्यटन क्षेत्रका मजदुर भन्छन् : पर्यटनको टुंगो भएन, खेतीपातीमा लाग्यौं

पदयात्रामा रहेका पर्यटन मजदुर । तस्बिर सौजन्यः विजय केसी

सनकुमार जुग्जाली ¥याफ्टिङ गाइड हुन् । पर्यटनमा उनको संलग्नता झन्डै दुईदशकदेखि छ । लामो समयको ¥याफ्टिङ अनुभव भएपनि पछिल्लो समय उनी पदयात्रा क्षेत्रमा पनि सक्रिय थिए । म्याग्दीको मालिका गाउँपालिका घर भएका उनी परिवारसहित पोखरामा डेरा बस्दै आएका छन् । उनकी श्रीमति पनि पदयात्रा गाइड हुन् ।  

कोरोना कहर सुरु हुनु अघि जुग्जालीका पतिपत्नी नै पर्यटन क्षेत्रमा सक्रिय थिए । दुवैजनाको मेहनतले कमाई पनि राम्रै थियो । तर, कोरोनाका कारण एकवर्षदेखि उनको परिवार पुरै बेरोजगार बनेको छ । ‘एकवर्ष भयो पुरै बेरोजगार बनेको, अब त कहिले काम पाइने भन्ने टुंगो छैन,’ जुग्जालीले भने, ‘यस्तै अवस्था रहिरह्यो भने अबका २–३ महिनापछि घर फर्किनुको विकल्प छैन ।’ जुग्जालीका अनुसार दुवैजना पर्यटन क्षेत्रमा लागेकोले पहिलेको केही आम्दानी बचत थियो । त्यही बचत रकमले अहिले घरखर्च धानेको उनले बताए ।  

‘बुढाबुढी नै काममा रहेकोले केही बचत थियो । त्यो बचतले एकवर्ष बढि धानिसक्यो । अब धान्ने अवस्था छैन,’ उनले भने, ‘तत्काल काम पाउने अवस्था रहेन । अझै २–३ महिना पर्खिन्छौ, त्यो बेलासम्म पनि कामको टुंगो लागेन भने घर फर्किनुको विकल्प हुँदैन ।’ एकवर्ष देखि पुरै घरमै बस्नुपर्दाको छटपटि भनिसाध्य नहुने उनले बताए ।

‘पर्यटनमा काम गरेको अनुभवका कारण गाउँ फर्केर पनि खेतीकिसानी बाहेक अरु केही हुँदैन । खेती किसानी पनि गर्न सकस छ,’ उनले भने, ‘जानेको काम वर्षदिनदेखि रोकियो । अहिले कष्टका साथ दिन बिताउनुपरेको छ ।’ पोखरामा रहँदाको यो अवधिमा नयाँ काम पाउने सम्भावना नरहेको उनले बताए । ‘ज्यालामजदुरी काम पनि पाउन कठिन छ । त्यो क्षेत्रमा पनि त काम जानिएको छैन, कतै चिनजान छैन,’ जुग्जालीले भने, ‘जानेको काम रोकियो, अरु काम खोज्दा हामीलाई पत्याउँदैनन । सबै काम सिकेर दक्ष बन्न पनि सकिन्न ।’

शालिकराम तिमिल्सेना ट्रेकिङ गाइड हुन । तिमिल्सेनाको घर भने पोखराकै सराङकोटमा पर्छ । पोखराको मुख्य बजारबाट उनको घर झन्डै १० किलोमिटर टाढा छ । बजारमा डेरा भएपनि कोरोना अघि पनि तिमिल्सेनाको अधिक बसाई गाउँकै घरमा हुन्थ्यो । कोरोनाको कहर सुरु भएपछि  तिमिल्सेना अहिले पूर्ण रुपमा सराङकोटको पुख्र्याैली घरमै बसिरहेका छन् । उनी विगत ६ वर्षेखि पर्यटन क्षेत्रमा सक्रिय थिए ।

‘पर्यटनमा लागेका कारण घरको खेतबारीले स्याहारसुसार पाएको थिएन । फेवाफाँटको खेत पनि अधिया दिइन्थ्यो । बारी बाझो थियो,’ उनले भने, ‘अब खेत आफै रोप्ने हो, बाझो बारीमा मर्कै रोप्ने हो ।’ पर्यटनमा अझै केहीवर्ष अनिश्चित भएकोले पनि अहिले नै कृषिकर्ममा फर्किएको उनले बताए । ‘म पर्यटनमा हुँदा घरको काम हुन सकेको थिएन । आफुलाई भने पदयात्रामै लत बसेकाले खेतबारीले स्यारसुसार पाएको थिएन । खेतबारी नै बाझिने अवस्था आएको थियो,’ उनले भने ।

तिमिल्सेनाले घर फर्केर खेतबारी मात्र स्याहारेका छैनन कि बाख्रापालन पनि थालेका छन । यसअघि घरमा भैसी मात्र थियो, अहिले बाख्रा पनि पालन सुरु गरेको उनले बताए । ‘पोहोरसम्म भैसी मात्र पालेका थियौ । अहिले त खोरमा सातवटा बाख्रा छन । अब खेतीपाति सँगै पशुपालन पनि सुरु नगरी सुखै छैन,’ उनले भने, ‘पर्यटन क्षेत्र अनिश्चको भूमरीमा परेको छ । नेपाल खुलेर मात्र हामीले काम पाउँदैनौ, जबसम्म विदेशी पाहुना आउन थाल्दैनन, हाम्रो काम छैन ।’

उनका अनुसार अहिले पर्यटन क्षेत्रमा कार्यरत धेरै मजदुर बेरोजगार भएपछि घर फर्केका छन् । अधिकांशले पेशा परिर्वतन गरेका छन । खेतीपाति र पशु्पालनमा अधिकांश भुलेका छन । अहिले पेशा परिर्वतन गरेका ती मजदुरलाई अब पर्यटनमा फर्काउन पनि सहज नहुने उनले बताए ।

पर्यटन मजदुर संगठन (युनिट्राभ) का गण्डकी अध्यक्ष विजय केसी पनि अधिक मजदुर बेरोजगार भएपछि पुख्र्याैली घर फर्केर खेतीपाति सम्हालेको बताउँछन । धेरैजसो बजारबाट बाहिरिएको उनले बताए । ‘पर्यटनमा कार्यरत धेरै मजदुरले पोखराको डेराडण्डा छाडिसके । केहीले पहिल्यैदेखि सानोतिनो व्यापार गरेको हुँदा उनीहरु जसोतसो अडिएका छन,’ केसीले भने, ‘तर, बजारमा व्यवसाय गरेपनि उनीहरुको बसाई सकसपूर्ण छ ।’  

पर्यटन क्षेत्रबाट बाहिरिएका ती मजदुरमध्ये केही निर्माणको काममा संलग्न छन् । कोरोनाले एकवर्षदेखि मजदुरलाई बेरोजगार बनाएपनि होटल र रेस्टुरेन्टमा कार्यरत थोरैमात्र कामदार बीचमा काममा फर्केका थिए । काममा पर्केका उनीहरु पनि लामो समय टिक्ने अवस्था नहुँदा अहिले घर फर्किनुको विकल्प नभएको उनले सुनाए । ‘होटल, रेस्टुरेन्ट खुलेपनि सानो संख्यामा मात्र कामदार काममा फर्केका थिए । तर, अहिले उनीहरु पनि बिस्थापित भईसकेका छन,’ उनले भने ।  

केसीका अनुसार पर्यटन क्षेत्रबाट बिस्थापित भएका कामदार अब पर्यटन क्षेत्रमा फर्किने सम्भावना छैन । यो अप्ठेरो कहिलेसम्म भन्ने निश्चित नहुँदा पनि तत्काल काममा फर्किने आँट मजदुरमा नभएको उनले सुनाए । ‘नेपालमा सहज भएर मात्र हुँदैन, अन्तर्राष्ट्रिय बजार नखुलेसम्म पर्यटन मजदुरले काम पाउँदैनन,’ उनले भने ।  

पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटाका अनुसार गण्डकीको पर्यटन क्षेमा कार्यरत कामदारको संख्या ७५ हजार हाराहारीमा छ । ती मध्ये सबैभन्दा बढी होटल र रेस्टुरेन्टमा कार्यरत थिए । त्यसपछि पदयात्रा र यातायात क्षेत्रमा काम गर्ने अधिक छन् । होटलमा धेरै संख्यामा पूर्णकालिन कामदार कार्यरत छन् । पदयात्रा, ¥याफ्टिङ, ट्राभल लगायतका क्षेत्रमा भने पूर्णकालिन कम थिए । ‘एकवर्ष भन्दा बढी समय भयो बेरोजगार बनेको, अब पर्यटनमा फर्किहाल्ने माहोल छैन,’ सापकोटाले भने, ‘होटल तथा रेस्टुरेन्टमा काम गर्ने उच्चतहका कर्मचारी त केही बजारमै छन । तर, तल्लोतहमा कार्यरत भने बिस्थापित भईसके ।’

बिस्थापित मजदुर कृषि सहित घरायसी काममा व्यस्त भएको उनले बताए । बीचमा होटल र रेस्टुरेन्ट खुल्दा केही मजदुरले आंशिक काम पाएपनि अहिले उनीहरु पनि रोकिएको सापकोटाको भनाई छ । ‘कतिपय विदेश जान पाए हुन्थ्यो भन्ने अवस्थामा छन । ठुला संस्थामा कार्यरत उच्च तहका कामदार पर्ख र हेरको अवस्थामा छन । रेस्टुरेन्ट, पदयात्रा, सवारी लगायतमा कार्यरत सहयोगी अहिले घरमै छन,’ सापकोटाले भने, ‘तल्लो वर्गको मजदुर पुरै बिस्थापित भए । अधिकांश घर फर्के भने उनीहरुले पेशा पनि परिवर्तन गरे ।’  

कोरोना कहर कम हुँदा बीचमा झन्डै २५ प्रतिशत कामदार काममा फर्केपनि अब अनिश्चित भएपछि उनीहरु पनि बेरोजगार बनेको उनले बताए । ‘बिस्थापित कामदारलाई विकास निर्माणमा लगाउने,  भत्ता दिएर भएपनि तालिम दिलाउने, पर्यटकीय सम्पदा, पदयात्रा रुट संरक्षण र मर्मतसम्भारमा खटाउने हो भने  मजदुरलाई बचाउन सकिन्छ,’ उनले भने, ‘मजदुरलाई होल्ड गर्नका लागि राज्यले नीति बनाउनुपर्छ ।’

प्रकाशित: १२ जेष्ठ २०७८ ११:३१ बुधबार

पर्यटन मजदुर