अर्थ

ऊर्जामा सहकार्य गर्न नेपाल–चीन सहमत

काठमाडौं - ऊर्जा क्षेत्रको विकासका लागि सहकार्य गर्न नेपाल र चीनका जलस्रोत अधिकारी सहमत भएका छन्। दुवै देशका उच्च अधिकारीबीच शुक्रबार भएको संयुक्त बैठकमा ऊर्जा क्षेत्रको विकासका लागि चीनले आफ्ना तर्फबाट सहयोेग गर्ने प्रतिबद्धता व्यक्त गरेको विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहले बताए। ‘पहिले योजना बनाउने र त्यसपछि कार्यान्वयनमा जाने सहमति भएको छ,’ बैठकमा भएको प्रगतिबारे उनले नागरिकसँग भने, ‘पहिलो चरणमा ६ वटाजति आयोजना छनोट गर्ने र त्यसमध्ये उपयुक्त ठहरिएका दुईटामा लगानी गर्ने इच्छा प्रकट गरेका छन्।’ आयोजना निर्माणका लागि लाग्ने रकमको जोही उनीहरुले नै गर्ने कुरा भएको महानिर्देशक सिंहले बताए।

बैठकमा ऊर्जाक्षेत्रमा दुवै देशले हासिल गरेको प्रगति, ऊर्जा क्षेत्रको वर्तमान अवस्था, लगानीको सम्भावना, ऊर्जाको खपत, बजारको अवस्था, आगामी दिनका योजनालगायतका विषयमा छलफल भएको थियो।

अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणको सम्भावना र लगानीका सम्बन्धमा समेत छलफल भएको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ । बैठकमा चीनका नौ र नेपालका सात अधिकारी सहभागी थिए। बैठकमा नेपाली टोलीको नेतृत्व ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव अनुपकुमार उपाध्याय र चिनियाँ टोलीको नेतृत्व नेसनल इनर्जी एडमिनिस्ट्रेसन, इन्टरनेसनल कर्पोरेसन डिपार्टमेन्टका उपमहानिर्देशक हे याङले गरेका थिए। लगानीका विविध पक्षबारे छलफल गरी सहकार्यका साथ अघि बढ्ने सहमति भएको बैठकमा सहभागी सहसचिव दिनेशकुमार घिमिरेले जानकारी दिए।

नेपाल र चीनका उच्च अधिकारी सम्मिलित संयन्त्रको यो पहिलो बैठक हो। नेपाल–भारत र नेपाल–बंगालदेशबीच ऊर्जा क्षेत्रको विकासका लागि सयुक्त संयन्त्र बने पनि नेपाल–चीनबीच यसअघि यस्तो संयन्त्र बनेको थिएन। ‘संयन्त्रको निर्माणले नेपाल–चीनबीचको ग्याप कम गर्न सघाउनेछ,’ महानिर्देशक सिंहले भने, ‘ऊर्जा विकासका लागि बाटो खुलेको छ ।’ संयुक्त कमिटी निर्माण गर्ने, आयोजना छनोट गर्ने, त्यसपछि प्राविधिक समितिले उपयुक्त आयोजना छनोट गर्ने, लगानीका लागि चिनियाँ पक्षले आर्थिक स्रोत जुटाउनेसम्मको काम गर्न चिनियाँ पक्ष सहमत भएको उनले जानकारी दिए।

गत असारमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको सहमतिअनुसार बैठक आयोजना गरिएको मन्त्रालयको भनाइ छ । सोही भ्रमणका क्रममा ऊर्जामन्त्री वर्षमान पुन र उनका चिनियाँ समकक्षीबीच ऊर्जाक्षेत्रमा सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको थियो। असोज ३ गते ऊर्जामन्त्री पुन र नेपालका लागि चिनियाँ राजदूत यू होङबीच भेटवार्ता भएको थियो। उक्त अवसरमा ऊर्जा क्षेत्रमा सहकार्य र द्विपक्षीय हितबारे छलफल भएको थियो।

प्रकाशित: १३ आश्विन २०७५ ०२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App