अर्थ

नेपाली पत्रकारितामा नौलो आयामः नागरिक, रिपब्लिका र न्युयोर्क टाइम्स एउटै ‘डिजिटल पे वाल’ मा

नेपालको डिजिटल मिडिया क्षेत्रमा पहिलो पटक एउटै ‘डिजिटल पे वाल प्लाटफर्म’ मार्फत स्वदेशी तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सञ्चार संस्थाका प्रिमियम समाचार सामग्री पढ्न र हेर्न पाइने भएको छ।

नेपालका ख्यातिप्राप्त नागरिक दैनिक, रिपब्लिका दैनिक (अंग्रेजी संस्करण) र नागरिक न्युज डटकमको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडिया (एनआरएम) र अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त अमेरिकाको न्युयोर्क टाइम्सले सहकार्य गरेर एउटै डिजिटल पे–वालमार्फत आफ्ना समाचार सामग्री नेपाली पाठकसामु पस्कन लागेका हुन्।

जसको बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बिचमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, न्युयोर्क टाइम्सका अन्तर्राष्ट्रिय अध्यक्ष स्टेफन डन्बर जोन्सन र एनआरएमका अध्यक्ष विनोदराज ज्ञवालीले संयुक्त रूपमा सुरुवात गरेका छन्।

संयुक्त रुपमा पानसमा बत्ती बाल्दै अर्थमन्त्री पौडेल, न्युयोर्क टाइम्सका अन्तर्राष्ट्रिय अध्यक्ष डन्बर जोन्सन र एनआरएमका अध्यक्ष ज्ञवाली।

नेपाल र अमेरिकाका दुई प्रतिष्ठित सञ्चार संस्थाको यो सहकार्यले आफ्ना प्रयोगकर्तालाई वृहत् र अविच्छिन्न पहुँच दिएको एनआरएमको विश्वास छ। ‘यससँगै पाठक तथा दर्शकलाई नेपाल र विश्वका उच्च गुणस्तरीय समाचार सामग्रीमा व्यापक पहुँच प्रदान गर्ने छ,’ एनआरएमद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ।

अर्थमन्त्री पौडेल (बाँया) , एनआरएमका अध्यक्ष ज्ञवाली (बीचमा)  न्युयोर्क टाइम्सका अन्तर्राष्ट्रिय अध्यक्ष डन्बर जोन्सन (दाँया)

‘यससँगै नेपाल रिपब्लिक मिडियाले द न्युयोर्क टाइम्ससँगको लामो समयदेखिको साझेदारीलाई अर्को उचाइमा पुर्‍याएको छ,’ एनआरएमका अध्यक्ष विनोदराज ज्ञवालीले भने, ‘यसले हाम्रा स्वदेश र विदेशमा रहेका पाठक तथा दर्शकलाई उच्च गुणस्तरको डिजिटल सामग्री पुर्‍याउन मद्दत गर्छ।’ एनआरएम र न्युयोर्क टाइम्सबीच सन् २०११ देखि नै छापा संस्करणमा सहकार्य हुँदै आएको छ। पछिल्लो यो सहकार्यले एनआरएमले प्रकाशन गर्ने रिपब्लिका दैनिक, नागरिक दैनिक र अमेरिकाको द न्युयोर्क टाइम्सका विशेष सामग्रीमा पाठक र दर्शकको पूर्ण पहुँच हुने एनआरएमको विश्वास छ।

‘डिजिटल पे–वाल लञ्च’ समारोहमा अमेरिकाबाट नेपाल आएका न्युयोर्क टाइम्स अन्तर्राष्ट्रियका अध्यक्ष जोन्सनले सन् २०११ मा एनआरएमसँग छापा माध्यमको साझेदारी थालेर नेपालमा अन्तर्राष्ट्रिय स्तरको सञ्चार सेवा दिएको बताए।

‘त्यो साझेदारी थालनी गरेसँगै पाठकलाई व्यापक रूपमा स्थानीयका साथै द टाइम्सको विश्व कभरेज दिएका थियौं,’ जोन्सनले भने,‘आज हामी यो सफलताको निरन्तरताबाट खुसी छौं र यो नयाँ डिजिटल बन्डलका रूपमा विकास भएको छ, जसले नेपाल रिपब्लिक मिडियाका डिजिटल ग्राहकलाई एनवाइटीका डिजिटल सामग्रीका साथै मुख्य समाचार वस्तु, अत्यन्तै लोकप्रिय गेमहरू र पाककलासम्बन्धी सामग्रीहरू र विश्वकै सबैभन्दा उत्कृष्ट अनलाइन स्पोर्टस् पोर्टल–द एथलेटिकमा पूर्ण पहुँच प्रदान गर्नेछ।’ 

नेपालको मिडियामा नयाँ आयाम: अर्थमन्त्री पौडेल

‘डिजिटल पे–वाल लञ्च’ समारोहमा प्रमुख अतिथि रहेका अर्थमन्त्री पौडेलले एनआरएम र न्युयोर्क टाइम्सबीचको डिजिटल सहकार्यले नेपालको मिडिया परिदृश्यमा नयाँ आयाम थपेको बताएका छन्। डिजिटल युगमा मिडिया उद्योगले सामना गरिरहेका चुनौतीहरूलाई सम्बोधन गर्न सहकार्य महत्त्वपूर्ण रहेको बताए।

अर्थमन्त्री पौडेल।

‘डिजिटल मिडियाको विकासले नेपाललाई विश्व बजारसँग जोड्न मद्दत पुर्‍याइरहेको छ,’ उनले भने, ‘प्रविधिको सदुपयोगमार्फत गुणस्तरीय सामग्री प्रस्तुत गर्दै, पत्रकारिताका मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गर्नु आवश्यक छ।’ उनले डिजिटल अर्थतन्त्रको महत्वको चर्चा गर्दै नेपालले डिजिटल क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिए।

सरकारले आमसञ्चारलाई मर्यादित, निष्पक्ष र व्यावसायिक बनाउन आवश्यक नीति निर्माण गरिरहेको उल्लेख गर्दै पौडेलले मिडिया क्षेत्रबाट सहकार्यको अपेक्षा रहेको स्पष्ट पारे।

नेपाल–अमेरिका मिडिया सहकार्य नयाँ अध्याय: राजदूत थम्पसन 

समारोहमा शुभकामना दिन पुगेका नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले एनआरएम र न्युयोर्क टाइम्सबीचको सहकार्यले नेपाल–अमेरिका सम्बन्धमा नयाँ अध्याय थपेको बताए।

अमेरिकी राजदूत डिन.आर थम्पसन।

उनले यो सहकार्य प्रशंसनीय भएको बताउँदै यसले गुणस्तरीय पत्रकारिताको स्तर उकास्ने विश्वास व्यक्त गरे। राजदूत थम्प्सनले नेपालमा डिजिटल मिडियाको आवश्यकता रहेको औँल्याउँदै यस सहकार्यले दुवै देशका पाठकलाई विश्वका उच्चस्तरीय समाचार सामग्रीमा पहुँच दिने उल्लेख गरे।

राजदूत थम्पसनले समाचारमा देखिने भ्रम चिर्न र नागरिकलाई सत्य र निष्पक्ष जानकारी पुर्‍याउन गुणस्तरीय पत्रकारिता आवश्यक रहेको पनि स्पष्ट पारे। यस्तै, उनले अमेरिकी दूतावासले नेपालका सञ्चारमाध्यमसँग नजिक रहेर काम गरिरहेको पनि बताए। 

एक सब्स्क्राइबमा उच्चस्तरीय समाचार सेवा

एनआरएम र न्युयोर्क टाइम्सबीचको यो सहकार्यले एक ‘सब्स्क्राइब’ मा दुवै प्रतिष्ठित सञ्चार संस्थाका भगिनी संस्थाका उच्चस्तरीय सञ्चार सेवा प्राप्त गर्न सकिने भएको छ। 

जसमा नेपाल रिपब्लिक मिडियाले प्रकाशन गर्ने नागरिक दैनिक, रिपब्लिका अंग्रेजी दैनिक, नागरिक न्युज डटकम, माइरिपब्लिका डटकममा प्रकाशन हुने ‘प्रिमियम’ समाचार सामग्रीसम्म पाठक र दर्शकको पहुँच हुनेछ।

यस्तै, न्युयोर्क टाइम्सका समाचार, खेल, पाककला, श्रव्य, वायरकटर, दि एथलेटिकलगायतका सामग्रीमा डिजिटल ग्राहकको पूर्ण पहुँच हुनेछ। समाचारमा विशेषज्ञ रिपोर्टिङका साथै सांस्कृतिक समाचार र विश्लेषण प्राप्त हुनेछ। गेममा स्पेलिङ बी, वर्ल्ड, क्रस वर्डलगायत प्राप्त हुन्छन्। पाककलातर्फ दैनिक रूपमा स्वादिष्ट पकवान, यससम्बन्धी परामर्श र प्रेरणा प्राप्त हुन्छ। श्रव्य सामग्रीमा विशेष कार्यक्रम, वाचन गरिएका लेख आदिसमेत प्राप्त हुन्छ। वायर कटरमा समीक्षा र मूल्यांकनका आधारमा ढुक्कसँग वस्तुको छनोट गर्न सकिन्छ।

द एथलेलिकमा आफूलाई मनपरेका खेलहरूसम्बन्धी सामग्री पाठकको व्यक्तिगत चाहनाअनुसार प्राप्त हुन्छ। द एथलेटिकले खेलमा रुचि भएका विश्वकै पाठकका लागि सुरुचिपूर्ण सामग्री उपलब्ध गराउँदै आएको छ।

एनआरएम नेपालको पहिलो र एक मात्र पब्लिक लिमिटेड कम्पनी हो, जसको अहिले नेप्सेमार्फत सेयर कारोबार भइरहेको छ। ‘यो नयाँ पहलले हाम्रो कम्पनीलाई उच्च मनोबलका साथ अगाडि बढ्ने अवस्थामा स्थापित गरेको छ,’ एनआरएमकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) समृद्धि ज्ञवालीले भनिन्, ‘यो सहकार्यले विज्ञापानमै निर्भर स्थानीय सञ्चार माध्यमलाई आम्दानीका नयाँ स्रोत पहिल्याउन मद्दत पुग्नेछ।’

एनआरएम प्रमुख कार्यकारी अधिकृत (सिइओ) समृद्धि ज्ञवाली

न्युयोर्क टाइम्सका ‘डिजिटल पे–वाल’ का एक करोड आठ लाख अनलाइन ग्राहक रहेका छन्। अमेरिकामै मात्र रहेका यसका ८० प्रतिशत ग्राहकले प्रति महिना २५ अमेरिकी डलरका दरले बर्सेनि तीन सय अमेरिकी डलर भुक्तानी गर्छन्।

नेपालमा सुरु भएको यो संयुक्त सब्स्क्रिप्सन योजनामा न्युयोर्क टाइम्सका ती सामग्रीमा नेपाली पाठकको सहज पहुँच हुने त छ नै त्यसभन्दा झन् पृथक् एनआरएमका सञ्चार संस्था रिपब्लिका र नागरिक दैनिकलगायतका भगिनी संस्थाले तयार पारेका प्रिमियम समाचार सामग्रीमा समेत पहुँच हुनेछ।

यसका लागि बर्सेनि तीन हजार पाँच सय मात्रै सब्स्क्रिप्सन शुल्क रहनेछ। ‘हामी हाम्रा पाठक र दर्शकलाई उहाँहरूले पाउनु पर्ने उच्च गुणस्तरको सामग्री प्रदान गर्न प्रतिबद्ध छौं,’ कार्यकारी अधिकृत ज्ञवालीले भनिन्।

समारोहमा डिजिटल पे–वाल लञ्च गर्नुका अलावा दुई वटा महत्त्वपूर्ण जानकारीमूलक बहस गरिएका थिए। पहिलो बहसमा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल र रिपब्लिका दैनिकका प्रधान सम्पादक प्रकाश रिमालले यो सब्स्क्राइब योजनाको महत्त्व र यसले नेपाली पत्रकारिताको विकासमा गर्ने योगदानका बारेमा चर्चा गरेका थिए।

नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल र रिपब्लिका दैनिकका प्रधान सम्पादक प्रकाश रिमाल

दोस्रो बहसमा न्युयोर्क टाइम्सका अन्तर्राष्ट्रिय अध्यक्ष जोन्सन र एनआरएमकी सिइयो समृद्धि ज्ञवालीले ‘रेसिपी टु सक्सेस’ शीर्षकमा न्युयोर्क टाइम्सको सफलता, अन्तर्राष्ट्रिय स्तरमा भइरहेको पत्रकारिता, समाचार सामग्री लगायतका बारेमा चर्चा गरिएको थियो। जसमा खुला सत्रमा झन्डै एक दर्जन सहभागीले अध्यक्ष जोन्सनसँग आफ्ना जिज्ञासा समेत राखेका थिए।

न्युयोर्क टाइम्सका अन्तर्राष्ट्रिय अध्यक्ष जोन्सन र एनआरएमकी सिइयो समृद्धि ज्ञवाली

समारोहको अन्त्यमा एनआरएमका निर्देशक शोभा ज्ञवालीले धन्यवाद ज्ञापन गर्दै भनिन्, ‘नेपाली पत्रकारितामा आधुनिक आयाम थप्न एनआरएम र न्युयोर्क टाइम्सबीचको यो सहकार्य ऐतिहासिक हुने छ। पाठक तथा दर्शकले गुणस्तरीय, विश्वसनीय सञ्चार सेवा दिन हामी सधैँ तत्पर रहनेछौँ।’

एनआरएम निर्देशक शोभा ज्ञवाली

तस्बिरहरु: विजय राई र दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: ३० आश्विन २०८१ २०:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App