अर्थ

फेरि रोकियो अदुवा निकासी

निकासी रोकिएपछि झापाको काँकडभिट्टा भन्सारको यार्डमा रोकिएका अदुवा लोड गरिएका ट्रक । तस्बिर : नागरिक

इलाम – नेपालको अदुवा निकासीमा भारतीय पक्षले फेरि अवरोध गरेको छ। विभिन्न बहानामा भारतीय भन्सारका कर्मचारीले अदुवा निकासी हुन नदिँदा झापाको काँकडभिट्टास्थित भन्सार कार्यालयको यार्डमा अदुवा लोड भएका गाडी १३ दिनदेखि थन्किएका छन्। व्यापारीहरूका अनुसार चिनियाँ अदुवासमेत मिसिएको भन्दै भारतले नेपाली  अदुवा आयतमा रोक लगाएको हो।

अकास्मात् निकासी रोकिएपछि अदुवा लोड भएका ६० ट्रक काँकडभिट्टा भन्सारमा थन्किएको बिब्ल्याँटेका व्यापारी कृष्ण पौडेलले बताए। उनले प्रत्येक गाडीमा १६ टनका दरले अदुवा रहँदा पनि करिब ९ सय ६० टन अदुवा भन्सारमा अलपत्र परेको बताए। ‘बाहिर सुन्नमा आएको चाहिँ चिनियाँ अदुवा नेपाली अदुवामा मिसिएर भन्ने छ,’ उनले भने, ‘वास्तविकता केहो भन्ने पत्तो पाइएको छैन, अदुवा बोकेका मेरै ४ वटा ट्रक भन्सारमा रोकिएको आज (आइतबार) १३ दिन बित्यो।’

पानट्यांकीस्थित भारतीय भन्सारका कर्मचारीले ‘माथिबाट तत्काललाई नेपाली अदुवा नपठाउनू’ भन्ने खबर आएको बताउने गरेको व्यवसायी बताउँछन्। ‘भारतीय भन्सारलाई नेपाली अदुवा रोकिनुको कारणबारे पत्र आएको छ भन्ने सुनेका छौं तर पत्रमा के छ भन्ने देखाएका छैनन् उनीहरूले,’ व्यापारी पौडेलले भने। अदुवा व्यवसायी संघका महासचिव इन्द्र बुढाथोकीले नेपाली अदुवाको निकासी फेरि रोकिएको बताए। ‘किन रोकिएको भन्ने जानकारी छैन,’ उनले भने, ‘तर, भारतीय भन्सारमा नेपाली अदुवा निकासी रोकिनुको कारणबारे चिठी आएको छ रे, भोलि (सोमबार) चिठी हेरेर मात्र निकासी रोकिनुको कारण भन्न सकिन्छ।’

यसअघि पनि पटक–पटक भारतीय भन्सारले नेपाली अदुवा निकासीमा अवरोध गरिरहेको थियो। ३ वर्षयता नेपाली अदुवा निकासीमा भारतले मुख्य सिजनमै अवरोध गरेपछि नेपाली व्यवसायी र किसान समस्यामा परिरहेका छन्। यो पटक अदुवा खन्ने सिजन सकिएपनि व्यापारीसँग भएको अदुवा बेच्ने बेला निकासी रोकिएपछि व्यापारी चाहिँ बढी समस्यामा छन्। ‘किसानसँग त अब धेरै अदुवा छैन तर गाउँका र बजारका व्यापारीसँग छ,’ जमुनाका अदुवा व्यापारी कृष्ण सापकोटाले भने, ‘हामीले बेच्ने बेलामा फेरि निकासी रोकिएकाले व्यापारीलाई डुबाउने भो।’

 

प्रकाशित: ७ माघ २०७४ १५:०३ आइतबार

फेरि रोकियो अदुवा निकासी