कला

हराएको चिठी

कथा

डा. हिमलाल श्रेष्ठ

बेलिसरा आज एकतमासले गड्गडाएर बग्ने सोलु खोला हेरेरबसिरहेकी छिन्। ऊ आफूमा मिसिने सानातिना खोलाखोल्सी अनि छहरेहरूलाई समेटेर ईर्ष्या लाग्ने गरी बग्छ-‘छङलङ-छङलङ’ र आफू समुद्रको खोजीमा दौडिन्छ। त्यो उसको इतिहासदेखि चलिआएको निरन्तरता हो। बग्थ्यो, बग्दैछ र बगिरहन्छ। अझै अहिले त उसमा फर्कीफर्की आउने जवानी फर्किएर आएको छ। पचासौं वर्षपछि ऊ घनघोर वर्षासँगै वनजंगल, खेतबारी, पाखापखेरा, टारी, बेंसी, उवडखावड, घरबस्ती, करेसा सबका सब रन्थमोल पार्दै, तहसनहस बनाउँदै खोलाखोल्सी खोतलेर भँगालोमा सबैलाई बेरेर लैजान्छ। फेरि पनि उही समुद्रको खोजीमा निस्कन्छ र छुट्छन् तिनै छिचिमिरा जस्ता पातपतिंगर, किटपतंग, जीव-जीवात्मा जो छाड्न सक्दैनन् आफ्नो थातथलो अनि जो छाड्न सक्दैनन् आफ्नो सार्वभौम उहापोह। तिनलाई माटाको महकले तान्छ। धर्तीको गुरुत्वले तान्छ, लड्दैपड्दै हिंड्दै सम्हालिन्छ, बस्तीको मायामोहले तान्छ र फेरि पनि नयाँ सिर्जनामा तल्लीन हुन्छ। घरगोठ जोड्छ, करेसा खलिहान बनाउँछ र लालाबाला काखी च्यापेर ऊ आफूलाई न्यानोको जोहो गर्छ।

अघिल्लो स्थानीय चुनावमा भएको तनाव यसपटक घटिसकेको थियो। तिंगला क्षेत्र नेचा सल्यान छाडेर अर्को गाउँपालिकातर्फ समावेश भएर राम्रोसँग स्थानीय चुनाव सम्पन्न भयो र रौनक थपियो।

हिजो जसले त्यो तिंगलाको जंगल छिचोलेर समाजको दियो बन्दै एकले अर्को गरेर सलेदो सल्काएझैं उनले त्यो ग्रामीण भेगमा रगत-पसीना बगाएर जनताको दुःख-सुखलाई आफ्नो दुःख-सुखको मानक मानेर आफ्नो घरपरिवार नभनेर दुःख,पीडा आफूले खेप्दै देशमा चलेको १० वर्षसम्मको हुन्डरी पार गरेकी थिइन्। सुरुसुरुमा त उनको लगाव खालि विद्यालयको शिक्षण र घरपरिवार मात्र थियो तर समयको माग हो कि उनको प्राथमिकता फेरिंदै गयो। उनको समय क्रमशः समाज विकासको योजना, समाज परिवर्तनको खाका कोर्दै बित्न थाल्यो।

नाम के हो? ‘बेलिसरा’ अनि थर? सोध्न नभ्याउँदै ‘राई हो’ भनेर लेघ्रो तानेर भन्थिन्। हरेक दिन विद्यालय जाँदा र आउँदा पुलिसको खानतलासीमा पर्थिन्। नचिनेको कोही थिएन तर विश्वास कसैलाई थिएन। एक अर्काको चियोचर्चो र चासो बढी हुन्थ्यो। धेरैजसो समय यस्तै चासोले गर्दा जनमानसले दुःख खेप्नुपर्थ्यो। शंका र आशंकाले समस्यालाई आफै निम्तो दिंदै हिंड्थ्यो।

उनै बेलिसरा राई अहिले गाउँपालिकाको अध्यक्षमा निर्वाचित बनेकी थिइन् र त्यो पालिकामा एउटा अमूर्त रौनक छाएको थियो। राजनैतिक खिचातानी र छिनाझपटी त हुने नै भयो तथापि धेरैको धारणाचाहिं लामो समयको परिश्रमको परिणामको रूपमा बुझ्न थाले। चुनावको रौनकपछि छोरी महिमा ज्यादै खुसी भइन् तर धेरै दिन बस्न सकिनन्। उनी काठमाडौं फर्किइन्। पढाइमा व्यस्त बनिन्।

यता बेलिसरा नयाँनयाँ कामको अनुभवले व्यस्त बनिन्। अघिल्लो स्थानीय चुनावको निचोडमा अधिकांश महिला उपाध्यक्ष या उपमेयर पदमा निर्वाचित भए। यो वर्ष भने अलिक फरक भो धेरै महिला अध्यक्ष र मेयरमा निर्वाचित बने। यसले बदलिंदो सोचको प्रतिबिम्बित गरेको आभाष भयो। पालिकाको काममा पनि असारको चटारो देखियो। नीति तथा कार्यक्रमको घोषणा, बजेटको भाषण अनि यो वर्षको कार्यक्रमको कार्यान्वयन आदि काममा व्यस्त बनिन्, बेलिसरा।

एकजना वैशाखी बोकेका प्रौढ व्यक्तिको आवाज आयो, ‘हैन तिमीहरू पुराना कुरा सबै बिर्सेर हिंड्ने हो? तिमीहरूलाई इतिहास चाहिन्न। अहिले गाउँमा बिजुली बल्यो। अब दियो बिर्सने हो? अहिले बाटामा मोटर गुड्यो। के अब हाम्रो पाइला अगाडि नबढ्ने त? अहिले मोबाइलमा सबै कुरा हेर्न सकिन्छ। के अब विद्यालयको पठनपाठन नगर्ने? आज कम्प्यूटरमा फोटो, भिडियोसहित कुरा गर्न सकिन्छ, के अब हुलाक व्यवस्था हटाउने त?

उनको कुराले बेलिसरा झल्याँस्स भइन्।

पालिकाको धेरै बैठकमा सोबारे छलफल भयो र धेरै पुराना तथा ऐतिहासिक धरोहरहरूको संरक्षण, वातावरण संरक्षण, ताल तथा पोखरीहरूको पुनर्भरण, विद्यालय शिक्षाको व्यवस्थापन, स्वास्थ्य क्षेत्रको सेवा लगायत अन्य सम्झनलायक गाउँघरको उन्नयनका लागि कामहरू अघि बढे। सँगसँगै ऊ समयमा थालनी गरिएको र देशको द्वन्द्वले अलपत्र बनेको ‘किसान पुस्तकालय’ को पुनःजागरणका लागि कार्यक्रम तय भयो। बेलिसरालाई याद भयो, ‘किसान पुस्तकालय स्थापनाकालमा स्थानीय अतिरिक्त हुलाकको योगदान अधिक थियो।

उनले नै प्रस्ताव राखेर तत्कालीन अतिरिक्त हुलाकलाई अझै चुस्त दुरूस्त राख्ने निर्णय भयो।

किसान पुस्तकालय स्थापना गर्दै गर्दा पुस्तकालयलाई चाहिने अन्य सहयोग लगायत दाताबाट पठाइएका धेरैजसो पाठ्यसामग्री, पत्रपत्रिका, पुस्तकहरू हुलाक मार्फत नै उपलब्ध हुन्थ्यो। त्यसबेला हुलाकको आफ्नो साधारण भवन थियो र हुलाक विभागले दिएको हुलाकको कामकाज सुचारु गर्ने सामग्रीहरू आएका थिए। त्यो धेरै प्रसंगले उनको सम्बन्ध रह्यो र पछिसम्म पनि बेलिसराले हुलाकसँग साइनो गाँसिरहिन्। जतिबेला उनी स्कुले विद्यार्थी थिइन्। कहिले पत्रिका पढ्न, कहिले चिठी प्राप्त गर्न र कहिले चिठी पठाउन हुलाक पुग्थिन् र पछिपछि किसान पुस्तकालयको कामले हुलाक पुग्थिन्। जब उनी स्थानीय विद्यालयमा शिक्षिका बनिन्–उनको हुलाकसँग सम्बन्ध झन् बढ्दै गयो। उतिबेला उनको सम्पर्क र सूचनाको माध्यम नै हुलाक मार्फत चिठीको आदानप्रदान थियो। उनले जीवनमा लिएका धेरै निर्णयको सूचनाको स्रोत त्यही अतिरिक्त हुलाक थियो। त्यही हुलाक मार्फत हल्कारा चिठी बोकेर उनको आँगनसम्म आउँथ्यो र उनै हल्कारा उनको चिठी लिएर हुलाक लैजान्थ्यो।

त्यो हुलाकलाई अब चुस्त, दुरुस्त र आधुनिक सेवासहित अत्याधुनिक भवनमा सार्ने उनको धोको थियो र सोहीबमोजिम कामहरू अघि बढ्यो। सोही हुलाक मार्फत सबै सूचना आदानप्रदानको काम एकै स्थानबाट गर्ने उद्देश्यका साथ भवन निर्माणको काम सकियो। जहाँ तत्कालीन हुलाक सेवा लगायत इन्टरनेट,इमेल, फोटोकपी तथा अन्य कम्प्यूटरसम्बन्धी सेवा सञ्चालन गर्ने केन्द्रको रूपमा चलाउने छुट्टाछुट्टै स्थानको व्यवस्था बनेको थियो।

बेलिसराको यादगार अझै ताजा बन्दै गयो। उनका लागि हुलाक मार्फत प्राप्त हुने चिठीपत्र उनको हरेक कदमको लागि मार्गनिर्देश गर्दथ्यो। कहिले त्यो माथिल्लो समितिबाट हुन्थ्यो कहिले त्यो कमिसारको अनि कहिले त्यो समानान्तर समितिहरूको हुन्थ्यो। कहिले त्यहाँ निर्देशन प्राप्त हुन्थ्यो, कहिले त्यहाँ अनुरोध आउँथ्यो, कहिले त्यहाँ सर्कुलर प्राप्त हुन्थ्यो। उनी एक असल शिक्षिका भएको नाताले उनीमाथि कम मात्र आशंका हुन्थ्यो।

उनलाई अझै पनि मनभित्र चिच्याहट छ। हुटहुटी छ, त्यो शून्य समयको ख्याल छ। उनको नाममा धेरै चिठीपत्र आयो। धेरैको जवाफ उनले पठाए। उनलाई हुलाक सेवाप्रति धेरै विश्वास बढेको थियो। उनी ढुक्क थिइन्। उनले पठाएको चिठी र उनलाई पठाइएको चिठीको आदानप्रदान बेरोकतोक भइराखेको छ। पछिपछि उनका चिठीपत्र संगठन र सर्कुलरको मात्र नभएर व्यक्तिगत चिठी पनि आउने जाने भएको थियो। सँगसँगै जीवन जिउने सपना देखेर साटिएको मायाले क्रमशः उनलाई सुदूर भविष्यको उज्यालो र रोमान्चित आँगनतर्फ डोर्‍याएको उनले आत्मसात् गरेकी थिइन् र त्यही रूपमा ‘पर्वत माला’ को पनि बुझाइ थियो। एक आपसमा सुझबुझ थियो। हुलाकमार्फत नै भावनाहरू साटासाट भैरहन्थ्यो।

भौतिक भेटघाट पनि बेलाबेला हुने गर्थ्यो। बेलिसरा आफ्नो शिक्षण र राजनैतिक जिम्मेवारीबाट समय निकालेर थोरै निजी कुराकानीमा लिन हुन्थिन्। पर्वतमालाको जीवन र जगतप्रतिको दृष्टिकोण, उनको समग्र विषयलाई पर्गेल्ने क्षमता अनि मिजासिलोपनामा आफूलाई समेट्दै एकाकार बनेकी थिइन्। जैविक आवश्यकताले बेलिसरा र पर्वतमाला एकाकार भएका थिए। शारीरिक आवश्यकता पूर्ति गरेका थिए।

जब अन्तिम भेटमा बिदाई भएर देश र जनताका लागि मृत्यु या जितको कसम खाएर पर्वतमाला माने भञ्ज्याङको मोर्चाबाट हिंडे। त्यसपछि केही समय चिठीपत्र आदानप्रदान भयो। बेलिसरा आफ्नो कदमप्रति सन्तुष्ट थिइन्। अब उनी आफूहरू बिचको सम्बन्धलाई सांगाठनिक रूपमा नै औपचारिक रूपमा मूर्तता दिनुपर्ने सोचिरहेकी थिइन्।

उनले आजसम्मको भावना पोखेर चिठीमा आफूभित्रको हरप्रश्न र आगामी उज्यालो दिनको परिकल्पनासहित खुसी र चुनौती दुवै सूचनासहित चिठी लेखिन्। जुन दिन उनले त्यो चिठी हल्कारालाई दिएर घर फर्किन्, उनको खुसीको सिमाना थिएन। उनी एक किसिमले आफ्नो मनको बोझ हल्का भएको महसुस गर्दै थिइन् भने अर्कोतर्फ आशातित भविष्यको कल्पनामा हर्षित थिइन्।

उनले त्यो चिठीको जवाफ धेरै कुरिन्। हल्कारालाई धेरै दिन, हप्ता, महिनासम्म सोधिरहिन्, कहिले त उनी आफै हुलाकसम्म पुगेर खोजी गरिन्। कुर्दाकुर्दा महिनौं बित्यो, कुनै खबर या जवाफ पाइनन्। निराश बनेर उनी फर्कने गर्थिन्। उनले पठाएको चिठी पाएनन् कि मेरो चिठी हेरेर पनि उनले मलाई जवाफ नै पठाएनन् या उनले पठाएको चिठी मकहाँ, त्यो अतिरिक्त हुलाकमा आइपुगेन कि के भयो होला? उनको मनमा अनेक कुरा खेल्न आइपुग्थे। कहाँ हरायो त उनको जवाफ? कहाँ हरायो त्यो चिठी? कि उनको मन फेरियो? या मोडियो अर्कै सोचतिर? सम्भिंदा उनलाई भाउन्न हुन्थ्यो। तथापि उनको आड, भरोसा र विश्वासमा एक रत्ति कमी हुन्थेन। बरु उनको आँखामा टिलपिलटिलपिल आँसु भरिन्थ्यो। देशको माहोलले उस्तै पिरेको थियो। कुनै मोर्चामा अघि बढे जस्तो, कुनै मोर्चामा पछि परे जस्तो-उनी दोधारमा थिइन्। जनताको मुद्दाले जित्दै छ कि हार खाँदै छ। पछि नवौ महिनापछि उनले छोरी महिमा जन्माइन्। कतिपय अनुत्तरित प्रश्नको जवाफ थाती राखेर नै महिमालाई हुर्काइन्। संघर्षशील समय व्यतित गरिन्। समय बित्दै गयो। राजनीति र साङ्गठनिक अवस्थाले कोल्टे फेर्दै गयो।

त्यो दिन नयाँ हुलाक भवन उदघाटनको कार्यक्रम भएकाले सूचना प्रविधि विषयमा स्नातकोत्तर पढ्दै गरेकी महिमा काठमाडौंबाट सोलु आएकी थिइन्। कर्मचारीको साथसाथमा महिमा पनि सामन्जस्यमा जुटेकी थिइन्। आमाको खुसीसँगै आफूलाई हराइरहेकी थिइन्। त्यो दिन मिल्किएको पत्रमञ्जुषा, जसलाई सबैले बिर्सेका थिए, स्थापना गर्ने कार्यक्रम थियो। संयोगवश त्यो पत्रमञ्जुषाको स्थापनामा महिमा पनि खटिरहेकी थिइन्। बेलिसराको व्यस्तता अर्कै थियो। सो पत्रमञ्जुषाको सरसफाइ गर्दा महिमाले एउटा खाम पाइन्। नियालेर हेरिन् जसमा आमा बेलिसराको नाम लेखिएको थियो। उनले अरूलाई केही नभनी आफूसँग राखिन्। सबै कार्यक्रम सकेर घरमा आराम गर्ने बेलामा महिमाले त्यो चिठी आमालाई देखाइन्। बेलिसरालाई त्यो चिठीको अक्षर देखेर नै छटपटी बढिसकेको थियो। चिठी पर्वतमालाको थियो। खोलेर हेरिन्, त्यो उनले वर्षौं अघिदेखि कुरेर बसेको चिठीको जवाफ थियो। उनी एकतमासले भित्तामा हेरेको हेर्‍यै भइन्। चिठी लेखेको बिसौं वर्षपछि प्राप्त जवाफ उनले नियाल्न सकिरहेकी थिइनन्।

बडो यत्नका साथ चिठी पढेर भोलिपल्ट बिहान बेलिसरा उठिन् र उज्यालो अनि हर्षित नयन लिएर छोरीलाई बोलाइन्, ‘महिमा, हेर यो चिठी तिम्रो बाबाको हो। तिमीले वर्षौंदेखि खोज्दै आएको चिनो, तिम्रो नभेटिएको बाबाको चिनो।’

आमाछोरी मिलेर चिठी पढे। चिठीले समेटेको तत्कालीन देशको अवस्था, त्यतिबेला बेलिसराले भोग्नुपरेको अवस्थाको चित्रण अनि आफ्नो अवस्थाबारे पर्वतमालाले व्यक्त गरेका भावनाले दुवै जनाका आँखा एकछिन पनि ओभानो रहेन। उनको अभावले भोग्नुपरेको दुःख सम्झेर उनको मन कटक्क भयो। हरप्रयास गर्दा पनि उनी भेटिएनन्। आज भन्यो भोलि भन्यो, कुर्दाकुर्दा आँखा टट्टाए। अन्तमा बेपत्ताको सूचीमा भेटिए र आज उनको बिस वर्षअघिको चिठी भेटियो। अब यो चिठी र बेपत्ता सूचीले उनी कतिका प्रश्नहरूको प्रत्युत्तर गरून्। उनको मन एकतमासको भयो।

प्रकाशित: १७ कार्तिक २०७९ ०७:५३ बिहीबार

अक्षर