धादिङ - धादिङको नीलकण्ठ नगरपालिका वडा नं १२ दामगाडे बतासेका महिला च्याउखेतीतर्फ आकर्षित भएका छन्। च्याउखेतीबाट राम्रो आम्दानी हुन थालेपछि धादिङका महिला सामूहिक खेतीतर्फ आकर्षित भएका हुन्।
घरकै काममा सीमित रहने महिला सहकारीमार्फत च्याउखेतीतर्फ लागेका हुन्। पहिलो पटक सुरु गरिएको च्याउखेती व्यावसायीक रुपमा चल्न थालेपछि स्थानीय महिला दंग छन्। बजारमा च्याउको माग बढेसँगै महिला अर्गानिक च्याउ उत्पादनमा लाग्न थालेका हुन्। तरकारीमा विषादी प्रयोगका कारण जनस्वास्थ्यमा विभिन्न समस्या उत्पन्न हुन थालेपछि किसान अर्गानिक उत्पादनमा लागेको नीलकण्ठ नगरपालिका वडा नं १२ बतासेकी शुसिला कुमालले बताइन्। ‘पहिले घरको काममा नै सीमित थियौं, अहिले च्याउखेतीमा लागेका छौं,’ उनले भनिन्, ‘अर्गानिक रुपमा उत्पादन गरिएको च्याउ प्रतिकिलो दुई सय रुपैयाँमा स्थानीयस्तरमा बिक्री हुन थालेपछि च्याउको माग बढेको छ।
महिला किसानको आर्थिक र सामाजिक स्तर वृद्धि गर्ने उद्देश्यले स्थापित साङकोष महिला कृषि सहकारीमा आवद्ध महिलाले पहिलो पटक व्यवसायिक रुपमा च्याउखेती सुरु गरेका हुन्। पहिले घरघरमा महिलाले घरायसी प्रयोगजनका लागि आफूले खान मात्र थोरै खेती गर्दै आएकामा अहिले व्यावसायिक उत्पादन थालेका हुन्। राम्रो बजार र अत्याधिक माग हुने भएकाले लामगाडेका महिलाले यसलाई राम्रो आम्दानीको स्रोत बनाउन थालेका छन्। च्याउखेती गर्न कृषि ज्ञान केन्द्र धादिङले महिलालाई तालिम प्रदान गरेको थियो। तालिमपछि गाउँका एक–दुई महिलाले मात्र च्याउखेती गरेका थिए। अहिले समुदायका महिलासमेत सामूहिक रुपमा च्याउखेती गर्न उत्साहित भएका छन्। आफ्नो आयस्रोत नहुँदा अरुसँग सापटी मागेर भए पनि दैनिक आवश्यकता पूरा गर्दै आएका महिलाले अहिले आफैं कमाउन थालेको कुमालले बताइन्। ‘गाउँमा सञ्चालन गरिएको कृषि सहकारीमा आबद्ध भएर च्याउखेती गर्न पाएका छौं,’ उनले भने, ‘आम्दानीबाट दैनिक घरखर्च टार्न सहयोग गर्छ, अरुको भर परिरहनु पर्दैन।
कृषिसम्बन्धी सब ज्ञान नभए पनि गाउँका केही महिलाले तालिम लिएकै भरमा अन्य महिलालाई पनि समेटेर सामूहिक रुपमा च्याउखेती गरिरहेका छन्। च्याउखेतीका लागि घर बनाउने, पराल काट्ने, पराल उसिन्ने, सिलिन्डर बनाउने, झुन्ड्याउने, च्याउको बीउ राख्ने, बिक्री गर्ने काम सबै समूहकै सदस्य मिलेर गर्ने गरेका छन्। पुसदेखि सुरु गरेको कन्ने च्याउखेतीबाट राम्रो आम्दानी लिएका छन्। उत्पादन गरे अनुसारको बजार व्यवस्थापन हुन सके यो पेसाप्रति अरु महिला पनि आत्मनिर्भर हुने अर्का किसान सानुमाया राउतले बताए। ‘सुरुसुरुमा बजार व्यवस्थापन नभए पनि च्याउ लिन ग्राहक घरमै आउने गर्छन्,’ उनले भनिन्, ‘हामीले उत्पादन गरेअनुसार स्थानीय तहले बजार व्यवस्थापन गरिदिए आम्दानी बढ्ने थियो।’ यसरी समूहमा मिलेर काम गर्दा दुःखसुख एकापसमा साटासाट हुने र आम्दानी पनि लिन सकिने उनले बताइन्।
दामगाडे र आँगेटारी दुई स्थानमा टनेल बनाएर च्याउखेती गरिएकामा दामगाडेको टनेलमा मात्रै दुई सय असी वटा बलमा च्याउ लगाइएको छ। प्रतिकिलो च्याउ फर्मबाटै दुई सय ७० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। सांकोषका महिलाजस्तै जिल्लाभर १० भन्दा बढी महिला कृषि सहकारीले सामूहिक रुपमा च्याउखेती गरेर मनग्य आम्दानी लिइरहेका छन्। यसरी आम्दानी हुने पैसाले घरव्यवहार टार्नेदेखि ग्रामीण महिलाको शसक्तीकरण तथा विकासमा खर्चने बताए। सांकोष महिला कृषि सहकारी संस्थाकी अध्यक्ष पम्फा नेपालीले सहकारीमा आबद्ध महिलालाई व्यावसायिक कृषिका माध्यमबाट आत्मनिर्भर गराउन च्याउखेती सुरु गरिएको बताइन्। ‘लगानी गर्न नसक्ने गरिब र पिछडिएका समुदायका किसानलाई कृषि सहकारीमार्फत लगानीसमेत गरिन्छ,’ उनले भनिन्, ‘सानो लगानी र थोरै परिश्रममा च्याउखेतीबाट राम्रो आम्दानी हुन थालेपछि महिलाको उत्साह छुट्टै छ।
घरमा बसीबसी च्याउखेतीबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरण सांकोषका महिला बनेका छन्। आफूसँग भएको सीपको सदुपयोग गर्ने हो भने र सीप सिक्ने हो भने कमाउन बाहिर जानु नपर्ने महिलाले बताए। सबै महिला समूहमार्फत काम गर्न थालेपछि छिटो पनि हुने र कमाइ पनि राम्रो हुने उनीहरुको भनाइ छ। च्याउखेती व्यवसायमा मात्र राम्रो नभई स्वास्थ्यका लागि पनि धेरै फाइदाजनक हुने गर्छ। त्यसैले मासुको भन्दा च्याउको माग बढी हुने गर्छ।
प्रकाशित: ४ फाल्गुन २०७६ ०२:४२ आइतबार