अर्थ

सुन्दर, सक्षम, सचेत सुनसरी

रामधुनी– ४ मा रहेको रामधुनी मन्दिर।

सुनसरीका १२ वटा स्थानीय तहले प्रत्येक वर्षको नीति–कार्यक्रम र बजेटमा कृषि तथा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्दै आएका छन्। जसकारण कृषि र पर्यटन क्षेत्रको समग्र योगदान र वार्षिक वृद्धिदरसमेत बढ्दै गएको छ।  

जिल्लामा रहेका दुईवटा उपमहानगरपालिका इटहरी र धरानले कृषिसँगै पर्यटनलाई बजेट र नीति–कार्यक्रममा प्राथमिकतामा राखेका छन्। यस्तै, बराहक्षेत्र र रामधुनी नगरपालिकाले पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेका छन् भने दोस्रो प्राथमिकतामा कृषिलाई राखेका छन्। इनरुवा र दुहवी नगरपालिकाले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएका छन्।

यस्तै, गढी, कोसी, हरिनगर, देवानगन्ज र बर्जु गाउँपालिकाले पनि कृषिलाई प्राथमिकतामा राखेका छन्। भोक्राहा नरसिंह गाउँपालिकाले शिक्षा र कृषिलाई प्राथमिकतामा राखेर काम गर्दै आएका छ।

धार्मिक पर्यटकको आकर्षण  

धरानमा विजयपुर, दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा, शिव जट्टा र पाँचकन्याको पाँचकन्या मन्दिरले पर्यटकलाई लोभ्याउने गरेका छन्। धरान–१४ को विजयपुर धरानको शिरमा रहेको छ। जहाँ दुई दर्जन मठमन्दिर छन्। यसले धरानलाई धार्मिक पर्यटनको परिचय दिएको छ। धरानमा पर्यटकहरू प्याराग्लाइडिङका कारण पनि आकर्षित हुने गरेका छन्।

प्रसिद्ध धार्मिक स्थल बराह क्षेत्र मन्दिर।

धरानमा पछिल्लो समय स्वतन्त्रबाट मेयरमा विजयी भएका हर्क साम्पाङले खानेपानीसँगै विकास निर्माणका अन्य आयोजनालाई स्थानीयको जनसहभागितामा तीव्रता दिएका छन्। उनले धरान–१३ को फुस्रेमा रहेको जलाधार क्षेत्रमा श्रम पार्क निर्माण गरेका छन्। त्यहाँ धरानको प्रतिबिम्ब झल्कने चिनारी पनि राखिएको छ।

मेयर साम्पाङले जनसहभागिता जुटाएर गर्ने विकास निर्माणको काम लोभलाग्दो छ। तर, मेयर साम्पाङले निर्वाचित जनप्रतिनिधि र राजनीतिक दलको नेतृत्वसँग समन्वयकारी भूमिका निर्वाह नगर्दा बेला बेलामा विवाद पनि आउने गरेका छन्।

धरान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, हात्तीसार कलेज, महेन्द्र बहुमुखी कलेज, पूर्वाञ्चल इन्जिनियरिङ कलेज, फुट टेक्नोलोजी कलेजस्ता कलेज रहेकाले गर्दा पूर्वको शैक्षिक हबका रूपमा पनि रहेको छ। धरान फुटबल खेलका लागि चर्चित स्थानमा गनिन्छ। यहाँ बर्सेनि बुढासुब्बा गोल्डकप हुने गरेको छ।

२३ करोडभन्दा बढीको लगानीमा कोल्ड स्टोर

इटहरी–९ मा २३ करोडभन्दा बढीको लगानीमा कोल्ड स्टोरसहित हाट बजार व्यवस्थापन गरिने भएको छ।

साप्ताहिक रूपमा आइतबार र बुधबार हाट लाग्दै आएको स्थान टेङ्ग्रा खोलादेखि पूर्वपट्टि कोल्ड स्टोर निर्माणाधीन अवस्थामा रहेको छ। निर्माणाधीन कोल्ड स्टोर बहुतले हुनेछ। कोल्ड स्टोरमा अन्डरग्राउन्ड पार्किङ हुनेछ।

हाट बजार भने टेङ्ग्रा खोला पूर्व र पश्चिम दुवैतर्फ लाग्ने गरेको छ। हाट बजारलाई त्यहीअनुसार व्यवस्थित गरिने इन्जिनियर जीवन घिमिरेले बताए। अहिले लाग्ने हाट बजारमा सात सयभन्दा बढीको संख्यामा व्यापारीहरूले कारोेबार गर्ने गरेका छन्।

किसानका लागि तत्काल कोल्ड स्टोर सञ्चालन गर्ने तयारी

हरिनगर गाउँपालिकाले किसानका लागि कोल्ड स्टोर सञ्चालन गर्ने तयारी गरेको छ। यहाँ अन्नबालीसँगै तरकारीको पकेट क्षेत्र मानिएकाले किसानले हिउँदे तरकारीका रूपमा काउली, बन्दा, मुला, भन्टा, मटरकोसा, टमाटर, खुर्सानी, प्याज, गाजर, तरबुजा र खरबुजा लगाउने गरेका छन्।

घिउ सिमी, तमे बोडी, काक्रो, भिन्डी, फर्सी, भन्टा, घिरांैलालगायतका तरकारी वर्षा सिजनमा लगाउने गरेका छन्। ‘यहाँ किसानहरूले जुन तरकारी उत्पादन गर्छन् र बाली उत्पादन गर्छन्, उनीहरूले राम्रोसँग बजार पाउँदैनन् र त्यो बजार नपाएर किसानहरू घाटामा जान्छन्। त्यसलाई पूर्ति गर्नका लागि कोल्ड स्टोर सञ्चालन गर्न लागेका हौं,’ गाउँपालिका अध्यक्ष गफार अन्सारीले भने।  

भेटेरिनरी अस्पताल र चार्जिङ स्टेसन

इटहरीमै एक करोड ७२ लाख रूपैयाँ खर्चेर अत्याधुनिक सुविधा सम्पन्न भेटेरिनरी अस्पताल निर्माणाधीन अवस्थामा रहेको छ। भवन तीन तले हुनेछ। किसानका घर पालुवा जनावर बिरामी भएपछि उच्चस्तरीय उपचारका लागि अस्पताल निर्माण गरिएको हो।

इटहरीमा २० महिनाको अवधिमा धेरै काम भएको मेयर हेमकर्ण पौडेलले दाबी गरेका छन्। उनले इटहरीलाई हिलोमुक्त र धुलोमुक्त बनाउने ढंगले युद्धस्तरमा काम भइरहेको बताए।

‘हिलोमुक्त र धुलोमुक्त बनाउने अभियानलाई सफल पार्नका लागि सडक एम्बुलेन्स नै खडा गरिएको छ,’ उनले भने, ‘कहीं सडक बिग्र्रनासाथ सडक एम्बुलेन्सले काम गरिहाल्छ।’ उनका अनुसार इटहरी उपमहानगरपालिकाले अबको दुई वर्षभित्रमा सभागृहको निर्माण पूरा गर्ने भएको छ। सभागृह इटहरी–५ का काव्यवाटिका निर्माण हुने भएको छ।

चालु आर्थिक वर्षमै नगर बस सञ्चालन गर्ने योजनाअनुसार आगामी वैशाख महिनादेखि सुचारु गरिने मेयर पौडेलले बताए। नगर बस सञ्चालनसँगै नगरभित्र १५ वटा चार्जिङ स्टेसन पनि राखिने भएको छ।

इटहरीको चौरास्त चोकमा वैशाख महिनाभित्रै दुईवटा आकासे पुलको पनि निर्माण पूरा गरिसक्ने पौडेलले बताए। उनका अनुसार इटहरीलाई व्यवस्थित सहरका रूपमा विकास गर्न गुरुयोजना पनि निर्माण प्रक्रिया अगाडि बढाइएको छ।

बराह क्षेत्र नगरपालिकामा चालु आर्थिक वर्ष पर्यटन क्षेत्रको विकासका लागि बजेट, नीति तथा कार्यक्रममा ठुलै रकम समेटिएको छ। जसमा चतरामा रहेको औलिया बाबा मन्दिर क्षेत्रका लागि संघीय सरकारबाट एक करोड रूपैयाँ छुट्याइएको छ।

यस्तै, बराहक्षेत्र मन्दिर संरक्षणका लागि दुई करोड रूपैयाँ र बस पार्क स्तरोन्नतिका लागि एक करोड रूपैयाँको काम हुँदै छ।

बराहक्षेत्रको कोसी पुलबाट बराहक्षेत्र मन्दिरसम्म पुग्ने सडक स्तरोन्नतिका लागि तीन करोड रूपैयाँ बजेट छुट्याइएको छ। चतराबाट सूर्य कुन्डसम्मका लागि केवलकारको अध्ययन सुरु समेत गरिने भएको छ। बराहक्षेत्र मन्दिरमा तीन जिल्ला जोड्ने झोलुंगे पुल पनि निर्माणका लागि अब चाँडै ठेक्का प्रक्रिया अघि बढ्ने भएको छ।  

रामधुनी मन्दिरलाई प्राथमिकता

रामधुनी नगरपालिकाले वडा नं. ४ मा रहेको रामधुनी मन्दिर पहिलो प्राथमिकतामा राखेर विकास गरिरहेको छ। नगरपालिका क्षेत्रभित्रका शंकरबेली, जुडी ताल, प्रेम ताल र राशा तालमा पनि पर्यटक जमघट बाक्लो हुँदै जादा विकास तीव्र बनाएको छ।

मेयर शंकर चौधरीका अनुसार रामधुनी मन्दिरमा यो वर्ष एक करोड खर्च हुँदैछ।रामधुनीमा जनकपुरी मोडलमा मण्डप तयारी हुन लागेको छ।  

कृषि बिमा निःशुल्क

भोक्राहा नरसिंह गाउँपालिकाले चालु आर्थिक वर्ष बाली तथा पशुपन्छी बिमालाई निःशुल्क बनाउने भएको छ। किसानलाई प्रोत्साहनका लागि बाली तथा पशुपन्छीमा बिमा निःशुल्क हुने व्यवस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले बताए। उनले सम्पूर्ण किसानलाई बिमा गर्न पनि आह्वान गरे।

यहाँ कोल्ड स्टोरका लागि जग्गा प्राप्तिसहित डिपिआरको प्रक्रियामा रहेको छ। चालु आर्थिक वर्षको छ महिनामा किसानलाई कृषि सिँचाइ सुविधाका लागि चार सय ७५ थान चार इन्चका बोरिङ पाइप ठेक्का सम्झौता गरेर किसानलाई वितरण प्रक्रियामा रहेको छ।

यस्तै, प्रधानमन्त्री कृषि योजनाबाट माछापालन, मकै पकेट र तरकारीमा अनुदान दिने कार्य भइरहेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमबाट कृषि सडक, पैनी तथा कुलाहरू मर्मत गरी एक सय २५ जनालाई रोजगार पनि सिर्जना गरिएको गाउँपालिका कार्यालयको प्रशासन शाखाले जनायो।

कृषिलाई व्यवस्थित गरेर लैजाने योजना

गढी गाउँपालिकाले सिँचाइ सुविधा नपुगेको स्थानका किसानका लागि बोरिङको व्यवस्था गर्दै आएको छ। कृषिलाई व्यावसायिक तरिकाले अगाडि बढाउनका लागि विविध पकेट क्षेत्रहरूलाई पनि विकास गरेर लैजाने योजनाका साथ अघि बढेको गाउँपालिका अध्यक्ष आश नारायण चौधरीले बताए।

मकैमा मल हाल्दै देवानगन्जका किसान। 

पछिल्लो डेढ वर्षमा गढी गाउँपालिका क्षेत्रमा गरिब सुकुम्बासीका लागि २० वटा घर निर्माणाधीन अवस्थामा रहेका छन्। वडा नं. २ मा निर्माणाधीन घरका लागि गाउँपालिकाको ५० लाख, ह्याबिट्यास नेपालको ४० लाख र स्थानीय श्रमदान १५ लाख रहेको गाउँपालिका योजना शाखाका योगराज निरौलाले जनाए। सुकुम्बासीका लागि घर निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेका छन्।

बर्जु ताल पर्यटकको मुख्य आकर्षण  

बर्जु गाउँपालिकामा रहेको चिमडीको एक सय ५२ बिघामा फैलिएको बर्जु तालमा स्वदेशी तथा विदेशी पर्यटकको जमघट हुने गरेको छ। अहिले बर्जु ताल चराको मुख्य वासस्थानका रूपमा चिनिन थालेको छ।

यहाँ २०२६ सालअघिसम्म हजाराैं-हजारको संख्यामा चरा आउँथे। तर, बिचमा तालको बाँध भत्किएर सुक्खा भएकाले गर्दा आएनन्, बाँध बाँधेर व्यवस्थित गर्न थालेसँगै चरा आउन थालेका हुन्। अहिले यहाँ एक सयभन्दा बढी प्रजातिका चरा आउने गरेका छन्। बर्जु ताल २०५२ सालदेखि ताल संरक्षण गर्न थालिएकोमा अहिले पर्यटक आउने क्रम बढ्न थालेका छन्।

ताल गाउँपालिकाको मातहतमा आएपछि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय र राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकासबाट बजेट आएपछि थप विकास भएको छ।

यहाँ पिकनिकका लागि पिकनिक स्पट, बोटिङ गर्ने व्यवस्था, फनपार्कलगायतको सुविधा रहेको छ। यहाँको तालमध्ये ३० बिघा क्षेत्रफलमा माछापालन हुने गरेको छ। बर्जु ताल गाउँपालिकाको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको छ।

यहाँबाट माछासँगै वनभोज स्थल, पार्किङ शुल्क, फनपार्क, बोटिङ, माटो बिक्रीलगायतबाट आम्दानी हुने गरेको छ।

प्रकाशित: १७ माघ २०८० ०३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App