कला

छोरा फर्केन

लघुकथा

राजन घले

 १) देउसी

तिहारको रमझम उधुमै थियो। गाउँलेबाट देउसी गुरु दर्जा पाएका जंगबहादुर लक्ष्मी पूजाको अर्को दिन अस्वस्थले बार्दलीमा आराम गर्दै थिए।

एक्कासि देउसिरेको आवाजले मन झस्कियो। गाउँमा अल्लारे युवाहरू देउसी खेलेको सूचना पाए।

साठी बर्से जंगे घरघरमा गई देउसी भट्टाउँदा घरमुलीहरू खुब खुसी हुन्थे। मिठो आवाज र उत्कृष्ट भट्टयाउने शैलीले सबैलाई मनोरञ्जन दिलाउँथे।

राजकालमा हुर्केका जंगेलाई देउसीको पूरै इतिहास थाह थियो। जंगेले मार्मिक र चोटिलो आशिक दिनुहुन्थ्यो। त्यसैले होलान् धेरैले तारिफ गर्थे।

छिमेकी घर भ्याएर कल्याङमल्याङ गर्दै आफ्नै घरआँगनमा आई युवा टोली भट्याउन थाल्यो। कान ठाडो पारेर जंगे सुनिरहे। अल्लारे युवाहरू ताल न बेताल लयबिना देउसी भट्याएर उटपटयाङ गरेको जंगेलाई कत्ति पनि मन परेन।

जंगे बार्दलीबाट झरे र भन्न थाले,‘ए नाति केटाहरू, तिमीहरू हाम्रो चलनचल्ती,संस्कार र संस्कृतिमाथि किन खिल्ली उडाउँछौ? खेल्ने भए राम्रोसँग खेल नत्र बाटो लगिहाल!’

 युवाहरूले बाजेलाई जिस्काएको पारामा कुरा लडायो, ‘हामीले नखेले पूरै गाउँ नै शून्य होला जस्तो लाग्यो। त्यसैले देउसी खेल्दै हिंडेको। हामीले खेलेको ठिक लागेन र बाजे?’

जंगे जगिंदै फेरि बोल्यो, ‘हेर नातिहरू, देउसीको पनि आफ्नो इतिहास छ। यसको महत्त्व छ। कसरी, किन र के करण खेलिन्छ, के तिमीहरूलाई थाहा छ? लु कसलाई थाहा छ भने भन?’

‘इतिहासको कुरा कहाँबाट थाहा पाउनू बरु बाजेले बताइदिए हामीले पनि थाहा पाउथ्यौं कि?’ युवाहरूले नम्रसाथ अनुरोध गर्‍यौं।

‘त्यसो भए सुन अल्लारेहरू हो।’ जंगे लामो सास तान्दै सुनाउन थाले, ‘देउसी एउटा पौराणिक कथा हो। कुनै काल पृथ्वीमा एकजना राजा थियो। नाम बलिराजा, राजा  विभिन्न खेलकाण्डमा परेर पाताल पुगे। पाताल पुगेको राजाले तिहारको बेला घुम्न आउने अनुमति पाएको थियो। जुन अवसरमा बलिराजा आउन नभियाएर अरूलाई पठाए।

जानेहरूले हामीलाई बलिराजाले पठाएको भन्दै गीत शैलीमा लय मिलाएर भट्याउदै देउसी खेली सूचना सन्देश प्रवाह गरेको थियो।

 २) लिंगे पिङ

युवाहरूले दशैंतिहार रमाइलोका लागि गाउँमा पिङ लगाएको थियो। दशैंको पहिलो दिन युवायुवतीहरू सबै जम्मा भएर खेल्न थाल्यौं।

खेल्नेहरूको हुलभित्र कुले, डिले साथमा सैंहिया पनि थिइन्।

सबैजना पिङमा झुन्ड्याएर खूब रमाउँदै थियौं। कुले, डिले र सैंहिया अन्तिमतिर खेल्ने सल्लाह गर्दै आफूहरू सँगसँगैको दौंतरी र आफूभन्दा मुनिका केटाकेटीलाई खेलाए।

सबैको पहिलोपटकको पालो सकेर उनीहरू खेल्ने कुरा उपस्थितिहरूलाई जनायौं। कुले र डिले दुवैले लेडिज फस्ट भन्दै सुरुमै सैहियालाई खेलाइन्।

सैंहियाको पालो सकेपछि कुले र डिले तानातान र भनाभनमा पर्‍यो।

कुले पिङ समाउँदै डिलेलाई भन्यो,‘म पहिला खेल्छु अनि तिमी है?’

डिलेले कुलेको कुरा नाइँनास्ति गर्न थाले, ‘हुँदैन, म पहिला त्यसपछि तिमी।’

‘हुन्न के ..! म पहिला!’ कुलेले  फेरि भन्यो।

डिलेले जवाफ फर्कायो,‘हुन्न म फस्ट.!’ 

‘लल, सुरुमा तिमी नै खेल।’ डिलेको जबर्जस्तीलाई कुलेले छोडिदिए।

डिले पिङमा बसे।

‘ओई कुले मलाई पछाडिबाट धाकेल्देऊ है?’ कुलेलाई डिले अनुरोध गर्‍यो। 

कुलेले सकारात्मक प्रतिक्रियाको मुन्टो हल्लाई डोरी तानेर धकेल्दियो।

डिले हुत्तिएर मच्चाउँदै चचहुई गर्दै आनन्द लिंदै थियो।  

लगातार खेली तातिरहेको डोरी एक्कासि फुस्किंदा डिले तीन कान्लो तल बजारियो।

अन्ततः दिउँसै तारा देखेको डिलेको झन् देब्रे हात ठनक्कै भयो।

साथीको हात भाँचेको देखेर कुलेले धैर्य बुझ्यो।

३) विद्यमान चुनाव

भेडाहरूको आफ्नो गोठालो चुन्ने चुनाव आउँदै थियो। धेरै गोठालामध्येबाट एक गोठालो चुन्ने मौका भेडाहरूले पायौं। योभन्दा अघिल्लो निर्वाचनमा चुनिएका गोठालो डाँडामाथिको घाम भएर उनीहरूले असुरक्षित महसुस गरेका थियौं।

अझै बारम्बार एउटै अनुहारको कुहिना लागेको रूखका ठुटा, डुब्न लागेका घाम जस्ता, खिया र भुत्ते हँसियाहतौडाप्रति सबै असन्तुष्टि थियौं।

गोठालाहरू गतिला नभएकै कारण काला भेडाहरूको जग्गामा सधैं भारतीय बाघहरू आएर हक जमाउन खोजिरहन्थ्यो। सेता भेडाहरूको चरण क्षेत्रमा चाइनाको स्यालहरू आएर दुख दिइरहन्थ्यो।

समस्त भेडाको हेरविचार र सुरक्षा दिनुको सट्टा गोठालाहरूबाटै सेकाएर मार्गमा पारेपछि सबै भेडा एकदिन सल्लाह गर्‍यौ।

अब आउने चुनाबमा हामी सबै सजग र सचेत हौं। सिंगो गोठ र हाम्रो चरण सिमा समाल्न सक्ने अनि हामीहरूको दुःखकष्ट बुझ्नेलाई मात्र भोट दिइएर गोठालोमा राखौं।

यसै बिचमा एक भेडा अगाडि सारेर बोल्न थाल्यो। यो सही निर्णय हो। अब हामीले यी पुराना गोठाला भनाउँदाहरूलाई थन्क्याउनुपर्छ। यी रोगी अशक्त वृद्धहरूलाई राख्नु हँुदैन। आफ्नो सुरक्षासमेत गर्न नसक्नेहरूले हाम्रो बारेमा सोच्नु सपना देख्नु जस्तै हो। त्यसैले प्रत्यक्ष रूपमा हामीहरूको पिरमर्का, दुःखसुख र पूरै गोठलाई रक्षा र विकास गर्न सक्नेलाई मात्र हाम्रो अभिभावकको रूपमा राखौं। जो अभिभावक प्रत्यक्ष हामी माझबाटै चुनौं।

यसै बिचमा फेरि अर्को भेडी आएर बोलिन्। साथीले बोलेको कुरामा मेरो पूर्ण समर्थन छ। हामी सबैले बुझेको, देखेको र चिनेको हाम्रा लागि उपयुक्त हली लाम्कानेज्यू हुनुहुन्छ।  उसैलाई अगाडि लागौं? ऊ नयाँ अनुहार भए पनि ऊसँग ज्ञान, क्षमता र भिजन छ।

उपस्थित सबैले भेडीको कुरालाई वाहीवाही र समर्थन ग¥यौ। सबैले लाम्कानेलाई भोट दिएर जिताउने निर्णयमा पुग्यौं।

अन्ततः लाम्कानेले चुनाव जित्यो। सबै भेडा आफूले खोजेको रोजेको गोठालो पाएकोमा उत्सव मनायौं।

 ४) छोरा फर्केन

‘आमा, गरिब भएर औधी दुःख पायो है! धन कमाउन म पनि विदेश जानुपर्छ कि क्या हो?’ घरको छानाको प्वालबाट आकाशको तारा हेर्दै छोराले आमालाई सोधे।

आमाले दुखी मान्दै भनी, ‘तिम्रो बाले पनि छोडेर गइहाले। तिमीले पनि छोडेर गयो भने म कसको मुख हेरेर बस्नु छोरा! मसँग जाने कुरा गर्दै नगर।’ 

‘दसी नङग्री खियाए पनि पाखाबारीबाट कहिल्यै खाना पुग्ने होइन। एकहल गोरु हेरेर र एउटा भैंसी पालेर खोई के उँभो लागिएला र!

तिम्रो फाटेको चोलो र घरको चुहिने छानो कहिल्यै फेर्न सकिएन। यो चाडपर्व आउँदा त झन् रुन मन लाग्छ।

तिम्रो फरिया अनि घरको छानो फेर्नाकै लागि  भए पनि म प्रदेश जानै पर्छ।!

बाबाले यसरी सम्झाउँथे।

‘मलाई ऋण खोजिदिनु है?’ छोराले घरको दुःख सुनाउँदै आमालाई सम्झाए।

तिम्रो बाउले पनि तिमी पेटमा हुने बेला यस्तै भनेर सम्झाउनुहुन्थ्यो। नपत्याउने गरी मलाई छाडेर यमराजकहाँ गयो।

तिमी पनि अरूको देशमा गएर उतै हराउने पो हो कि! डर लाग्छ। भो नजाऊ छोरा?

आफ्नै माटोमा नमिठै खाएर, थोत्रै लाएर भए पनि मनमा शन्ति मिल्छ।’ आमाले फेरि छोरालाई सम्झाइन्।

-आमा, कहिलेसम्म हामी यस्तो निर्धनता जिन्दगी भएर बाँच्नु?

आफ्नो आमालाई राम्रो लगाइदिने, मिठो खाना दिने, नचुहिने घरमा राख्ने यो छोराको मन हुन्न र!’ छोराले आफ्नो कर्तव्यबारे आमालाई सुनाए।

तिमी जाने नै हो भने जाऊ। भिरको गोरुलाई रामराम भन्न सकिन्छ काँधै थाप्न सकिन्नँ। सात गाउँ डुलेर भए पनि ऋण खोजिदिउँला। आमाले छोराको आश्वासनलाई विस्वास गरेर ऋण खोजिदिने साहस गरिन्।

छोरा खुसी भए तर एकमन दुखी नै थियो किनकि आमालाई एक्ली छोडेर जानु थियो। म विदेश गएर टन्न कमाएर ल्याउँछु अनि मेरो आमालाई सुखले राख्छु है भन्दै दोब्रिन थालेको आमाको मुखतिर हेरे।

अन्ततः आमा छोरालाई बिदाई गर्ने नै भइन्।

आमाले आशीर्वाद दिई बिदाई गरिन्- ज्ञानी हुनू, असल बन्नू , सधैं निरोगी हुनू , आमा र माटोलाई कहिल्यै नबिर्सिनू।’

छोरा विदेश पुगेर पैसा पठाउन थाले। आमा छोराको कमाइले हत्केला भर्दा खुसी भइन्।

यो क्रम निरन्तर केही वर्ष चाल्यो। त्यसपछि बिस्तारै पात्लिदै गए। अन्तत: फोन आउन र पैसा पठाउन बन्द भो।

-अब छोरो एक्कासि धेरै पैसा बोकेर घर आउँछ। उतै जम्मा गर्दै होलान्।

आमाले आस गर्दै बाटो हेरिरहिन्।

आमाले छोरा कुरेको दशौं वर्ष भइसक्यो। छोराको बेखबरले आमा निदाउन सकिनँ।

आमा चाउरी परेर अस्ताउने घाम हुन लागिसक्यो तर छोरा आएन।

छोरा आउने आसमा आमाले बाटो हेरिरहयो तर छोरा फर्केन।

प्रकाशित: १२ कार्तिक २०७९ ०८:१४ शनिबार

अक्षर