अर्थ

हँसपुर नगरपालिकाको बजेट ४८ करोड ८२ लाख

धनुषाको हँसपुर नगरपालिकाले अगामी आर्थिक वर्षको २०८०/०८१ का लागि ४८ करोड ८२ लाख ४० हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ।

आइतबार नगरपालिका प्रमुख प्रदीप कुमार यादवले ११ औं नगर सभामार्फत आर्थिक वर्ष २०८०/०८१ का लागि उक्त अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका हुन्।

कुल बजेटमध्ये चालुतर्फ ३२ करोड २६ लाख ७२ हजार रुपैयाँ विनियोजन गरिएको छ। जुन कुल बजेटको ६६ प्रतिशत हो। पुँजीगततर्फ १६ करोड ५५ लाख ६८ हजार रुपैयाँ विनियोजन गरिएको छ। यो कुल बजेटको ३३.९९ प्रतिशत हो।

चालु आर्थिक वर्षमा राजस्व बाँडफाँड ९ करोड ५२ लाख ७२ हजार, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ११ करोड ५४ लाख प्राप्त हुने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

त्यस्तै स्वास्थ्य सेवालाई सहज बनाउन ७५ लाख, कृषि क्षेत्रमा सुधारका लागि ७५ लाख विनियोजन गरिएको छ। नगरपालिकाको कार्यालय संचालन तथा प्रशासनिक खर्चको लागि ९ करोड ५२ लाख छुट्याइएको छ।

पालिकाले स्वास्थ्य क्षेत्रका लागि मेरो स्वास्थ्य मेरो जिम्मेवारी नामक नयाँ कार्यक्रम ल्याएको छ। जस अन्तर्गत आर्युवेदीक औषधीलाई प्राथमिकता राखिएको छ। त्यस्तै एक घर पाँच जडीबुटी अभियानलाई निरन्तरता दिइने बजेटमा उल्लेख छ।

पालिकाले बालश्रम न्यूनीकरण गर्ने नीति समेत लिएको छ। हाल सम्म पालिकामा देखिएको बेरुजुलाई शून्यमा झार्ने तयारी नगरले गरेको छ। पालिकाभित्र उद्योग खोल्न प्रदेश सरकारसँग आवश्यक पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

प्रकाशित: ११ असार २०८० १७:१५ सोमबार