दोखिलाले आफ्नी छोरी खुसबुसँग कराएर भनिन्, ‘होइन खाना खान पनि कर गर्नुपर्छ? खुरुक्क नआएर के हेरिबसेकी हँ?’
खुसबुले अँध्यारो मुख लगाएर भनिन्, ‘कि काउली कि बोडी पकाइदिनुस् अनि मात्रै खान्छु।’
आमा र छोरीको कुरा सुनिरहेका बाबुले खुसबुलाई भने, ‘खुसबु, लु खाना खान आऊ। आज तिमी आमाले भनेको किन मान्दै छैनौ हँ?’
खुसबुले भनिन्, ‘बाबा, म त खान्न के! किन मेरो फुर्के कुखुरी काट्नुभयो?’
दोखिलाले फेरि खुसबुलाई भनिन्, ‘हेर, अघि पनि रोर्याइँ गर्यौ। अझै रोर्याइँ छोडेकी छैनौ?’
छोरीले भनिन्, ‘मैले कति भन्दा पनि किन मान्नुभएन त?’
बाबुले आफ्नी श्रीमतीलाई भने, ‘फुर्के पोथी भएर पनि बास्यो। त्यसैले काटेको। यसरी फुर्के बासेपछि खराब हुन्छ। छोरी मान्छे र पोथी बासेको एउटै हुन् भनेर सम्झाऊ न छोरीलाई।’
श्रीमती दोखिलालाई कस्तो-कस्तो लाग्यो। उनले सम्झिइन्, ‘फुर्केसँगै जोडिएका हामी छोरी मान्छे।’
सबै जना चूपचाप बसेको देखेर बाबुले भने, ‘होइन के सोचेर बस्या भन्या? आफूलाई जान हतार भइसक्यो।’
दोखिलाले श्रीमानलाई भनिन्, ‘छोरी खाँदिन नै भने किन कर गर्नु? आउनुस्, तपाईंचाहिं खाँदै गर्नुस्।
’दोखिलाले खाना पस्किदिइन्। छोरी पर बसेर पिलपिलाउँदै थिइन् अनि उनले बाबालाई दिक्दारी भावमा सोधिन्, ‘बाबा, पोथीले किन बास्नु हुँदैन!’
प्रकाशित: २६ कार्तिक २०७९ ०३:४९ शनिबार