अर्थ

त्रिभुवन विमानस्थलबाट आयात-निर्यात ठप्प

काठमाडौं- व्यवसायी आन्दोलनको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) बाट हुने आयात–निर्यात ठप्प भएको छ। नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले कार्गो व्यवस्थापनको शुल्क १३ गुणासम्म वृद्धि गरेपछि शुल्क घटाउन माग गर्दै आयात–निर्यातकर्ता आन्दोलित भएका हुन्।

कम्पनीले कार्गो व्यवस्थापनको शुल्क वृद्धि गरेर आइतबारबाट कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो।  बढाएको शुल्क घटाउन माग गर्दै कारोबार ठप्प पारेका छन्। आयात–निर्यातकर्तालाई कुनै जानकारी नदिई कार्गो व्यवस्थापन शुल्क मनपरी ढंगले वृद्धि गरेको व्यवसायीको आरोप छ।

विदेशबाट आयात भएका र निर्यात हुने कुनै पनि सामानको कारोबार नभएको नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनका महासचिव सुन्दरप्रसाद दाहालले बताए। ‘हामीसँग कुनै पनि छलफल नगरी एकाएक शुल्क वृद्धि गरिएको छ,' दाहालले भने, ‘शुल्क नघटाउँदासम्म आयात–निर्यात गर्दैनौं।' अहिले कुरियर सेवासमेत बन्द भएको उनले बताए। शुल्क वृद्धिले मुुलुकको निर्यात व्यापारलाई पनि असर पुर्‍याउने उनले बताए। ‘यसले दैनिक उपभोग्य सामानको मूल्य पनि बढाउँछ,' दाहालले भने, ‘निर्यात निरुत्साहित भई नेपालको अन्तर्राष्ट्रिय व्यापारमा ठूलो असर पुग्छ।'

लिमिटेडले निर्यातजन्य वस्तुमा ५० किलोसम्म सामानको ७० रुपैयाँ लिँदै आएकोमा अहिले बढाएर ७० किलोसम्मको दुई सय रुपैयाँ पुर्‍याएको छ। एक हजार किलोको दुई सय २० रुपैयाँबाट बढाएर २८ सय ५० रुपैयाँ पुर्‍याएको हो। ७० किलोमाथि प्रतिकिलो दुई रुपैयाँ ८५ पैसाका दरले एक हजार किलोको २८ सय ५० रुपैयाँ शुल्क निर्धारण गरेको हो। ५१ देखि पाँच सय किलोसम्म एक सय २० रुपैयाँ, पाँच सय एकदेखि एक हजार किलोसम्म दुई सय २० रुपैयाँ, एक हजार किलोभन्दा बढी जति भए पनि प्रत्येक हजार किलोको दुई सय ८० रुपैयाँ लिँदै आएको थियो।

त्यसैगरी निर्यात गर्दा सात दिनसम्म विलम्ब शुल्क नलिएकोमा अहिले २४ घन्टा बित्नासाथ  प्रतिकिलो एक रुपैयाँ विलम्ब शुल्क लिने व्यवस्था गरेको छ। एयर कार्गोमार्फत विदेशबाट आउने सामानको शुल्क पनि निकै बढाएको छ। पहिले एक सय किलो हुँदा ४० रुपैयाँ रहेकोमा अहिले एक सय किलोको पाँच सय ३५ रुपैयाँ रहेको छ। प्रतिकिलो ४० पैसा लिने गरेमा अहिले बढाएर प्रतिकिलोको पाँच रुपैयाँ ३५ पैसा पुर्‍याएको हो। 

नयाँ नियम अनुसार कम्पनीले साधारण सामान निर्यात गर्दा प्रतिकेजी दुई रुपैयाँ ८५ पैसा वा दुई सय रुपैयाँमध्ये जुन बढी हुन्छ त्यत्ति लाग्ने व्यवस्था गरेको छ। बहुमूल्य सामान निर्यातको हकमा प्रतिकेजी तीन रुपैयाँ वा सय रुपैयाँमध्ये जुन बढी हुन्छ तथा आयातको हकमा प्रतिकेजी ८ रुपैयाँ वा दुई सय रुपैयाँमध्ये जुन बढी हुन्छ त्यति लाग्ने व्यवस्था गरेको छ। खतराजन्य सामान निर्यातमा प्रतिकेजी ६ रुपैयाँ वा ६ सय रुपैयाँमध्ये जुन बढी हुन्छ त्यति तथा आयातको हकमा प्रतिकेजी १६ रुपैयाँ वा चार सय रुपैयाँमध्ये जुन बढी हुन्छ त्यति रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ। यसैगरी नाशवान सामान निर्यातको हकमा प्रतिकेजी तीन रुपैयाँ वा तीन सयमध्ये जुन बढी हुन्छ त्यति र आयातको हकमा प्रतिकेजी आठ रुपैयाँ वा दुई सय रुपैयाँमध्ये जुन बढी हुन्छ त्यति लाग्ने व्यवस्था छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कम्पाउन्डमा रहेको एयर कार्गो भवनको व्यवस्थापन सो कम्पनीले गर्दै आएको छ। कम्पनीले ‘विमानस्थल सेवा शुल्क नियमावली २०६७' मा निर्धारण गरेको व्यवस्था अनुसार आइतबारबाट शुल्क लिने भन्दै शनिबार सूचना प्रकाशित गरेपछि व्यवसायी आइतबारबाटै आन्दोलनमा उत्रिएका छन्।

टिआइएले निर्धारण गरेको शुल्क उठाउन सुरु गरेको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका शाखा प्रबन्धक प्रेमराज भण्डारीले बताए। ‘हामीले शुल्क निर्धारण गर्ने होइन,' भण्डारीले भने, ‘टिआइएको भवन भएकाले उसकै निर्देशन अनुसार कार्यान्वनय गर्नु हाम्रो दायित्व हो।'

सरकारले निर्यात बढाउनुपर्ने बताइरहेको बेला निर्यातलाई निरुत्साहित गर्ने ध्येयले शुल्क वृद्धि गरेको व्यवसायीको आरोप छ। व्यवसायीले आफ्नै मेहनतबाट विभिन्न सामान उत्पादन गरी निर्यात गरिरहेको अवस्थामा निरुत्साहित गर्नको लागि शुल्क बटाएको निर्यातकर्ता हरि ढकालले बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता बिरेन्द्र श्रेष्ठले विमानस्थल सेवा शुल्क नियमावली २०६७ मा भएको व्यवस्था अनुसार शुल्क उठाउन नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडलाई निर्देशन दिएका बताए। ‘६ वर्षअघिनै नियमावली बनाएर नयाँ शुल्क निर्देशन दिएका थियौं,' श्रेष्ठले भने, ‘कार्यान्वयनमा नल्याएकाले सचेत गराएका थियौं। अहिले कार्यान्वयन गर्दा विरोध भएको हुन सक्छ।' आयात–निर्यात रोकेको विषयमा भने आफूलाई जानकारी नभएको उनले बताए। ‘शुल्क उठाउन थालेपछि विरोध भएको हुन सक्छ,' श्रेष्ठले भने।

शुल्क घटाउन माग गर्दै आयात–निर्यातकर्ताका प्रतिनिधि संस्थाले  माग गरेका छन्। नेपाल चेम्बर अफ कमर्स, नेपाल तयारी पोसाक उद्योग संघ, नेपाल निर्यात परिषद, नेपाल भन्सार एजेन्ट संघ, नेपाल कुरियर सेवा संघ, अन्तर्राष्ट्रिय एयर एक्सप्रेस एसोसिएसन, नेपाल उनी फेल्ट उत्पादक तथा निर्यात संघ, नेपाल हस्तकला महासंघ, नेपाल पस्मिना उद्योग संघ, नेपाल गलैंचा निर्यातकर्ता संघ, नेपाल भन्सार मजदुर संघ र अखिल नेपाल ढुवानी मजदुर संघ लगायतले संयुक्त विज्ञप्ति प्रकाशित गरी विरोध जनाउँदै शुल्क वृद्धि फिर्ता लिन माग गरेका छन्। संयुक्त विज्ञप्तिमा बढाएको शुल्क नघटाउँदासम्म आयात–निर्यात पूर्ण रुपले बन्द हुने जनाएका छन्।

प्रकाशित: ११ वैशाख २०७४ ०२:५१ सोमबार

त्रिभुवन विमानस्थलबाट आयात-निर्यात ठप्प