अर्थ

माघे संक्रान्तिदेखि इलाम–काठमाडौं उडान

इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल। तस्बिर: भीम/नागरिक

इलाम सदरमुकामस्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको गतवर्ष स्थगित उडान पुनः चालु गरिने भएको छ। नेपाल वायुसेवा निगमको एउटा जहाजले माघे संक्रान्तिदेखि सातामा १ दिन काठमाडौं–इलाम र इलाम–काठमाडौं उडान गर्ने भएको हो।

इलाम नगरपालिकाका अनुसार यो रुटको एकतर्फी भाडादर प्रतिव्यक्ति ६ हजार ३ सय रुपैयाँ तोकिएको छ। त्यसमा ७० वर्ष नाघेका नागरिकलाई करबाहेकको रकममा ५० प्रतिशत भाडा छुट गरिएको छ। २५ वर्ष ननाघेका विद्यार्थीलाई परिचयपत्र र उमेर खुल्ने प्रमाणका आधारमा तथा २ देखि १२ वर्षसम्मका बालबालिकालाई जन्मदर्ताका आधारमा भाडामा २५÷२५ प्रतिशत छुट दिइने भएको छ। ज्येष्ठ नागरिक र विद्यार्थीलाई दिइने छुट चाहिँ एक उडानमा २÷२ जनाले मात्रै पाउने नगरपालिकाले जनाएको छ। यात्रुले इलाम बजारस्थित सिटीमार्टको पहिलो तल्लाबाट टिकट लिने व्यवस्था मिलाइएको छ। काठमाडौं–इलाम उडानमा ५० देखि ५५ मिनेट लाग्नेगरेको छ।  

१९ सिट क्षमताको ट्विनअटर जहाज यहाँ सञ्चालन गरिने छ। नगरपालिका र नेपाल एयरलाइन्सबीच उडानका लागि सहमति भएको नगर प्रवक्ता नुतनदेव दुलालले बताए। उनका अनुसार विमानस्थल सुरक्षा, विमानस्थलमा कर्मचारी व्यवस्थापन र सरसफाइलगायत इलाम नगरले गर्नेछ।

नगरपालिका र तारा एयरलाइन्सबीचको सम्झौतामा गतवर्ष नै यो विमानस्थलमा व्यावसायिक उडान गरिएको थियो। तर, त्यतिबेला १२ उडानका लागि सम्झौता भइ विमानस्थल सञ्चालन गरिएपनि सम्झौता सकिएपछि निरन्तर उडान हुन सकेको थिएन। तारा एयरको ट्विनअटर जहाज सातामा २ पटक आउ–जाउ गर्दा यात्रु अभाव भएको थिएन।  

२८ करोड हाराहारी रुपैयाँ खर्चेर कालोपत्रेसहित निर्माण सकिएको विमानस्थलमा स्थायी टर्मिनल, व्यवस्थित शौचालयलगायत संरचना बन्न भने बाँकी नै छन्। विमानस्थलको ६ सय ७० मिटर लम्बाई र २० मिटर चौडाईको धावनमार्ग कालोपत्रे भएको छ। २०७५ जेठ २१ मा यो विमानस्थलमा परीक्षण उडान गरिएको थियो। यो विमानस्थलबाट इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङका बासिन्दाले पनि सुविधा पाउनेछन्।  

प्रकाशित: २८ पुस २०७९ ११:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App