अर्थ

उद्योग वाणिज्य संघ पाल्पाको अध्यक्षमा पुनःमहर्जन

पाल्पा– पाल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा होटल व्यवसायी राजु महर्जन निर्विरोध निर्वाचित भएका छन्। आगामी तीन वर्षको नेतृत्वका लागि संघका पूर्वअध्यक्ष रहेका राजु महर्जन अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृत जीवनबहादुर थापाले बताए।

यस्तै उद्योग उपाध्यक्षमा भीमबहादुर श्रेष्ठ निर्विरोध निर्वाचित भए। वाणिज्य उपाध्यक्षमा भएको निर्वाचनमा निवर्तमान महासचिव यादवसिंह कार्की विजयी भए। शनिबार भएको मतदानमा प्रतिस्पर्धी दिपक प्रसाद पाण्डेलाई ७५ मतअन्तरले पराजित गर्दै कार्की उपाध्यक्षमा निर्वाचित भएका हुन्। 

मतदानमा कुल ६ सय ५२ मत खसेकोमा कार्कीको पक्षमा ३ सय ५९ र पाण्डेको पक्षमा २ सय ८४ मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अन्य मत बदर भएको थियो। पाल्पा उद्योग वाणिज्य संघको १५ औं अधिवेशनबाट समितिले पूर्णता पाउँदा लोकतान्त्रिक प्यानलकै दुई उम्मेदवार चुनावमा होमिएका थिए। अध्यक्षको दौडमा प्रतिस्पर्धि रहेका निवर्तमान अध्यक्ष मोहनप्रसाद श्रेष्ठ र निवर्तमान उपाध्यक्ष शैलेन्द्र भट्टराईबीच सहमती नबनेपछि लोकतान्त्रिक प्यानलबाट महर्जनलाई सर्वसम्मत बनाईएको थियो। महर्जन गौरीशंकर गेष्ट हाउसका सञ्चालक हुन्।

यस्तै उपाध्यक्षका प्रतिस्पर्धी भट्टराई कार्की निवर्तमान महासचिव र पाण्डे निवर्तमान कोषाध्यक्ष हुन्। वाणिज्य उपाध्यक्षका अर्का उम्मेदवार रामप्रसाद श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका थिए। उद्योग उपाध्यक्षका लागि उम्मेदवारी दिएका उत्तमकुमार बज्राचार्य र प्रकाश कार्कीले उम्मेदवारी फिर्ता लिईसकेपछि उद्योग उपाध्यक्षमा पनि सर्वसम्मत भएको हो।

संघमा वाणिज्यतर्फ ८ सय ४, उद्योगमा १ सय ५३, एशोसियटतर्फ १५ र वस्तुगत २ जना सदस्य छन्। कुल २५ पदका लागि हुने निर्वाचनमा क्षेत्र नं. ३, क्षेत्र नं. ७, क्षेत्र नं. १० र क्षेत्र नं. १३ को सदस्यका लागि निर्वाचन भएको थियो। जसबाट क्षेत्र नं. ३ मा नरेन्द्र अमात्य र नित्यानन्द पोखरेल, क्षेत्र ७ मा रफिमिया र सुरेन्द्र कर्माचार्य, १० मा सुरेश गोदार र क्षेत्र नं. १३ मा निर्वाचित भएको निर्वाचन अधिकृत थापाले बताए।

प्रकाशित: २४ कार्तिक २०७६ ०९:२२ आइतबार

उद्योग_वाणिज्य_संघ निर्वाचन