अर्थ

कोरोनाका नाममा लुटः सामानै नकिनी खर्च विवरण

घोराही उपमहानगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा २०७७ असारसम्म क्वारेन्टिन व्यवस्थापनमा भएको खर्च विवरण पठायो। क्वारेन्टिन निर्माण र क्वारेन्टिनमा प्रयोग हुने सामग्री खरिद शीर्षकमा उपमहानगरले २२ लाख ३४ हजार एक सय ३९ रूपैयाँ खर्च भएको विवरण मन्त्रालमा पेस गरेको छ। यसैगरी, क्वारेन्टिनमा बसेकाको खाना/खाजामा चार लाख ४२ हजार चार सय ६ रूपैयाँ खर्च भएको विवरण मन्त्रालयमा पेस भएको छ। उपमहानगरले यो अवधिसम्म २३ सय ११ जना क्वारेन्टिनमा बसेको उल्लेख गरेको छ।  

उपमहानगरले भवन निर्माण गरेको वा पाल किनेको पनि उल्लेख गरेको छ। त्यसैगरी झुल, तन्ना, खाट, इलेक्ट्रिक सामान र बिछ्यौना खरिद गरेको प्रतिवेदनमा उल्लेख छ। क्वारेन्टिनमा बसेकालाई टुथपेस्ट, ब्रस, तौलिया चप्पल लगायत किनेको भनिएको छ। उपमहानगरले तयार पारेको प्रतिवेदन अनुसार यसको कुल लागत २२ लाख ३४ हजार एक सय ३९ रूपैयाँ छ।  

वडा तहमा क्वारेन्टिन व्यवस्थापन गरेका वडाहरूका अनुसार उपमहानगरले किन्दै नकिनेको सामान किनेको देखाएर विवरण संघीय सरकारलाई पठाएको हो। खाना खर्च भनिएको साढे चार लाख रूपैयाँ त सरासर झुटो छ। सम्बन्धित वडाका अनुसार उपमहानगरले कुनै पनि वडाका क्वारेन्टिनमा बसेकालाई खाना खुवाएको छैन। उपमहानगरले सुत्नका लागि जनही एक–एकवटा म्याट, तन्ना र झुल दिएको थियो। तीबाहेक उपमहानगरले किनेको भनिएको सामान फर्जी हो।

घोराही–३ मा ५ वटा क्वारेन्टिन थिए। पाँचवटैमा बसेकालाई खाना उनीहरूकै परिवारले खुवाए। यो वडाका अध्यक्ष माधव चौधरी भन्छन्, ‘उपमहानगरले वडामा खाना, खाजा बापत केही पठाएको छैन।’

वडाले स्थानीयसँग चन्दा मागेर केही दिन खानाको मेस चलाएको चौधरीले बताए। ‘हामीले केही क्वारेन्टिनमा स्थानीयसँग माना चामल सहयोग मागेर मेस चलाएका थियौं,’ उनले भने, ‘तर अधिकांशका आफन्तले नै खाना र खाजाको व्यवस्था गरेका थिए।’  

त्यसैगरी, उपमहानगरपालिकाले उल्लेख गरेको टुथपेस्ट, तौलिया, चप्पल, सुत्ने खाट यो वडामा खरिद भएकै छैन। ‘हामीले हात धुने साबुन भने किनिदिएका हौं, त्यो पनि यो रकम वडाकै हो,’ उनले भने, ‘चप्पल, तौलिया, खाट, टुथपेस्ट ब्रस केही पनि किनिएको होइन।’  

उनका अनुसार उपमहानगरपालिकाले यो वडालाई प्रतिव्यक्ति सुत्नका लागि एउटा म्याट, एउटा तन्ना र एउटा झुल मात्रै दिएको थियो। ‘यसबाहेक उपमहानगरले अरू केही दिएको छैन, ढाँटेर के गर्नु ?’ वडा अध्यक्ष चौधरीले भने।  

उपमहानगरको ४ नम्बर वडामा चलेका चारवटा क्वारेन्टिनमा बसेकालाई वडाले स्थानीयसँग सहयोग उठाएर खानाको व्यवस्था गरेको थियो। तर उपमहानगरले संघीय मन्त्रालयमा विवरण पठाउँदा आफूले खर्च गरेको देखाएको छ। यस वडाका अध्यक्ष भक्तबहादुर सार्कीले उपमहानगरपालिकाबाट खाद्यान्न सहयोगै नभएको बताए। ‘हामीले स्थानीयसँग सहयोग मागेर खानपिनको व्यवस्था गरिदिएका हौं,’ उनले भने, ‘उपमहानगरले खाद्यान्नका एक दाना अन्न पनि सहयोग गरेको छैन।’  

यो वडाले पनि उपमहानगरपालिकाबाट पाएको भनेको एक–एक थान म्याट, तन्ना र झुल मात्रै हो। ‘यी तीन चिजबाहेक उपमहानगरपालिकाबाट केही आएको छैन,’ उनले भने, ‘तौलिया, ब्रस मन्जन, चप्पल केही पनि आएका छैनन्।’

वडा नम्बर ५ का अध्यक्ष बिष्णुमणि दाहालले पनि एक–एकवटा तन्ना, म्याट र झुल बाहेक अन्य सहयोग उपमहानगरबाट नभएको बताए। यहाँ सञ्चालित ६ वटा क्वारेन्टिनमा बसेकालाई उनीहरूकै परिवारले खाना ख्वाएको पनि उनले जानकारी दिए।  

वडा नम्बर १५ ले भने क्वारेन्टिनमा बसेका सबैलाई खानाको व्यवस्था गरेको थियो। एउटा मात्रै क्वारेन्टिन रहेको यो वडाले दाताको सहयोगमा खानाको व्यवस्था गरेको हो। उपमहानगरले यो वडामा पनि खाना, खाजा दिएको उल्लेख गरेको छ। ‘उपमहानगरबाट खाद्यान्नका लागि सहयोग भएकै छैन,’ वडाअध्यक्ष रमेशकुमार पाण्डेले भने, ‘विभिन्न दाता गुहारेर मेस चलाएका थियौं।’ यहाँ पनि जनही एकएक थान तन्ना, झुल र म्याट मात्रै उपमहानगरबाट आएको छ। ‘खोइ ! उपमहानगरले यी सामग्री किनेर कहाँ प्रयोग ग¥यो ?’ पाण्डेले भने, ‘क्वारेन्टिनका लागि त कुनै पनि वडाले यो सहयोग पाएकै छैनन्।’

उपमहानगरका वडा नम्बर ६, ७ र ८ का अध्यक्षहरूको भनाइले पनि उपमहानगरको खर्च दाबीलाई झुटो साबित गर्छ। वडा नम्बर ६ का अध्यक्ष रेबबहादुर बुढाथोकीका अनुसार यो वडामा सञ्चालित नौवटा क्वारेन्टिनमा बसेकालाई उपमहानगरले एक छाक खाजा पनि खुवाएको छैन। अध्यक्ष बुढाथोकीले भने, ‘टुथपेस्ट, ब्रस, चप्पल, तौलिया, पलङ केही पनि पठाएको छैन।’

वडा नम्बर ७ का अध्यक्ष खोपीराम चौधरीले पनि क्वारेन्टिनमा बसेकालाई खाना परिवारले नै ल्याएको बताए। यो वडामा सञ्चालित तीनवटा क्वारेन्टिनमध्ये कुनैमा पनि उपमहानगरले भनेजस्तो सामान खरिद भएन। चारवटा क्वारेन्टिन सञ्चालन गरेको वडा नम्बर ८ पनि अन्त दिएर सरहबाहेक थप सामान नआएको वडाअध्यक्ष चन्द्रप्रसाद चौधरीले भने।

उपमहानगरले केही वडामा भने बिजुली र पानीको व्यवस्था गरिदिएको थियो। वडा नम्बर ९ का अध्यक्ष मानबहादुर बस्नेतले बिजुली नभएका क्वारेन्टिनमा बत्ती, पंखा र पानी तताउने भाँडा उपमहानगरले दिएको बताए। अन्यत्र जस्तै म्याट, झुल र तन्ना यो वडाले पनि पाएको छ। खाना, खाजा खर्च र अन्य सामग्री भने केही नआएको उनले जानकारी दिए।  

उपमहानगरले गर्दै नगरेका कामको प्रतिवेदन किन तयार पार्‍यो त ? उपमहानगरको स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीको भनाइलाई आधार मान्ने हो भने उसले मन्त्रालयमा बुझाएको प्रतिवेदन झुटो हो। खर्च कागजमा मात्रै छ, व्यवहारमा भएको छैन। जबकि मन्त्रालयमा पठाइएको प्रतिवेदन प्रमाणित गरेर हस्ताक्षर गर्ने उनै घर्ती पनि हुन्। उनले पनि उपमहानगरमा सञ्चालित क्वारेन्टिनमा जनही एकएकवटा म्याट, तन्ना र झुल दिएको बताए। बिजुली र पंखा नभएको ठाउँमा त्यसको व्यवस्थापन भयो। पानी नभएका क्वारेन्टिनमा पानी दिइयो। तौलिया, चप्पल, टुथपेस्ट, ब्रस, पलङ लगायत वस्तु उपमहानगरले सहयोग नगरेको उनले बताए। ‘यी वस्तु उपमहानगरले पठाएको होइन,’ आफैंले हस्ताक्षर प्रमाणित गरेको उपमहानगरको प्रतिवेदनलाई गलत साबित गर्दै उनले भने, ‘हामीले पठाएको म्याट, तन्ना र झुल हो। यसबाहेक कतै बिजुली विस्तरा, पंखा, पिउने पानीको व्यवस्था र भवन मर्मत गरिएको हो।’  

उपमहानगरले खाना र खाजाको व्यवस्था कुनै पनि क्वारेन्टिनमा नगरेको उनले बताए। ‘कतै वडाहरू आफैंले सहयोग उठाएर मेस चलाए भने अधिकांशका परिवारले नै खाना खुवाए,’ उनले भने।  

आर्थिक वर्ष ०७७/०७८ मा थप साढे तीन लाख झुटो खर्च

आर्थिक वर्ष ०७६/०७७ मा क्वारेन्टिन व्यवस्थापनमा झुटो खर्च विवरण पठाएको उपमहानगरले आर्थिक वर्ष ०७७/०७८ को पहिलो चौमासिकमा खरिदै नगरिएका सामग्री खरिद गरेको भनेर तीन लाख ३८ हजार नौ सय चार रूपैयाँ खर्च विवरण मन्त्रालयमा पेस गरेको छ। यो आर्थिक वर्षमा यो रकम क्वारेनिटन निर्माण, क्वारेन्टिनमा चाहिने सामग्री खरिद टुथपेस्ट, ब्रस, तौलिया, चप्पल लगायत सामग्री खरिदसँगै खाना, खाजामा यो रकम खर्च भएको देखाइएको छ। 

प्रकाशित: ३ चैत्र २०७७ ०५:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App