अर्थ

वाणिज्य बैंकहरूको नाफा ७० अर्ब

नाफा करिब २५ प्रतिशतले वृद्धि

अन्य व्यवसायमा अपेक्षित रूपमा नाफा आर्जन गर्न नसकिरहेको अवस्थामा वाणिज्य बैंकहरूले भने राम्रो नाफा आर्जन गरेका छन्। २० वटा वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७९/८० मा ७० अर्ब १७ करोड ५८ लाख रूपैयाँ नाफा कमाएका छन्। जुन अघिल्लो आर्थिक वर्ष २०७८/७९ भन्दा १४ अर्ब रूपैयाँले बढी हो।

वाणिज्य बैंकहरूले प्रकाशन गरेको चौथो त्रैमासिकको (असार मसान्तसम्म) अपरिष्कृत वित्तीय विवरण अनुसार २० बैंकको नाफा २४.९४ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले ५६ अर्ब १७ करोड २३ लाख रूपैयाँ नाफा कमाएका थिए।

२० वटा वाणिज्य बैंकमध्ये प्राइम कमर्सियल बैंक र कुमारी बैंकबाहेक सबैले नाफा बढाएका छन्। बैंकहरूमध्ये सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ। नबिलले एक वर्षमा ७ अर्ब ५२ करोड ७१ लाख रूपैयाँ नाफा कमाएको छ। यो अघिल्लो वर्षको भन्दा नबिलको नाफा ७६.८६ प्रतिशतले वृद्धि भएको छ।

वाणिज्य बैंकहरूले प्रकाशन गरेको चौथो त्रैमासिकको (असार मसान्तसम्म) अपरिष्कृत वित्तीय विवरण अनुसार २० बैंकको नाफा २४.९४ प्रतिशतले वृद्धि भएको छ।

अंकका हिसाबले दोस्रो नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक छ भने नाफा वृद्धिको प्रतिशतलाई आधार मान्दा स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ। ग्लोबलले ७ अर्ब २५ करोड ३४ लाख नाफा आर्जन गरेको छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकले अघिल्लो वर्षभन्दा गत आवमा नाफा ५६.२७ प्रतिशतले बढेको थियो। ग्लोबलको भने ४६.२६ प्रतिशतले बढेको हो। स्ट्याण्डर्ड चार्टर्डले ३ अर्ब ५२ करोड रूपैयाँ नाफा कमाएको छ।

राष्ट्रिय वाणिज्य बैंकले गत वर्षभन्दा नाफा १४.५४ प्रतिशत वृद्धि गरेर ४ अर्ब ९१ करोड रूपैयाँ नाफा कमाएको छ। त्यसैगरी, एनआईसी एसिया बैंकको नाफा ४ अर्ब ६५ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकको ४ अर्ब २९ करोड, एनएमबी बैंकको ३ अर्ब ४१ करोड, नेपाल बैंकको ३ अर्ब ४१ करोड रूपैयाँ नाफा रहेको छ। एभरेष्ट बैंकको नाफा ३ अर्ब ३९ करोड, हिमालय बैंकको ३ अर्ब २६ करोड, सिद्धार्थ बैंकको ३ अर्ब १९ करोड, कृषि विकास बैंकको ३ अर्ब ९ करोड, प्रभु बैंकको २ अर्ब ८२ करोड, सानिमा बैंकको २ अर्ब ६१ करोड रूपैयाँ नाफा रहेको छ।

राष्ट्रिय वाणिज्य बैंकले गत वर्षभन्दा नाफा १४.५४ प्रतिशत वृद्धि गरेर ४ अर्ब ९१ करोड रूपैयाँ नाफा कमाएको छ।

त्यसैगरी, लक्ष्मी सन्राइज बैंकले २ अर्ब २६ करोड, नेपाल एसबीआई बैंकले २ अर्ब २४ करोड रूपैयाँ, सिटिजन बैंकले २ अर्ब २१ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब ८५ करोड रूपैयाँ खुद नाफा कमाएका छन्। प्राइम कमर्सियल बैंकको गत वर्ष भन्दा नाफा १८.८१ प्रतिशतले घटेर २ अर्ब २६ करोड रूपैयाँमा सीमित भएको छ। त्यसैगरी, कुमारी बैंकको नाफा १ अर्ब ९५ करोड रूपैयाँ रहेको छ। यो अघिल्लो वर्षको भन्दा २४.१४ प्रतिशतले कमी हो।

लाभांश वितरण क्षमता १२.५५ प्रतिशत

बैंकहरूको नाफा औषतमा करिब २५ प्रतिशतले बढे पनि लाभांश वितरण गर्ने क्षमता करिब साढे १२ प्रतिशत मात्र रहेको छ। वाणिज्य बैंकहरूको औषत चुक्ता पुँजी १८ अर्ब ७३ करोड रूपैयाँ र वितरणयोग्य नाफा औसत १ अर्ब ५९ करोड रूपैयाँ छ। चुक्ता पुँजी र वितरणयोग्य नाफाका आधारमा गत आवमा वाणिज्य बैंकहरूको औसत लाभांश क्षमता ११.४२ प्रतिशत छ।

वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७९/८० मा एभरेष्ट बैंकले आफ्ना सेयरधनीलाई सबैभन्दा धेरै लाभांश वितरण गर्ने देखिएको छ। एभरेष्ट बैंकको नाफा ३६.८५ प्रतिशतले वृद्धि भएको भए पनि लाभांश क्षमता भने ४०.५ प्रतिशत छ। लाभांश वितरण गर्ने क्षमतामा दोस्रो स्थानमा एनआईसी एसिया बैंक रहेको छ।

बैंकहरूको नाफा औषतमा करिब २५ प्रतिशतले बढे पनि लाभांश वितरण गर्ने क्षमता करिब साढे १२ प्रतिशत मात्र रहेको छ।

१०.३५ प्रतिशत नाफा बढाएको एनआईसीको लाभांश क्षमता ३१.९९ प्रतिशत रहेको छ। ७६.८७ प्रतिशत नाफा बढाएको नबिल बैंकको लाभांश क्षमता भने १४.६४ प्रतिशत रहेको छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकको २९ प्रतिशत, कृषि विकासको १९.८९ प्रतिशत, सानिमा बैंकको १७.७३ प्रतिशत, माछापुच्छ्रे बैंकको १५.२९ प्रतिशत र नेपाल एसबिआई बैंकको १३.९३ प्रतिशत लाभांश वितरण क्षमता रहेको छ।

राष्ट्रिय वाणिज्य बैंकको ११.५९ प्रतिशत, लक्ष्मी सनराइजको ८.९४, ग्लोबल आइएमईको ८.२७, एनएमबीको ८.२८, सिटिजन्सको ७.३, नेपाल बैंकको ६.६२, सिद्धार्थको ५.६५ प्रतिशत, प्राइम बैंकको १.०६ प्रतिशत, प्रभु बैंकको ०.६९ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ०.४६ प्रतिशत लाभांश क्षमता रहेको वित्तीय विवरणले देखाउँछ। प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको लाभांश क्षमता शून्य रहेको छ।

हिमालयन बैंक र कुमारी बैंकको वितरणयोग्य नाफा ऋणात्मक भएकाले लाभांश क्षमता पनि ऋणात्मक रहेको छ। हिमालयन बैंकको ३.२८ प्रतिशत र कुमारी बैंकको ३.२३ प्रतिशत लाभांश क्षमता ऋणात्मक भएको हो।

प्रकाशित: २२ श्रावण २०८० ०३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App