अर्घाखाँचीको पाणिनी गाउँपालिका सुन्तला खेतीका लागि देशमै प्रसिद्ध नाम हो। पुस, माघ र फागुन महिना यहाँका किसानलाई सुन्तला टिप्न भ्याइनभ्याई हुन्छ। सुन्तला टिप्ने, दाना छाँट्ने, क्यारेटमा राख्ने र गाडीसम्म पुर्याउने कामले उनीहरूलाई बोल्ने फुर्सदसम्म छैन।
पाणिनी गाउँपालिका वडा नम्बर–१ की शान्ता गौतमले सुन्तलाका तीन सय बोट हुर्काएकी छिन्। यो वर्ष राम्रो फलेकाले उनले आठ लाख रुपैयाँको सुन्तला बेचिन्। वडा नम्बर १ की वडासदस्य तथा कार्यपालिका सदस्यसमेत रहेकी गौतमलाई अहिले सुन्तलाले व्यस्त बनाएको छ। एक्लै सम्भव नभएपछि तीनजना खेताला खोजेर उनले काम गरिरहेकी छिन्।
‘पदमा बसेपछि कहिले कार्यपालिका बैठक हुन्छ। कहिले वडामा बैठक हुन्छ,’ उनले भनिन्, ‘यता घरमै सुन्तला टिप्न भ्याइनभ्याई छ, कता कता जानु?’ यहाँबाट लोड भएका सुन्तला बुटवल, चितवन, हेटौंडा र काठमाडौंसम्म पुग्छन्। कृषक खगेन्द्रप्रसाद पौडेलका अनुसार सुन्तला लिन घर आँगनमै गाडी आउँछ। बुटवल, चितवनका अलावा हेटौंडा र काठमाडौंसम्म सुन्तला पुग्ने गर्छ। माग धेरै नै भए पनि उत्पादन गर्न नसकिएको र बिचौलियाहरू हावी हुँदा कृषक ठगिएको उनको भनाइ छ। बिचौलियाको चंगुलबाट छुटाउन सके कृषकले अझ नाफा कमाउन सक्ने उनले बताए।
पाणिनीमा सबैभन्दा धेरै सुन्तला बेच्ने खगेन्द्रप्रसाद पौडेल, बालकृष्ण भट्टराई, रेवती पौडेल, चिरञ्जीवी पौडेल हुन्। उनीहरूले १८ देखि २५ लाख रूपैयाँसम्मको सुन्तला बेच्छन्। पाणिनी गाउँपालिका वडा नम्बर–१, सिम्ले, वडा नम्बर–२ पोखराथोक, वडा नम्बर–४ पटौटी र वडा नम्बर–५ मैदानमा पनि सुन्तला उत्पादन हुने गर्दछ। पाणिनी गाउँपालिकासँगै मालारानी गाउँपालिका, छत्रदेव गाउँपालिकाका विभिन्न स्थानमा सुन्तला खेती हुँदै आएको छ।
अर्घाखाँचीमा गत वर्ष २५ करोड रुपैयाँको सुन्तला उत्पादन भएको थियो। यसवर्ष भने अझै सुन्तला बिक्री हुन बाँकी रहेकाले सबै विवरण आउन नसकेको कृषि ज्ञान केन्द्र अर्घाखाँचीले जनाएको छ। यद्यपि गत वर्षभन्दा केही बढी रकमको सुन्तला बिक्री हुने ज्ञान केन्द्रका प्रमुख बुद्धिराज घिमिरेले बताए।
बाध्यता र रहरले रोजगारीमा गएका युवाहरू पनि विदेशबाट फर्किएर व्यावसायिक सुन्तला खेतीमा लागेका छन्। वैदेशिक रोजगारीमा गएर पसिना बगाउनुभन्दा आफ्नै क्षेत्रमा परिश्रम गरेर आम्दानी गर्न सकिने यहाँका किसानहरूको धारणा छ।
सिम्लेका ५२ घरमा पाँच करोडका सुन्तला
पाल्पाको सिमानासँग जोडिएको पाणिनी गाउँपालिका–१ मा पर्ने सिम्ले गाउँमा मात्र पाँच करोडका सुन्तला बिक्री हुन्छन्। अन्य परम्परागत खेती छाडेर सुन्तला खेती गरेका सिम्लेका किसानको वर्षदिनको खेतीपाती स्याहार्ने बेला यही हो। सिम्लेका ५२ घरपरिवारले व्यावसायिक सुन्तला खेती गरिरहेका छन्। सुन्तला बगैंचा विस्तार, मलजल र राम्रो मौसमका कारण सिम्ले गाउँमा मात्र अहिले गत वर्षभन्दा धेरै सुन्तला उत्पादन भएको किसानले बताएका छन्। ‘अहिले असिनाले चुट्न पाएन, स्याहारसुसार पनि राम्रै भाथ्यो, स्थानीय किसान हरि पौडेलले भने, ‘गएको वर्षभन्दा यस वर्ष सुन्तला राम्रो फलेको छ।’
उनीहरूले सुन्ताल बेचेर कम्तीमा आठ लाखदेखि २५ लाख रुपैयाँसम्म आम्दानी गर्ने गर्छन्। अर्घाखाँचीको पाणिनि गाउँपालिका वडा नम्बर–१, पटौटीको सिम्ले गाउँमा मात्रै पाँच करोडको सुन्तला फलेको हो। यस गाउँका ५२ घरपरिवार व्यावसायिक सुन्तला खेतीमा लागेको र सुन्तला खेतीबाट मनग्य आम्दानी गर्न सफल भएको कृषक माधव पौडेलले बताए। उनले आफ्नो बारीमा ५२५ बोट सुन्तला रहेको र यसबाट तीन हजार किलोभन्दा बढी दाना फलेको बताए। ‘यस वर्ष सुन्तला बिक्रीबाट १८ देखि २५ लाख आम्दानी हुने देखेको छु,’ उनले भने, ‘सबैले सुन्तला बेचेरै कमाउँछन्, यहाँको आम्दानीको मुख्य स्रोत सुन्तला नै हो।’
अर्का कृषक दधिराम गौतमले बारीमा ५६५ बोट सुन्तला लगाएका छन्। उनका अनुसार गत वर्ष सुन्तला बिक्रीबाट ९ लाख रुपैयाँ आम्दानी गरेको र यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएकाले १४ लाख रुपैयाँ आम्दानी हुने अपेक्षा रहेको छ। यहाँ उत्पादन भएका सुन्तला प्रतिकिलो ७४ रुपियाँदेखि ८० रूपैयाँमा तानसेन, बुटबल, भैरहवा, चितवन, हेटौंडा र काठमाडौंसम्मका व्यापारीलाई बिक्री गर्छन्।
प्रकाशित: २७ पुस २०८१ ०९:३७ शनिबार