अर्थ

सेयर निष्कासन प्रक्रिया अघि बढाउन प्रस्ताव

कोभिड–१९ को कारण रोकिएको सेयर निष्कासन प्रक्रिया अघि बढाउन जलविद्युत् कम्पनीहरूले प्रस्ताव गरेका छन् । रसुवागढी र सान्जेन जलविद्युत् कम्पनी लिमिटेडले जिल्लाबासीका लागि निष्कासन प्रक्रिया अघि बढाउने प्रस्ताव गरेका हुन् ।  

जिल्ला समन्वय समिति रसुवाले आयोजना गरेको वार्षिक समीक्षा तथा जिल्ला सभामा सान्जेन जलविद्युत् कम्पनी लिमिटेडका कार्यकारी निर्देशक किरण कुमार श्रेष्ठले सेयर निष्कासनको प्रस्ताव गरेका थिए । उनले आवेदन दिने समयसीमा बढी राखेर सेयर निष्कासन गर्न प्रस्ताव गर्दै यसका लागि आवश्यक समन्वय गरिदिन जिल्ला समन्वय समितिलाई आग्रह गरे । अहिले प्रक्रिया अघि बढाए पनि सबै पूरा गरेर सेयर निष्कासन गर्न कम्तीमा ६ महिना लाग्ने भएकाले प्रस्ताव गरिएको कम्पनीहरूले जनाएका छन् ।  यी दुवै कम्पनीले यसअघि नै सेयर निष्कासन प्रक्रिया अघि बढाएका थिए । पछि कोभिड–१९ का कारण प्रक्रिया रोकिएको हो । जिल्लाबासीका लागि रसुवागढीले ६८ लाख ४२ हजार सय कित्ता र सान्जेनले ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीले पहिले नै सेयर निष्कासनका लागि प्रभावितको वर्गीकरण गरिसकेको छ ।

प्रकाशित: २१ आश्विन २०७७ ०४:१८ बुधबार

जलविद्युत् कम्पनी सेयर निष्कासन