कला

महामारीपछि दुबईमा प्रस्तुत हुँदै नेपथ्य

महामारीको लामो सङ्क्रमणकालपछि पहिलो विदेश यात्रा गर्नका निम्ति नेपथ्य दुबई जाने भएको छ।

आगामी नोभेम्बर ६ तारिख (कात्तिक २० गते) नेपथ्य ब्यान्ड उक्त सहरमा प्रस्तुत हुँदै छ। चाडबाडका बेला आफन्तबाट हजारौं किलोमिटर पर रहेका नेपाली दाजुभाइलाई दसैं, तिहार र छठको समेत संगीतमय कोसेली बोकेर ब्यान्ड त्यसतर्फ जान लागेको हो।

विश्व बजारकै महŒवपूर्ण थलो बन्दै गइरहेको दुबई सहर नेपाली कामदारको प्रमुख गन्तव्य मुलुकमध्येको युनाइटेड अरब इमिरेट्सको व्यापारिक केन्द्र पनि हो। यस सहरमा आयोजित अघिल्ला कन्सर्टहरूका बेला अन्य इमिरेट्सहरू विशेषगरी अबुधाबी, सारजहाँ र रस अल खइमाबाट पनि नेपाली दर्शक उल्लेख्य संख्यामा उपस्थित भएका थिए। अघिल्ला पटकझैं यसपटक पनि दुबईस्थित ‘अल नासेर लिजरल्यान्ड’मै ब्यान्ड प्रस्तुत हुँदै छ।

‘आइस स्केटिङ लगायत सांगीतिक कार्यक्रम स्थलका रूपमा चिनिने उही स्थलमा प्रस्तुत हुनेगरी यसपटक हामी फेरि पुरै जोस र जाँगरका साथ दुबइ आउँदै छौं,’ ब्यान्डका मुख्य गायक एवम् अगुवा अमृत गुरुङ भन्छन्, ‘श्रोता दर्शकलाई नचाउने र गाउन लगाउने रमाइला गीतहरू यसपटक प्राथमिकतामा परेका छन्। नेपथ्य उसका श्रोता दर्शकहरूको मायाकै जगमा अडिएको छ।’

आफ्नो प्रिय ब्यान्ड नेपथ्य फेरि दुबई आउन लागेको जानकारीले आयुषमान डंगोल हर्षित छन्। ६ वर्षभन्दा लामो समयदेखि एयर अरेबियाका जहाजहरू उडाउँदै आइरहेका पाइलट आयुषका अनुसार नेपथ्यको आगमनले उक्त मुलुकमा ल्याउने हलचल बेग्लै हुने गर्छ।

‘दुबईमा हुने प्रायः नेपाली कार्यक्रम आएगएको अधिकांश नेपालीलाई पत्तै हुँदैन,’ उनी भन्छन्, ‘तर, नेपथ्यले भने आफूलाई उच्च स्तरमा प्रस्तुत गर्ने भएकाले उसको कन्सर्टका बेला एक हिसाबले राष्ट्रिय गौरवकै अनुभूति हुन्छ।’

नेपथ्यलाई यसपटक दुबइ सहरमा ‘अमृत इभेन्ट्स’ले प्रस्तुत गर्न लागेको हो। ‘विदेसिएका नेपालीहरूका निम्ति नेपथ्य आउने समाचारले चाडबाडको बेलामा खुसियाली थपिदिएको छ,’ आयोजक अमृत इभेन्ट्सका आशिष पुरुष भन्छन्, ‘अघिल्ला पटक जस्तै यसपटक पनि नेपथ्यले सुनाउने स्वदेशी भाका सुन्नका निम्ति दुबई र आसपासका सहरमा बसोबास गर्ने नेपालीहरूले ब्यापक चासो देखाइरहेका छन्।’

प्रकाशित: १२ कार्तिक २०७९ ०३:४९ शनिबार

अक्षर