अर्थ

धाब्लाङ पुलको कामले अझै गति लिएन

.

धाब्लाङमा निर्माणाधीन पक्की पुलको पाईल पिल्लर राख्न नदीको बहाव छेकेको अवस्था। तस्बिरः नागरिक

उदयपुरसँग खोटाङको दक्षिणी भेगलाई जोड्दै तराई जिल्ला तथा राजधानी काठमाडौँ आउजाउ गर्न सहज बनाउने गरी निर्माणाधीन धाब्लाङस्थित पक्की मोटरेबल पुलको कामले गति लिन सकेको छैन। त्रियुगा नगरपालिका १४ साउने र खोटाङको बाराहापोखरी गाउँपालिका ३ धाब्लाङस्थित सुन नदीमा ७ वर्षअघि निर्माण सुरु भएको पुल लामो समय काम रोकिएर ९ महिनाअघि सुचारु भएको थियो।

खोटाङलाई उदयपुर हुँदै तराई जिल्लाहरू जोड्ने महत्वपूर्ण नाका धाब्लाङ पुल डिजाईन फरक परेको प्राविधिक कारण देखाउँदै ६ वर्षसम्म अलपत्र परेको थिाये। नदीको दुवैतर्फ पाईल फाउण्डेशन प्रविधिको २ पिल्लर उठाएर अलपत्र छाडेको पुल गत वर्षदेखि सुचारु गर्दै २ वर्षभित्र सम्पन्न गर्ने बाचा ठेकेदारले गरेका थिए।

जनप्रतिनिधि र दुई जिल्लावासीको लामो प्रयासपछि ठेकेदार कम्पनी बदलेर पुलको काम सुचारु भएको थियो। ०८० फागुन पहिलो साता धाब्लाङमा आयोजित सङ्घ, प्रदेश तथा स्थानीय तह जनप्रतिनिधि, राजनीतिक दलहरू र सर्वसाधारणसामु निर्माण व्यवसायी मोहन आचार्यले ‘२ वर्षभित्र पुल बनाइसकेर सञ्चालन गरिदिन्छु’ भनेका थिए।  

ठेकेदार कम्पनी रसुवा कन्स्ट्रक्सनका सञ्चालक तथा नेपाली काँग्रेस रसुवाका सङ्घीय सांसदसमेत रहेका आचार्यले नेता, कार्यकर्ता र सर्वसाधारणलाई समयमै पुल बनाइदिने आश्वस्त पारे पनि १० महिना बित्न लाग्दासम्म प्रगति भने ‘शून्य’ छ। काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका आचार्य स्वयं इन्जिनियर पनि भएको र उनको कम्पनी पुल निर्माण क्षेत्रमा ख्याती कमाएको फर्म भएकैले पनि उनको आश्वासनलाई उतिखेर धाब्लाङवासीले पत्याएका थिए।

तर, १० महिना बित्न लाग्दासम्म पुलको काममा कुनै प्रगति हुन नसकेको बाराहापोखरीवासीको गुनासो छ। ‘ठेकेदारले दुई वर्षभित्र बनाइसकेर सञ्चालनमा ल्याउँछु भनेका थिए, तर अहिलेसम्म कामै अघि बढेको छैन,’ स्थानीय जितबहादुर मगरले शङ्का गरे, ‘१ वर्ष बित्न लाग्यो, कामको सुरसार छैन, अबको वर्षदिनमा पुल बन्ला त? शङ्कै लाग्छ।’ यतिखेर कम्तीमा २५/३० प्रतिशतसम्म काम भइसकेको भए पत्याउन सकिने अर्का स्थानीय हिमादेवी श्रेष्ठले बताइन्।

निर्माण कम्पनीले भने डिजाईन परिवर्तन गर्नु परेकाले काम सुचारु गर्न समय लागेको जनाएको छ। ठेकेदार कम्पनीलाई उद्धृत गर्दै बाराहापोखरी ३ का वडाध्यक्ष पदम मगरले पहिलेको वेल फाउण्डनेशनको डिजाईन बदलेर पाईल फाउण्डेसनमा बनाउनुपर्ने भएकाले समय लागेको बताए। ‘काम किन ढिला भनेर सोध्दा डिजाईन परिवर्तन गर्नु पर्ने भएकाले हो भनेर भन्छन्’ ठेकेदारलाई उद्धृत गर्दै वडाध्यक्ष मगरले भने। तर, अब छिट्टै काम सुचारु गर्ने भन्ने जनाएको मगरको भनाइ छ।  

२०७३ असार ३० गते सम्झौता गरेको सो पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ०७४ भदाै २३ गते भव्य कार्यक्रमका साथ गरेका थिए। २०७६ असार मसान्तभित्र निर्माण सकेर हस्तान्तरण गर्ने सम्झौता गरेको पुलको काम नदी वारिपारि २ पिल्लर ठड्याएर बीचमा एउटा फाउण्डेशन आधा बनाएर रोकिएको थियो। पप्पु–स्वच्छन्द–रसुवा जेवीले निर्माणको जिम्मा पाएको काम १० प्रतिशत हाराहारी भइरहेकै बेला पप्पु निर्माण सेवा कालोसूचीमा परेसँगै रोकिएर अलपत्र परेको थियो। पप्पुले हात झिकेपछि स्वच्छन्दले गर्नुपर्नेमा उसले पनि नगरेकाले रसुवा अघि सरेको थियो।

५ स्पान, २ सय ५ मिटर लम्बाइ र पैदल कवलसहित साढे १० मिटर चौडाइको सो पुल मूल्य अभिवृद्धि कर (भ्याट)बाहेक २२ करोड ५० लाख मूल्यमा ठेक्का सम्झौता भएको हो। ३ वर्षभित्र बनाइसक्ने सम्झौता भएको पुल म्याद नाघेको ४ वर्ष बितिसक्दासम्म काम सुचारु नहुनुले स्थानीय उपभोक्ता निराश हुन थालेको साउनेका पूर्व वडाध्यक्ष कुरुङ राईले बताए। उनले भने, ‘पहिलेका ठेकेदारको चरम लापरबाहीले यतिका वर्ष काम रोकियो, म गर्छु भन्दै आएको र्को ठेकेदारले पनि काम गरेन।’

पुल निर्माणको सुपरीवेक्षण गर्ने जिम्मा पाएको पुल सेक्टर धरान सुनसरीका सूचना अधिकारी आविष्कार तिम्सीनाले डिजाईन परिवर्तनलगायत प्राविधिक समस्याले ढिला भइरहेको काम छिट्टै सुचारु हुन लागेको बताए। उनका अनुसार नयाँ डिजाईन बनिसकेको र काम थाल्नका लागि नदीको पानी डोल्याउने काम भइरहेको छ। पहिला सुरु भएको काममा असोज १०–१२ गतेको बाढीले क्षति गर्नाले पनि काममा बाधा आएको भन्ने खबर आएको तिम्सीनाले बताए। ‘कामको सबै तयारी पूरा भइसकेको छ, आवश्यक निर्माण सामग्री र औजार उपकरण पनि साइटमा झरिसकेको छ,’ इन्जिनियर तिम्सीनाले भने, ‘त्यसैले अब छिट्टै काम सुचारु होला भन्ने लागेको छ।’

प्रकाशित: ७ पुस २०८१ ११:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App