दुई सातादेखि पुनःसञ्चालनमा आएको उत्तरको मुख्य तातोपानी नाकाबाट पर्याप्त सामाग्री भित्रिन सकेका छैनन्। बर्खाको बाढीपहिरो र कोरोना संक्रमणको कहरका कारण साढे तीन महिनाभन्दा बढी समय बन्द भएको नाका कात्तिक १४ बाट सञ्चालनमा आएको थियो।
तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले नाका सञ्चालनमा आएको १२ दिनमा २३ चिनियाँ कन्टेनर सामाग्री आयात भएको बताए। ‘यो भनेको ४६ नेपाली कन्टेनर बराबर सामाग्री हो,’ उनले नागरिकसँग भने। कोरोना भाइसको संक्रमण फैलने डरले चीनले पर्याप्त सामाग्री नपठाएको भन्सार अधिकारी बताउँछन्।
चिनियाँ पक्षले दैनिक दुई कन्टेनर (नेपाली चार कन्टेनर) सामाग्री मात्र नाका पठाइ रहेको प्रमुख खत्रीले जानकारी दिए। ‘चिनियाँ पक्षले पर्याप्त सामाग्री पठाउन मानिरहेको छैन,’ उनी भन्छन्, ‘दैनिक धेरैभन्दा धेरै सामाग्री पठाउन निरन्तर दबाब बढाइ रहेका छौँ।’ नाकामा कोरोना संक्रमण रोक्ने कडा शर्तमा चीनले नाका खुलाएको थियो।
भन्सार अधिकारीहरुका अनुसार धेरै सामाग्री पठाउँदा नाकामा मजदुर र व्यवसायीको भिड तथा गतिबिधि बढ्न गइ संक्रमण फैलने डर चिनियाँ पक्षलाई छ। चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमण त्यहाँ भने नियन्त्रणमा आइसकेको छ। छिमेकी नेपालमा कोरोनाले माहामारीको रुप लिइ रहेका बेला नाकामा गतिबिधि बढ्न नदिन चीन सचेत छ। कोरोना संक्रमण रोक्ने शर्तमा गत असोज १९ गते सञ्चालनमा आएकै दिन नाका बन्द गरिएको थियो। सात नेपाली मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि चीनले सञ्चालनको २४ घण्टा नबित्दै एक पक्षीय रुपमा नाका बन्द गरेको थियो।
नाका पुनः सञ्चालनमा आएयता चीनले कोरोनाका कारण नौ महिनादेखि तिब्बती भूमिमा रोकिएका सामाग्री मात्र पठाइ रहेको छ। तातोपानी–खासा नाका तर्फको तिब्बती भूमिमा मात्र नेपाली व्यवसायीका सात–आठ सय कन्टेनर सामाग्री रोकिएको अनुमान गरिँदै आएको छ। रोकिएका कन्टेनरमा गर्मी मौसमका सामाग्री छन्। आगामी डिसेम्बर अन्तिमसम्म रोकिएका सबै सामाग्री नेपाल पठाउने बातावरण बनाइरहेको जानकारी चिनियाँ अधिकारीले दिएको भन्सार प्रमुख खत्रीले बताए।
रोकिएका सामाग्री नै आउन समय लाग्ने भएपछि व्यवसायीले चाडबाड र जाडो लक्षित सामान अर्डर गर्न सकेका छैनन्। ‘रोकिएका समाग्री लामो समयदेखि ल्याउन नसक्दा हामी ठूलो मारमा परिसकेका छौँ,’ आयातकर्ता रहेका सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठ भन्छन्, ‘त्यहीँमाथि नयाँ सामाग्री अर्डर गरेर थप जोखिम उठाउन चाहँदैनौँ।’
छिटोभन्दा छिटो रोकिएका सामाग्री नेपाल भिœयाउनु पर्नेमा उनले जोड दिए। सुख्खा बन्दरगाह भन्सारले पनि अहिल्यै तातोपानी नाकाबाट आयात गर्ने गरी नयाँ सामाग्री अर्डर नगर्न र सामान ल्याउनै पर्ने भएमा अन्य नाका प्रयोग गर्न व्यवसायीलाई आग्रह गरेको छ। भन्सार प्रमुख खत्रीसमेत यो नाकाबाट तत्काल नयाँ सामाग्री ल्याउने अवस्था नरहेको बताउँछन्।
प्राकृतिक बिपत्ति, बाढीपहिरो र कोरोना महामारीका कारण उत्तरतर्फको सबैभन्दा ठूलो तातोपानी नाकाको पहिचान र अस्तित्व संकटमा परेको छ। लगातारको बन्दका कारण तातोपानी छोटीभन्सार नाका जस्तै भएर खुम्चिएको छ। २०७२ वैशाख १२ गतेको बिनासकारी भूकम्पपछि यो नाका साढे चार वर्ष ठप्प भयो। गत वर्षको जेठबाट नाका सञ्चालनमा आए पनि १० महिना नचल्दै कोरोनाका कारण बन्द हुन पुग्यो। स्वास्थ्य सामाग्री आयात गर्न गत बैशाखमा नाका सञ्चालनमा ल्याइयो। बन्द भएको तीन महिनापछि खुलेको नाका नेपालतर्फको बाढी पहिरोले पुनः असार २५ गतेदेखि ठप्प भयो। त्यसको साढे तीन महिनासम्म कोरोनालाई कारण देखाउँदै चीनले नाका खुलाउन आलटाल गर्दै आयो।
दैनिक सय कन्टेरसम्म सामाग्री आयात हुने यो नाका पाँच वर्षको अन्तरालमा दुई कन्टेनरमा झरेको छ। भन्सार तथ्यांकअनुसार भूकम्पअघि यो नाकाबाट दैनिक ६० देखि एक सय कन्टेर सामाग्री आयात हुन्थे। बार्षिक २० अर्वको कारोबार (आयात÷निर्यात) हुँदा राज्यले पाँच अर्व रुपैयाँ राजस्व संकलन गथ्र्यो। कोरोनाका कारण नाका बन्द हुनुअघिसम्म पनि दैनिक १५–२० कन्टेनर सामाग्री भित्रिन्थे।
कोरोनालाई कारण देखाउँदै चीनले फेरि जतिबेला पनि नाका बन्द गर्न सक्नेमा भन्सार अधिकारी संबेदनशील छन्। भन्सार प्रमुख खत्री कडाई साथ स्वास्थ्य मापदण्ड पालनामा प्रतिबद्ध रहेको बताउँछन्। उनका अनुसार चीनबाट आउने सामान पूरानो भन्सार कार्यालयमा बनाइएको आइसोलेसन स्पेसमा राखेपछि मात्र नेपालतर्फको प्रशासनिक प्रक्रिया सुरु हुन्छ। चिनियाँ कन्टेनर सिधै सामाग्री लिएर आइसोलेसन स्पेससम्म पुग्छन्। कोरोना संक्रमण नभएको रिपोर्टकार्ड भएका नेपाल मजदुरले मात्र ती सामाग्री नेपाली कन्टेनरमा लोड गरेर सुख्खा बन्दरगाह ल्याइ पु¥याउँछन्। ‘सामाग्री लोड÷अनलोड गर्ने त्यस्ता २३ मजदुर समूहको हरेक पाँच दिनमा पिसिआर परीक्षण गरिरहेका छौँ,’ संक्रमणकै कारण पुनः नाका बन्द नहोस् भन्नेमा आफूहरु सचेत रहेको बताउँदै प्रमुख खत्रीले भने।
प्रकाशित: २६ कार्तिक २०७७ ०४:३७ बुधबार