अर्थ

सवारी साधन: कामकाजीको सारथी

दैनिक कामका लागि प्रयोग हुने सवारी साधनले मानिसलाई चलायमान त बनाएकै छ सँगै उनीहरूको जीवन पनि सहज बनाएको छ। सवारी साधनको बहुउपयोगिता दैनिक आवागमनसँग मात्र नभई रोजगारी तथा उद्यम र उत्पादनशीलतासँग पनि जोडिएको छ।

यस्तै सवारी साधन विलासिताको सामान नभई आजको आवश्यकता हो। स्कुटर, मोटरसाइकल, गाडी होस् वा अन्य सवारी साधन, आफ्नो क्षमता अनुसारको साधनको प्रयोग र यसको बहुउपयोगिताले मानिसको उत्पादनशीलता वृद्धि गर्ने, समय व्यवस्थापन गर्न सघाउने, दैनिकी सहज बनाउने, रोजगारी सिर्जना गर्ने, क्रियाशीलता बढाउने गर्छ।

ठमेल पक्नाजोलका मेनुका रोकाले स्कुटर चलाएको आठ वर्ष भइसक्यो। स्कुटर चलाएपश्चात् उनको जीवनशैली नै गतिशील भएको उनको बुझाइ छ। बिहान सोह्रखुट्टेको सिग्मा कलेजमा पढाउने उनी दिउँसो ट्राभल एन्ड टुर क्षेत्रमा काम गर्छिन्। ‘आफ्नै साधन भएमा धेरै कामहरू भ्याउन सकिन्छ।’

रोकाले भनिन्, ‘लेक्चररका साथै उद्यमीसमेत भएकाले मलाई स्कुटरले धेरै सजिलो भएको छ। एउटा कलेज पढाइसके। अर्कोमा गएर पढाउन, त्यसपछि अफिसको काम गर्न, साथीभाइसँग भेटघाट गर्दै सबै काम भ्याउन सवारी हुँदा मात्र सम्भव हुन्छ।’ उनले सवारी साधन हुँदा र नहुँदाको दैनिक निकै फरक पर्ने बताइन्।

‘कहीं पुग्न, सामान ओसारपसार गर्न वा हस्पिटल जान किन नहोस् आफ्नै सवारी साधन हुँदा धेरै सजिलो हुन्छ।’ उनले भनिन्, ‘अपर्झट केही प¥यो वा कुनै पनि बेला कहींबाट आउन प¥यो भने सवारी साधनले एकदमै सहज बनाउँछ।’

सवारी साधन हुनु भनेको आफ्नो समयतालिकाको सहज व्यवस्थापन गर्न सम्भव हुनु हो। समय बचत हो। आत्मनिर्भरता र स्वतन्त्रता हो। किनभने सवारी साधन भए आफ्नो गन्तव्यमा पुग्न अरूको भरपर्नु पर्दैन। सार्वजनिक यातायात वा अरूको तालिकामा निर्भर हुनु पर्दैन। अरूवाट नियन्त्रित र परनिर्भर हुनुपर्ने अवस्था पनि आउँदैन।

व्यक्तिको अग्रसरता थप वृद्धि गर्न व्यक्तिगत सवारी साधनले एकदमै सहयोग गर्छ। आफूलाई मनलागेको ठाउँमा रोक्न सकिन्छ, खान मन लागेको ठाउँमा खान पाइन्छ र जान लागेको ठाउमा जान पाइन्छ। जुन सुविधा सार्वजनिक यातायातका साधनमा सम्भव छैन।

सार्वजनिक यातायात समय तालिका अनुसार नचल्नु यसको सबैभन्दा ठूलो दुर्गुण हो। त्यसैले सवारी साधन विलासिता नभई मानिसको क्रियाशीलता र उत्पादनशीलता बढाउन सहयोगी हुने आवश्यक साधन हो।

आफ्नै सवारी साधन हुँदा सुरक्षाको दृष्टिले पनि राम्रो हुने अधिवक्ता एवम् उद्यमी परिवर्तन चाम्लिङ बताउँछन्। ‘आवतजावतको सवालमा पनि आफ्नै गाडी भए थप सुरक्षित भइन्छ। आफैंले हाँक्नु पर्दा सुरक्षामा थप सचेत भइन्छ।’ चाम्लिङले भने, ‘सुरक्षासँगै समय व्यवस्थापन अर्को महत्वपूर्ण पक्ष हो।’

करिब २५ वर्षदेखि कार चलाउँदै आएका उनले व्यक्तिगत सवारी साधन विलासिता नभई मानिसको हैसियत अनुसार प्रत्येकका लागि अवश्यकता भएको बताए। पछिल्लो समय नेपालमा धेरै बाटा बनेका छन् तर पूर्ण छैनन्, ‘डेन्जर जोन’हरू थुप्रै छन्। जसले सवारी सुरक्षाप्रति गहिरो प्रश्न उठेको छ। त्यस्तै मुख्य सहरहरूमा ट्राफिक समस्या छ। यिनै कुरालाई हेर्दा मात्र पनि निजी सवारी साधनको प्रयोग बढ्दै गइरहेको छ।

‘सवारी साधन भएकै कारण म अहिले दुई ठाउँमा काम गरिरहेको छु’, बुढानीलकण्ठको स्थानीय साजन राई भन्छन्, ‘म बिहान ट्रेनिङ इन्स्टिच्युटमा मेन्टरको काम गर्छु भने त्यसपछि अफिसमा काम गर्छु।’

उनी थप्छन्, ‘मसँग सवारी साधन थिएन भने मैले दैनिक दुईवटा काम गर्ने भन्ने नै सोच्न सक्दिन्। सवारीले मेरो मोबिलिटी र उत्पादनशीलता बढाएको छ।’ बुढानीलकण्ठ घरबाट उनी बिहान सुकेधारा र त्यसपछि भने बानेश्वरमा काम गर्न पुग्छन्।

सार्वजनिक गाडीमा चढ्दा हुने असहजता व्यक्तिगत सवारी साधन भएकाले भोग्नु नपर्ने उनको बुझाइ छ। ‘काम गर्न जाँदा होस् वा कलेज जादाँ कहिल्यै पनि गाडी समय आउँछ भन्ने हुँदैनथ्यो। आए पनि सिटमा सहज बस्न पाउनु भनेको भाग्यकै कुरा हुन्छ। भिडभाड र कोलाहालको आफ्नै पाटो छ।’

उनले भने, ‘त्यो हेरेर स्कुटरमा गाडीको भन्दा बढी पैसा लागेको जस्तो देखिएला तर उपयोगीताको हिसाबले भने धेरै फाइदा हुन्छ।’

यस्तै उनले आफ्नो स्कुटरको प्रयोग बढाउन थप काम गर्छन्। उनले भ्याएको समयमा आफ्नो स्कुटरको सहयोगले सवारी सेवा इनड्राइभ पनि गर्दै आएका छन्। उनले आफ्नो स्कुटरलाई इसवारी रोजगारीको अवसर पनि बनाएका छन्। काम छिट्टै सकेको दिन र बिदाको दिनको सदुपयोग गर्दै उनले सवारी साधन सेवा इनड्राइभ पनि गर्छन्।

यस्तै अनामनगरका टीका खड्का १३ वर्ष दुबै बसेर नेपाल आएपछि आफैं ट्याक्सी किनेर चार वर्षदेखि चलाइरहेका छन्। आफ्नै टयाक्सी भएपछि उनलाई सहजै रोजगारी भएको र साहुको पिरलो नभएको उनले बताए।

‘आफ्नै ट्याक्सी भएपछि साह्रै सजिलो, कसैकोमा कामको लागि जानु पनि परेन, काममा कसैले के भन्छ भन्ने पनि छैन। कमाइ पनि राम्रै हुन्छ।’ उनले भने, ‘आफ्नो आवश्यकता र इच्छा अनुसार चलाइन्छ, आफ्नो कामकाजमा पनि हिँड्न एकदमै सजिलो हुन्छ।’

पछिल्लो समय नेपालको अर्थतन्त्रमा र मानिसको दैनिकीमा आएको परिवर्तन होस् वा विश्वव्यापी आधुनिकता, सवारी साधनको उपयोग विलासिता नभई आवश्यकता बनेको छ। संख्यात्मक हिसाबमा पनि निजी सवारीको प्रयोगकर्ताहरू दिनप्रतिदिन बढिरहेका छन्।

अहिले जताततै बाटोको पहुँच छ। भौतिक पूर्वधार र भौगौलिक बनावटका कारण पनि अहिले नेपालको धेरै ठाउँहरूमा मोटरसाइकल र साना गाडीहरू सजिलै पुग्छन्। निजी सवारी छिटो छरितोका लागि मात्र नभई दैनिक आवश्यकता एवम् रोजगारी सिर्जनाका दृष्टिले पनि उत्तिकै उपयोगी छ।

प्रकाशित: ११ भाद्र २०८१ ०७:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App