अर्थ

पर्यटकीय सिजनः मध्यमस्तरका होटललाई सकस, अग्रिम बुकिङ आधा पनि छैन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका भारतीय पर्यटक। तस्बिरः सन्तोष पोखरेल/नागरिक

केहीदिन अघि चारसय जना भारतीय पर्यटकको एक समूह दिल्ली हुँदै काठमाडौं ओर्लियो। काठमाडौं घुमेर केही पोखरा हानिए, अरु काठमाडौंमै रोकिए। पोखरा आएका उनीहरुले कम्तिमा दुइरात पोखरामा बिताए।  

पोखरा भित्रिएको टोलीमा थिए एकजना भारतीय व्यावसायी सुरज सोनी। परिवारैसहित आएका उनी हवाई माध्यम हुँदै पोखरा ओर्लिएका थिए। काठमाडौं–पोखरा हवाई यात्राका क्रममा उनले खुलेको हिमाललाई मोवाइल क्यामेरामार्फत कैद गरे। हिमाल देख्न पाउँदा खुसीले गदगद थिए।  

पहिलोपटक पोखरा आउँदै गर्दा हिमाल हेर्न पाएका उनले पोखरा विमानस्थलबाट पनि खुलेको हिमाललाई तस्बिरमा अटाए। काठमाडौं–पोखरा उडानको क्रममा देखिएको सौन्दर्यतासँग मोहित भएपनि उनको मनमा एउटा प्रश्न भने उब्जिरहेको थियो। प्रश्न थियो–काठमाडौंबाट पोखरा जाने बाटो त खत्तम छ रे हो? तोकिएको समयमा पोखरा पुग्नै सकिन्न रे? राजमार्गमा पुरै खाल्डा छन र कुनैपनि बेला पहिरोले रोकिनुपर्ने हुन्छ रे।

सुरजको मनमा उब्जेको प्रश्नजस्तै अहिले तेश्रो मुलुकका विदेशी पर्यटकमा पनि नेपालबारे केही नकारात्मक सन्देश प्रवाह हुँदा त्यसले हालै सुरु भएको पर्यटकीय सिजनमा मार पारेको पर्यटन क्षेत्रको गुनासो छ। त्यसको असरस्वरुप विदेशी पर्यटक आगमनको हिसाबले महत्वपूर्ण मानिएको सेप्टेम्बर–नोभेम्बर सिजनमा योवर्ष सोचेजति अग्रिम बुकिङ नआएको भन्दै पर्यटन क्षेत्रले चिन्ता जनाएको छ।  

व्यावसायी भन्छन, ‘नेपालसम्मको हवाई भाडा महंगो परेको, नेपालको यात्रा सुरक्षाबारे आशंका उब्जेको, स्थलमार्गको यात्रा जोखिमपूर्ण र झन्झटयुक्त रहेको भन्ने सन्देश फैलिँदा तेश्रो मुलुकका पर्यटक आउनेमा आशंका गर्न सकिन्छ।’ 

व्यावसायीका अनुसार पोखराका मध्यमस्तरका होटलको अकुपेन्सी अहिले पनि निकै नै कमजोर छ। केही ठुला र चल्तीका होटलको अग्रिम बुकिङ सन्तोषजनक रहेपनि मध्यमस्तरका होटलमा पाहुना आगमनको आकार कम हुने आँकलन रहेको उनीहरुले बताए। यसो हुनुमा नेपालबारे नकारात्मक सन्देश प्रवाह हुनु मुख्य रहेको उनीहरुको भनाई छ।

‘पर्यटन क्षेत्रमा सेप्टेम्बर–नोभेम्बरलाई दोश्रो सिजन मानिन्छ। यो बेला विदेशीको आगमन सुधार हुनेमा आशावादी थियौ। तर, त्यो आगमन हुनेमा आशंका गर्ने ठाउँ छ,’ क्वीन्सपार्क होटलका म्यानेजर तुलसीप्रसाद लामिछानेले भने, ‘नेपालको यात्रा असुरक्षित रहेको, स्थलदमार्ग झन्झटपूर्ण रहेको, नेपालसम्मको हवाई भाडा महंगो परेको भन्दै विदेशी पाहुनाले गुनासो गरिरहेका छन्।’ सेप्टेम्बरको अन्तिम सातासम्म आइपुग्दा नेपालमा विदेशी पाहुनाको आगमनका लागि अग्रिम बुकिङको अकुपेन्सी अहिले भन्दा निकै नै बढी हुनुपर्ने भएपनि त्यो हुन नसकेको उनले बताए।

‘मुस्किलले अहिलेसम्म अक्टोवरका लागि ३५/४० प्रतिशत मात्र अकुपेन्सीको अग्रिम बुकिङ छ। हामीले यो सिजनसँग यस्तो कमजोर अकुपेन्सीको अपेक्षा गरेका थिएनौ,’ उनले भने, ‘अहिले आएको भन्दा दोब्बर करिब ७० प्रतिशत अकुपेन्सी हुनुपर्ने हो। तर, त्यो हुनै सकेन।’ उनका अनुसार केही ठुला होटलको अकुपेन्सी अहिले पनि अक्टोवर–नोभेम्वरका लागि ८० प्रतिशत हाराहारीमा छ। तर, मध्यमस्तरका होटलका लागि भने अहिलेसम्म निकै नै कमजोर अवस्था छ।

लामिछानेले पर्यटकीय दृष्टिले यो बेलालाई सिजन भन्ने वा नभन्नेमा समेत दोधार हुन थालेको बताए। ‘पछिल्ला समयका घटनाक्रमले नेपालबारे नकारात्मक सन्देश अधिक प्रवाह भयो। घटना पनि त्यस्तै घटे। त्यसले गर्दा आगमनमा प्रभाव परेको हो,’ उनले भने। उनका अनुसार पर्यटकको गुनासो नेपालसम्म आउँदा हवाई भाडा महंगो परेको गुनासो छ। नेपालसम्म अन्तर्राष्ट्रिय उडान गर्ने केही हवाई कम्पनिले हवाई भाडा वृद्धि गरेका छन। त्यसले गर्दा सिजनको हवाई टिकट महंगो परेको गुनासो आएको उनले बताए।  

‘नेपाल वायुसेवाले उडान बजार बिस्तार गर्न सकेको छैन। त्यसैको फाइदा लिएर अन्तर्राष्ट्रिय हवाई कम्पनिले नेपालसम्मको हवाई भाडा वृद्धि गरेका छन। यसको मारमा पर्यटक परेका छन,’ लामिछानेले भने, ‘त्यसले गर्दा पर्यटकहरु अन्यत्र डाइभर्ट भएका छन्।’

 त्यसबाहेक काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन समय घटाउने सरकारी तयारीले गर्दा उडान समय परिवर्तन हुने त्रासले पर्यटकहरु नेपाल आउन नचाहेको उनले बताए।  

यतिसम्मकी भारतीय पर्यटकको समेत एडभान्समा बुकिङ नआएको उनले बताए। ‘पोखरामा पर्याप्त मात्रामा होटल रहेकोले एडभान्स बुकिङ चाहिँदैन भन्ने खालको सन्देश भारतीय बजारमा प्रवाह हुँदा पनि भारतीय पाहुनाले पनि बुकिङ गरेका छैनन्। तर, भारतीय पाहुना छोटो समयको तयारीमै आउने हुनाले आशावादी भने हुन सकिन्छ,’ लामिछानेले भने, ‘भारतीयसँग आशावादी छौ। तेश्रो मुलुकका अरु पर्यटकको भने भरोसा छैन।’

संचालनको तयारीमा रहेको टेम्बल बेल बुटिक होटल एण्ड स्पाका म्यानेजर गुप्त गिरी पनि तेश्रो मुलुकका पर्यटक आगमन र अग्रिम बुकिङ सोचेजति हुन नसकेको बताउँछन। ‘भारतीयको आगमन हुनेमा हामी विश्वस्त छौ। तर, तेश्रो मुलुकका पाहुनाको आगमनले सुखद् संकेत दिएको छैन, एकाध होटलमा राम्रो आगमन हुँदैमा सबैतिर एउटै रहन्छ भन्ने होईन,’ गिरीले भने, ‘सिजन भएपनि पाहुना आउनेमा उत्तिसारो उत्साही छैनौ।’

गिरीका विश्लेषणमा नेपाल एयरलाईन्सको पहुँच नेपालमा विदेशी पर्यटक भित्रिने गन्तव्य मुलुकमा छैन। नेपाल एयरलाइन्सले राखेको नियमित उडान पनि प्रभावित छन। विदेशी हवाई कम्पनिको भरमा मात्र आउँदा महंगो परेको छ,’ उनले भने, ‘नेपालसम्मको गन्तव्य महंगो परेको गुनासो विदेशी पाहुनामा छ। त्यसैले अपेक्षा गरे अनुसार पाहुना आउने सम्भावना छैन।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कात्तिकपछि उडान प्रभावित हुने अवस्था रहेकोले पनि पाहुना अन्यत्र डाइभर्ट हुने अवस्था रहेको उनले बताए। ‘अन्तर्राष्ट्रिय हवाई भाडा पनि बढेको छ। त्यसैमाथि उडान प्रभावित हुने अवस्थाले गर्दा पनि यात्रालाई ढुक्क बनाउन सकिएको छैन,’ उनले भने, ‘त्यसले गर्दा सिजन राम्रो हुने अवस्था छैन। सिजन सुरु भएकै अवस्थामा पनि कमजोर बुकिङ छ।’ अहिले साह्रै राम्रो हुँदाको अवस्थामा पनि अक्टोवरका लागि ठुला होटलको अग्रिम बुकिङ ५० प्रतिशत रहेको उनले बताए। ‘अक्टोवरका लागि त यो बेला नै ९० प्रतिशत बुकिङ आइसक्नुपर्ने हो,’ उनले भने, ‘भारतीय पाहुना आउनेमा आशावादी छौ। तर, तेश्रो मुलुकका पाहुनाको आगमनप्रति सकारात्मक संकेत छैन।’

प्रकाशित: ६ आश्विन २०८१ १८:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App