अर्थ

आम्दानी चार गुणा बढेपछि गहुँबाट मकै खेतीतिर लागे किसान

सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–६ का नगेन्द्रकुमार साह पहिले एक बिघा १० कट्ठामा गहुँखेती गर्थे। उनले एक लाखदेखि एक लाख ५० हजारको लागतमा एक बिघा १० कट्ठामा गहुँखेती गर्दै आएका छन्। 

साहका अनुसार गहुँखतीबाट वार्षिक रूपमा १० क्विन्टलदेखि १५ क्विन्टलसम्म उत्पादन हुँदै आएको थियो। गहुँबाट वार्षिक रूपमा ७२ हजार आम्दानी हुँदै आएको थियो।

पछिल्लो समय साह गहुँखेती छोडेर मकैखेतीतर्फ लागेको छन्। उनले अहिले एक बिघा १० कट्ठा खेतमा मकैखेती गरेको जानकारी दिए। एक लाखदेखि एक लाख ५० हजारको लगानीमा गरेको मकैखेतीबाट चार लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्यका साथ एक बिघा १० कट्ठामा मकैखेती गरेको उनले जानकारी दिए।  

मकैखेतीबाट वार्षिकरूपमा एक सयदेखि एक सय २० क्विन्टलसम्म उत्पादन गरेर वार्षिक रूपमा चार लाख आम्दानी हुने गरेका कारणले पछिल्लो समय मकैखेतीतर्फ आकर्षित भएको साहले बताए।  

गहुँखेतीमा कम उत्पादन हुने र कम आम्दानी हुने गरेका कारणले पछिल्लो समय मकैखेतीतर्फ आकर्षित भएको साहको भनाइ रहेको छ। साह सुनसरीका लागि उदाहरणका पात्र पनि हुन्। पछिल्लो समय सुनसरी सदरमुकाम इनरूवासहित भोक्राहा, हरिनगर, बर्जु, गढी र देवानगञ्ज गाउँपालिकाका कृषक मकैखेतीतर्फ बढी आकर्षित भएका छन्।

जिल्लामा पछिल्लो समय वार्षिकरूपमा गहुँखेती गर्ने कृषकको सङ्ख्या क्रमिकरूपमा घट्दै गएको छ भने मकैखेती गर्ने कृषकको सङ्ख्या बढ्दै गएको कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीका प्रमुख निलकमल सिंहले जानकारी दिए।  

उनका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा सुनसरीमा १२ हजार २ सय ४८ हेक्टर क्षेत्रफलमा गहुँखेती भएकोमा आव २०८१/०८२ मा १२ हजार एक सय २५ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएको छ।  

त्यसैगरी आव २०८०/०८१ मा सुनसरीमा १० हजार छ सय ४१ हेक्टर क्षेत्रफलमा मकैखती गरेका र यस आवमा लगाउने क्रम जारी रहेकाले यसमा वृद्धि हुने देखिन्छ। आव २०८०/०८१ मा ३ दशमलव ३७ मेट्रिक टन गहुँको उत्पादकत्व रहेकोमा सोही आर्थिक वर्षमा ७ दशमलव ८ मेट्रिक टन प्रतिहेक्टर मकैको उत्पादकत्व रहेको सिंहले जानकारी गराए।  

मकैखेतीमा उत्पादकत्व बढी हुनु, बजार भाउ बढी पाउनु र कुखुराको दाना बनाउनका लागि प्रयोग गर्नुलगायतका कारणले बढी मात्रमा जिल्लाका किसान मकैखेती गर्ने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख सिंहको भनाई छ। सुनसरीमा हाइब्रिड ३३, ५५, ७७, रामपुरकम्पोजीट, कारगील, अल्राउण्डरलगायतका जातका मकैखेती हुने गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख सिंहले जानकारी दिए। रासस

प्रकाशित: ६ पुस २०८१ १०:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App