कृषिजन्य वस्तुको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले नेपालको माटो र हावापानी सुहाउँदो हुने गरी विभिन्न बालीका २५ जातको उन्मोचन तथा सूचीकरण गरेको छ। लामो अध्ययन, अनुसन्धान गरेर हरेक वर्ष नयाँनयाँ जात तयार गर्दै आएको नार्कले यो वर्ष धान, मकै, गहुँ, फापर, गोलभेंडा लगायत बालीका १५ नयाँ जात उन्मोचन गरेको हो।
उन्मोचन भनेको नार्कका वैज्ञानिकहरूले अनुसन्धान गरेर पत्ता लगाएको बीउको नयाँ जात हो। बालीका १० जात सूचीकृत पनि गरेको छ। माटोको अवस्था तथा हावापानी अनुसार २५ जातको उन्मोचन तथा सूचीकरण गरेको नार्कका कार्यकारी निर्देशक दीपक भण्डारीले बताए। भण्डारीका अनुसार बाली सहित पशुपन्छी र मत्स्यपालन क्षेत्रमा बोयर बाख्रा, जापनिज तथा चिनियाँ ट्राउट माछा, पंगास माछाको प्रविधि विकास गरिएको छ।
‘किसानका लागि उपयोगी प्रविधि वकास गरिएको हो,’ भण्डारीले भने, ‘माटोको अवस्था तथा हावापानी अनुसार बालीको विकास गरिएको हो।’ खाद्य तथा पोषण सुरक्षाको बढ्दो चुनौती र अकासिँदो खाद्यान्न आयातलाई सम्बोधन गर्न वर्णशंकर लगायत विभिन्न जातको अनुसन्धान गरेको भण्डारीले बताए।
राष्ट्रिय बीउबिजन समितिले नयाँ जात अनुमोदन गरिसकेको छ। नार्कले बालीका १० वटा जात सूचीकृत गरेको छ। धान, अलैंची, उखु, कोदो, लट्टे, चिनो, कागुनो, रायो, सिमी, घिउसिमी पञ्जीकरण गरेको नार्कले जनाएको छ। नार्कले विदेशबाट आयात हुने हाइब्रिउ बीउ नेपालको हावापानी तथा माटो सुहाउँदो छ÷छैन भन्ने आफ्नै फार्ममा प्रयोग गरेर सूचीकृत गर्ने गर्छ।
नार्कको राष्ट्रिय बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रले गहुँ बालीका विभिन्न नयाँ जात तयार गरेको छ। मकैबालीमा मनकामना–९ जातको नयाँ बीउ उन्मोचन भएको छ । यो मकै आठ सय मिटरदेखि १८ सय मिटर उचाइको हावापानीका लागि उपयुक्त छ। त्यसैगरी, मकैका तीते फापर–१ र तीते फापर–२ जात पनि सिफारिस गरिएको छ। धानबालीका एमपी आर ५०५, टिएमआर एच १२४, २७ पी १२, एमपी ३०३०, एरिज ए जेठ ६६३३ एसटी पञ्जीकरण गरेको नार्कले जनाएको छ। गोलभेंडाको नयाँ जात खुमल श्रेष्ठ एफ–१ र खुमल गौतम एफ–१ जातका हाइब्रिड सिफारिस गरिएको छ।
तराई र भित्री मधेसका लागि गहुँका विभिन्न जात सिफारिस गरिएको छ। जिंक गहुँ–१, जिंक गहुँ–२ र बोलोग–२०२० जात रहेका छन्। नार्कले ५४ वटा जात सूचीकृत गरेकोमा यो वर्ष केही थप जात अनुमोदन गरेको हो। समुद्री सतहबाट एक हजार मिटरदेखि २२ सय ९० मिटर उचाइसम्मका मध्य र उच्च पहाडी क्षेत्रका लागि सुर्मा, १७ सय मिटरदेखि २२ सय ९० मिटर उचाइसम्मका उच्च पहाडी क्षेत्रका लागि मुडुले–१, एक हजार मिटरदेखि २२ सय ९० मिटर उचाइसम्मको मध्य तथा उच्च पहाडी क्षेत्रका लागि कौटिला, १७ सय मिटरदेखि २२ सय ९० मिटर उचाइसम्मका उच्च पहाडी क्षेत्रका लागि तिला जात सिफारिस गरेको नार्कले जनाएको छ।
उखुका जितपुर–५, जितपुर–६ र जितपुर–७ पनि नार्कले पञ्जीकरण गरेको छ। उसले अहिलेसम्म ६ दर्जनभन्दा बढी बालीका पौने आठ सय जात सूचीकृत गरेको छ। विदेशमा विकास भएका हाइब्रिउ बीउलाई नार्कले यहाँ परीक्षण गरेपछि मात्र सूचीकरण गर्छ। नेपालमा छिमेकी मुलुक भारत, चीन, थाइल्यान्ड, कोरिया लगायत मुलुकमा विकास भएका विभिन्न बालीका हाइब्रिड बीउ ल्याइन्छ। यहाँ आएका ती हाइब्रिड बीउ नार्कले परीक्षण गरेर सूचीकृत गर्छ।
नार्कले शनिवार ३०औं वार्षिकोत्सव मनाएको छ। कृषि क्षेत्रलाई आवश्यक प्रविधि तथा गुणस्तरीय बीउको विकास गरी भरपर्दो आधार प्रदान गर्न नार्कले सहयोग गरेको कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले बताइन्। ‘अत्याधुनिक कृषि प्रविधिको विकास एवं सिफारिस गर्न राष्ट्रले नार्कलाई महत्वपूर्ण जिम्मेवारी दिएको छ,’ मन्त्री अर्यालले भनिन्, ‘राष्ट्रिय आवश्यकता र दायित्वलाई नार्कले पूरा गर्नेछ।’ १५औं योजना र दीर्घकालीन सोच मार्फत नेपाललाई विकासशील, मध्यम आयस्तरको मुुलुकमा पु¥याउन कृषि क्षेत्रको महत्वपूर्ण भूमिका हुने भन्दै त्यसका लागि नार्कले सघाउनुपर्ने मन्त्री अर्यालले बताइन्।
नार्कले उच्चस्तरको प्रविधिको विकास गरेको कृषि मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले बताए। कृषिको व्यावसायिकीकरण र आधुनिकीकरण गर्न नार्कले सहयोग पु¥याएको सचिव कार्कीले बताए। ‘नार्कले अझ प्रभावकारी र परिणामुखी अनुसन्धान प्रणाली विकास गर्नुपर्छ,’ कार्कीले भने, ‘कृषि प्रविधिको विकास र विस्तारलाई प्राथमिकतामा राख्नुपर्छ।’ घट्दो खेतीयोग्य जमिन र कृषि क्षेत्रमा संलग्न हुने श्रम, कोभिड–१९ ले कृषि क्षेत्रमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गरी कृषि क्षेत्रलाई पुनर्जीवित गराउन नार्कले प्रविधिको विकास गर्नुपर्ने सचिव कार्कीले बताए।
प्रकाशित: २६ वैशाख २०७८ ०३:०७ आइतबार