अर्थ

वैदेशिक व्यापार ३० अर्ब बढ्यो

मुलुकको वैदेशिक व्यापारमा सुधार आएको छ। भन्सार विभागका अनुसार निर्यात व्यापारमा उल्लेख्य वृद्धि भएको छ भने आयात पनि बढेको छ।

चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा वैदेशिक व्यापार करिब ३० अर्ब रुपैयाँले बढेको छ। कुल वैदेशिक व्यापार ४.२१ प्रतिशतले वृद्धि भएको छ। यो वर्ष पाँच महिनामा सात खर्ब ३५ अर्ब १४ करोड रुपैयाँको व्यापार भएको भन्सार विभागले जनाएको छ। गत वर्ष सोही अवधिमा सात खर्ब पाँच अर्ब ४१ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो।

चालु आवको पहिलो पाँच महिना (मंसिर मसान्तसम्म)मा निर्यात १६.५४ प्रतिशत र आयात तीन प्रतिशतले वृद्धि भएको छ। पाँच महिनामा ७३ अर्ब ६५ करोड रुपैयाँको वस्तु निर्यात भएको छ। गत वर्षको सोही अवधिमा ६३ अर्ब २० करोड रुपैयाँको वस्तु निर्यात भएको थियो। मुलुकभित्र खपत वृद्धि भए पनि आयात गत वर्षको तुलनामा करिब १९ अर्ब रुपैयाँले वृद्धि भएको छ। 

यो पाँच महिनामा ६ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँको आयात भएको छ। गत वर्षको सोही अवधिमा ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँ बराबरका वस्तु आयात भएको थियो। पाँच महिनामा नेपालले पाँच खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख रुपैयाँ बराबरको व्यापार घाटा रहेको छ।
नेपालबाट धेरै निर्यात हुने वस्तुमा स्टिलजन्य वस्तु, धागो, कार्पेट, तयारी पोसाक, जुस, चिया, अलैँची, प्रशोधित पाम तेल, हस्तकलाका सामग्री, डेरी प्रोडक्ट, महलगायत छन्। 

निर्यात बढेपछि व्यापार घाटा पनि घटेको छ। मुलुकको आन्तरिक अर्थतन्त्र समस्यामा परेका कारण खपत वृद्धि हुन नसक्दा आयातमा पनि गिरावट आएको थियो। बजारमा उपभोग बढेकाले आयात बढेको सरोकारवाला बताउँछन्। आयात व्यापार वृद्धि हुँदा राजस्व पनि बढेको छ। आयातमा आधारित राजस्व बढेकाले यसको सकारात्मक प्रभाव अर्थतन्त्रमा पनि देखिएको छ।

नेपालले ठूलो व्यापार घाटा बेहोर्दै आएको छ। स्वदेशमा उत्पादन हुन सक्ने वस्तु विदेशबाट आयात हुँदा मुलुकले व्यापार घाटा व्यहोर्दै आएको छ। एक सय १० भन्दा बढी मुलुकसँग नेपालको व्यापार घाटा छ। दुई दर्जन हाराहारी मुलुकसँग मात्र नेपालको वैदेशिक व्यापार नाफामा छ। सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग छ। भारतबाट चार खर्ब १० अर्ब ५५ करोड रुपैयाँको वस्तु आयात भएको छ भने ५२ अर्ब एक करोड रुपैयाँको निर्यात भएको छ। भारतसँग तीन खर्ब ५८ अर्ब ५४ करोड ब्यापार घाटा छ।

सरकारले स्वदेशमा उत्पादन वृद्धि गरी निर्यात व्यापार बढाएर व्यापार घाटा न्यूनीकरण गर्ने बताउँदै आए पनि अपेक्षित रूपमा सुधार हुन सकेको छैन। निर्यात बढाउन अनुदान दिँदै आएको छ। सरकारले व्यापार घाटा कम गर्न र निर्यातमा प्रोत्साहन गर्न अनुदान दिने नीति लिँदै आएको छ तर अपेक्षित सुधार हुन सकेको छैन।

निर्यात प्रोत्साहन गर्न सरकारले सिमेन्टलगायतका करिब तीन दर्जन वस्तु निर्यातमा आठ प्रतिशतसम्म अनुदान दिने नीति लिएको छ। उच्च निर्यात सम्भावना भएका क्लिंकर, सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानीलगायत निर्यात हुने विश्वास लिइएको छ। सरकारले करिब तीन दर्जन वस्तु निर्यातमा अनुदान दिने गरी कार्यविधि बनाएर प्रयोगमा ल्याएको छ। 

स्वदेशी वस्तुको बृहत् उत्पादन, बजारीकरण, प्रयोग एवं निकासी प्रवर्धनका लागि निजी क्षेत्रसँगको सहकार्यमा मेड इन नेपाल र मेक इन नेपाल अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। सिमेन्ट, औषधि, फलामे डन्डी, फर्निचर, जुत्तालगायत उत्पादनमा आत्मनिर्भर हुँदै निकासी प्रवर्द्धन गर्ने कार्यक्रम छ। 

घरेलु, साना तथा मझौला उद्योगलाई संरक्षण गरी स्थानीय कच्चा पदार्थ र श्रममा आधारित उत्पादन वृद्धि गर्ने रणनीति बनाएको छ। निर्यातजन्य उद्योगमा विदेशी लगानी आकर्षित गर्ने, हिमालय क्षेत्रको गुणस्तरीय पिउने पानी ब्रान्डिड गरी खाडी लगायतका मुलुकमा निकासी गर्ने, निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति छ। स्वदेशमा औद्योगिक तथा कृषिजन्य वस्तु उत्पादन वृद्धि नहुँदा नेपालले व्यापार घाटा बेहोरिरहेको छ। 

प्रकाशित: ८ पुस २०८१ ०९:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App