अर्थ

जुम्लाका साडे सात हजार बढी घरधुरीमा बिजुली

दुई वर्षमा सबैको घरमा बिजुली पुर्‍याउने लक्ष्य

जुम्लाका सात हजार ५ सय घरधुरीमा विद्युत्को पहुँच पुगेको छ । पातारासी गाउँपालिका बाहेक अन्य गाउँपालिकाका राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेसँगै जुम्लाका साडे सात हजार घरधुरी उज्यालोमा बस्न पाएका हुन् । आठ वटा स्थानीय तहका अधिकांश वडामा अहिले बिजुली पुगेको छ ।

कुनै बेला टुकी र झरोको भरमा उज्यालोमा रात गुजारिरहेको जुम्ला अहिले झिलिमिली बनेको छ । नेपाल विद्युत प्राधिकरणले ७ हजार पाँच सय घरमा बिजुली पुर्‍याएको हो । गाउँ-गाउँमा बिजुली पुग्दा विद्युतीय उपकरणको प्रयोग पनि बढ्दो छ । पहिले साना माइक्रो हाइड्रो बनाएर साना क्षमताको बिजुली बाल्ने गरिएको थियो । अधिकांश गाउँहरू सल्लाको दियालो बालेर गुजारा चलाइरहेका थिए ।

प्राधिकरणको जुम्ला वितरण केन्द्रका प्रमुख रामआशिष साहले सबै स्थानीय तहमा विद्युत सेवा वितरण भइसकेको बताए । अहिले बिजुलीको अभावमा सरकारी तथा गैरसरकारी कार्यालयमा काम रोकिएको छैन । बरु विद्युतीय उपकरणहरू चलाएर फाइदा लिइरहेका छन् । पछिल्लो दुई महिना मिटर अभावका कारण लाइन बिस्तारमा ढिलासुस्ती भएको प्राधिकरणले जनाएको छ ।  

अहिले प्राधिकरणले पातारासीको चुकेनी, चन्दननाथ घुघुती र तातोपानीको जालपादेवीको बिजुली खरिद गरेर सेवा दिइरहेको छ । जालपादेवीको २१४ किलोवाट, घुघुतीको ११० किलोवाट र चुकेनीको एक मेगावाट बिजुली खपत भइरहेको छ । राष्ट्रिय प्रसारण लाइनको बिजुलीले सिंजाक्षेत्रमा उज्यालो दिइरहेको छ ।  

उद्योग कलकारखानाहरू चलाउन मुस्किल थियो । तर अहिले धान कुट्ने, पिठो पिस्ने, काठ च्यात्ने मेसिनहरू गाउँमै पुगेका छन् ।  

अबको दुई वर्षमा हरेक जुम्लाबासीको घरमा बिजुली पुर्‍याउने प्राधिकरणको लक्ष्य छ । सोही अनुसार नयाँ परियोजना सुरु भइसकेको छ । प्रमुख साहले भने, ‘दुई वर्षमा हरेक घरमा बिजुली पुग्नेछ । बाल्ने नबाल्ने उनीहरूको चाहनाको कुरा हुनेछ ।’

अहिले बिजुलीको महसुल तिर्ने देखि मर्मतको लागि कार्यालयमै आउनुपर्ने अवस्था छैन । बिजुली पुग्दा बालबालिकाको पठनपाठन राम्रो बनेको छ । हरेक विद्यालय र सरकारी कार्यालयमा डिजिटल प्रविधिको प्रयोग हुन थालेका छन् । 

प्रकाशित: २४ पुस २०८१ १८:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App