अर्थ

दुई देशबीचको व्यापारलाई सहज बनाउन सडक स्तरोन्नति

नेपाल–चीनबीच स्थलमार्गबाट हुने आयात निर्यातलाई सहज बनाउन निर्मित मैलुङ–स्याफ्रु सडकखण्डको स्तरोन्नतिको कामले गति लिएको छ। नेपाली सेनाले निर्माण गरेर हस्तान्तरण गरेको यो सडकको स्तरोन्नतिको काम गत कात्तिकदेखि सुरु भएको थियो। स्तरोन्नति सुरु भएको छोटो समयमै सोचेभन्दा राम्रो प्रगति भएको छ।  

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाका अनुसार अहिले सडक चौडा बनाउने कामले तीव्रता पाएको छ। मैलुङदेखि स्याफ्रुबेंसीको दूरी १९ किलोमिटर रहेको छ। जसमा १४ किलोमिटर सडकखण्ड चौडा बनाउने काम सकिएको छ। बाँकी ५ किलोमिटर रक क्षेत्र भएकाले केही समय लाग्ने देखिएको छ। सडकखण्डमा नाला बनाउने तथा टेवा पर्खाल लगाउने काम भइरहेको छ।  

मैलुङ स्याफ्रु सडकखण्डमा अहिले काम गर्न कुनै पनि समस्या नआएको भए पनि बर्खाको समयमा प्राकृतिक प्रकोपले समस्या सिर्जना गर्न सक्ने योजना प्रमुख नारायणदत्त भण्डारीले बताए। ‘अहिले सडकखण्डमा स्तरोन्नतिको काममा कुनै पनि समस्या आएको छैन,’ उनले भने, ‘तर बर्खाको समयमा समस्या आउन सक्छ।’ यो सडकखण्डमा ठाडो खोल्सा धेरै भएकाले सडकमा क्षति पुर्‍याउने सम्भावना छ। दोस्रो खण्डको रूपमा रहेको यो सडकको स्तरोन्नतिको काम २०७९ माघमा सकाउने लक्ष्य राखिएको छ।  

समयअगावै निर्माण सम्पन्न गर्नेगरी स्तरोन्नतिको कामलाई अघि बढाइएको योजना प्रमुख भण्डारीले बताए। ‘निर्धारित समयअघि नै काम सम्पन्न गर्नका लागि निर्माण पक्षलाई सहजीकरण गर्ने तथा प्रतिबद्धता गर्न लगाउने काम गरेका छौं,’ उनले भने, ‘अहिलेको गतिमा काम हुन सके लक्ष्य पूरा हुनेछ।’ नेपाल–चीनबीच हुने व्यापारलाई सहज एवं दिगो बनाउन निर्माण गरिएको सडक भएकाले सबैको चासो रहेको र सोहीअनुसार ठेकेदारलाई ताकेता गर्ने, अनुगमन गर्नेलगायत काम भइरहेको उनले बताए।  

यो आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त सडक आयोजना हो। यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ। बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ। बेत्रावती–मैलुङ–स्याफ्रुबेंसीको दूरी २९ किलोमिटर मात्रै छ। पासाङल्हामु मार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नुपर्ने भए पनि यो सडकमा एउटा पनि घुम्ती रहेको छैन। गल्छीदेखि रसुवागढीसम्म पुग्न ८२ किलोमिटर दूरी पार गर्नुपर्छ। बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेंसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भए पनि मैलुङतर्फबाट हिँड्न कुनै पनि घुम्ती पार गर्नुपर्दैन।

प्रकाशित: ९ फाल्गुन २०७७ ०२:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App