कोरोना महामारीका कारण वाणिज्य बैंकहरूले लगानी गरेको ५१ अर्ब ७५ करोड रूपैयाँ उठाउन सकस परेको छ। यो कर्जा सरकारी र निजी क्षेत्रका सबै वाणिज्य बैंकले लगानी गरेका हुन्।
बैंकहरूले लगानी गरेको साँवा र ब्याज असारमा उठिसक्नुपर्ने थियो। तर कोरोना महामारीका कारण उठाउन समस्या परेको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए। बैंकहरूले उठाउने साँवाको किस्ता र ब्याज अघिल्लो वर्ष भन्दा साढे चार गुणाले बढी भएको उनले बताए।
अघिल्लो वर्षको असार मसान्तमा यसरी उठ्नुपर्ने रकम ११ अर्ब ४७ करोड रूपैयाँ थियो। कोरोना महामारीले व्यवसायमा असर परेपछि नेपाल राष्ट्र बैंकले साँवा र ब्याज तिर्ने समय असोज मसान्तसम्म सारेको छ। अझै पनि कोरोना महामारी नियन्त्रणमा आइनसकेकाले उद्योगी, व्यवसायीले कर्जा भुक्तानीको अवधि थप गर्न माग गरिरहेका छन्। असोज मसान्तमा पनि कर्जा नउठ्ने हो भने बैंक तथा वित्तीय संस्थाको आर्थिक अवस्था झनै समस्यामा पर्ने बैंकका सिइओहरू बताउँछन्।
असारसम्मको विवरणका आधारमा सबभन्दा बढी किस्ता र ब्याज सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले उठाउन बाँकी छ। उक्त बैंक एक्लैले लगानी गरेको साँवा र ब्याज गरी १३ अर्ब १८ करोड रूपैयाँ उठाउन बाँकी छ। अघिल्लो आर्थिक वर्ष उक्त बैंकको एक अर्ब ८३ करोड रूपैयाँ उठाउन बाँकी थियो।
त्यस्तै, नेपाल बैंक पनि साँवा र ब्याज असुली गर्न धेरै बाँकी रहनेमा छ। त्यस बैंकले कर्जामा रहेको सावाँ र ब्याजमध्ये असारसम्म ६ अर्ब १४ करोड रूपैयाँ उठाउन बाँकी छ। अघिल्लो आर्थिक वर्ष उक्त बैंकको २५ करोड रूपैयाँ मात्र उठाउन बाँकी थियो।
बैंकहरूले नाफा गर्ने प्रमुख हिस्सा ब्याजबाट आउने आम्दानी हो। आर्थिक वर्ष ०७५÷७६ मा सबै बैंकले तीन खर्ब चार अर्ब रूपैयाँ ब्याज आम्दानी गरेका थिए। त्यतिखेर उनीहरूको खर्च एक खर्ब ७७ अर्ब रूपैयाँ थियो भने बाँकी सबै खुद नाफा हो।
राष्ट्र बैंकले असारसम्म उठ्नुपर्ने ब्याज असोज मसान्तसम्म उठेमा असारको लेखांकन गर्ने सुविधा भने दिएको छ। असोज मसान्तसम्म कर्जा किस्ता उठेमा भने बैंकहरूको आम्दानी वृद्धि हुनसक्छ। तर बैंकर र व्यवसायी राष्ट्र बैंकको व्यवस्था अनुसार असोज मसान्तसम्म सबै किस्ता उठ्ने सम्भावना निकै कम छ।
असोज महिनासम्म साँवा र ब्याज नउठेमा बैंकहरूको नाफा प्रभावित हुन्छ। बैंकले उठाउनुपर्ने ब्याज नउठे पनि निक्षेपकर्तालाई दिनुपर्ने ब्याज भने दिनुपर्छ। जसका कारण ब्याजबाट प्राप्त हुने आम्दानी घट्ने तर खर्च भने बढी हुने बैंकरको भनाइ छ।
खराब कर्जा ३७ प्रतिशतले बढ्यो
त्यस्तै, कोरोना महामारीले बैंकहरूको खराब कर्जा पनि बढाएको छ। यतिखेर खराब कर्जा ३७.९७ प्रतिशतले बढेको छ।
वाणिज्य बैंकहरूले लगानी गरेका कर्जामध्ये गत आर्थिक वर्ष खराब कर्जाको अंश ५० अर्ब ३५ करोड रूपैयाँ पुगेको हो। गत वर्ष बैंकहरूले २८ खर्ब ८८ अर्ब ३९ करोड रूपैयाँ कर्जा लगानी गरेका थिए। बैंकहरूको कुल ऋणमध्ये गत वर्ष १३ अर्ब ८६ करोड रूपैयाँ खराब कर्जामा जोडिन पुगेको हो। आर्थिक वर्ष ०७५/७६ सम्म सबै बैंकको खराब कर्जा ३६ अर्ब ४९ करोड रूपैयाँ थियो।
आर्थिक वर्ष ०७६÷७७ मा २७ मध्ये २२ वाणिज्य बैंकको खराब कर्जा बढेको छ। त्यस अवधिमा सबैभन्दा बढी एनएमबि बैंकको १.८६ प्रतिशतले र सबैभन्दा थोरै सिभिल बैंकको ०.०१ प्रतिशतले खराब कर्जा बढेको वित्तीय विवरणमा उल्लेख छ। हिमालयन, लक्ष्मी, नेपाल र कृषि विकास बैंकले अघिल्लो वर्षको तुलनामा गतवर्ष खराब कर्जा केही घटाएका छन्।
तर हालसम्मको विवरण जोड्दा सबैभन्दा बढी खराब कर्जा राष्ट्रिय वाणिज्य बैंकको छ। उक्त बैंकले गत वर्षसम्म गरेको कुल लगानीमध्ये खराब कर्जाको अंश ४.०८ प्रतिशत छ। हालसम्म उक्त बैंकले एक खर्ब ५५ अर्ब २६ करोड रूपैयाँ कर्जा लगानी गरेकोमा खराब कर्जा ६ अर्ब ३३ करोड ४८ लाख रूपैयाँ
पुगेको छ।
बैंकले निश्चित समयका लागि दिएको कर्जा समयमा उठाउन सकेनन् भने त्यस्तो ऋणलाई खराब कर्जा भनिन्छ। निश्चित समयभित्र भुक्तान गर्ने गरी बैंक तथा वित्तीय संस्थाले ऋणीलाई कर्जा उपलब्ध गराएका हुन्छन्। ऋणीले निर्धारित समयमा कर्जा चुक्ता नगरी थप तीन महिना गुजारेपछि त्यस्तो ऋणलाई खराब कर्जामा गणना गर्न गरिन्छ। बैंकहरूको पाँच प्रतिशतभन्दा बढी लगानी खराब कर्जामा रूपान्तरण हुन पुगेमा जोखिमपूर्ण अवस्था मानिन्छ। बैंकले कर्जा उठाउन नसक्दा त्यसको असर नाफामा पर्छ। खराब कर्जाको दर बढ्न गयो भने अन्ततः वित्तीय संस्था नै समस्याग्रस्त बन्ने गर्छन्।
प्रकाशित: १९ आश्विन २०७७ ०१:४४ सोमबार